close

अश्लील सामग्री राखेको उजुरीपछि औषधीको ओभर डोज, अस्पताल पुर्‍याउने प्रहरी विरुद्ध भिडिओ पोस्ट

टेकपाना टेकपाना

बैशाख १३, २०८१ १६:२२

अश्लील सामग्री राखेको उजुरीपछि औषधीको ओभर डोज, अस्पताल पुर्‍याउने प्रहरी विरुद्ध भिडिओ पोस्ट

काठमाडौं ।  गत १० वैशाखमा साइबर ब्युरोले जाजरकोट घर भई हाल कीर्तिपुर बस्दै आएका २७ वर्षीय गणेशमान सिंहलाई सोधपुछका लागि कार्यालयमा बोलायो । इलामको एउटा होटलबारे फेसबुक अकाउन्टमा अश्लील सामग्री राखेपछि उनलाई सोधपुछका लागि कार्यालय बोलाइएको थियो ।

“'ऋषिराज झा' नामको फेसबुक अकाउन्टबाट इलामको एउटा होटेललाई जोडेर महिलाको फोटो राख्दै अश्लील सामग्री पोस्ट गरेको उजुरी परेको थियो,” टेकपानासँग कुरा गर्दै साइबर ब्युरोका प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले भने, “त्यसमा उहाँ (सिंह) संलग्न भएको देखिएपछि सोधपुछका लागि हामीले ब्युरो बोलाएका थियौं ।” 

सिंह बिहान १० बजे ब्युरोको कार्यालयमा पुगेका थिए । प्रहरी उपरीक्षक ढकालका अनुसार त्यसलगत्तै प्रहरीलाई सिंहका साथीले फोन गरेर औषधी ओभरडोज लिएको भन्ने सूचना दिए ।

प्रहरीले सिंहसँग यस विषयमा सोध्दा उनले आफूले दुई स्ट्रिप सिटामोल खाएको बताए । उनले सिटामोलको ओभरडोज लिएको थाहा पाएपछि प्रहरीले सिंहलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आकस्मिक कक्षमा पुर्‍यायो । 

“उहाँलाई सोधपुछका लागि मात्र बोलाइएको थियो । त्यसैले अस्पतालको जिम्मा लगाएपछि प्रहरीहरू कार्यालयमा फर्किनु भयो,” ढकालले भने, “त्यसपछि उहाँले आफ्नो अपराध लुकाउनका लागि फेसबुकमा भ्रामक विषय जोड्नु भएको छ ।” अहिले सिंह अस्पतालमा छन् वा डिस्चार्ज भइसके भन्ने ब्युरोलाई जानकारी छैन । 

यता गणेशमान सिंहले सार्वजनिक गरेको भिडिओमा भनेका छन्, “मैले गृहमन्त्रीको बारेमा फेसबुक पेजमा कमेन्ट गरेर ‘सहकारी ठग’ भनेको थिएँ दुई तीन महिना अगाडि । अस्ति साइबर ब्युरोमा मलाई बोलायो । अनि, अनेक प्रसंग सोध्यो ।”

भिडिओमा उनले अनुसन्धान अधिकारीले आफूलाई छ/सात वर्ष जेल हाल्ने भन्दै गृहमन्त्रीले सहकारी ठगी गरेको भन्ने प्रमाण के छ भनी सोधेको समेत जिकिर गरेका छन् । तर, साइबर ब्युरोले भने सिंहलाई सोधपुछका लागि ल्याइएको विषय र उनले भिडिओमा जोडेको विषय मिल्दै नमिलेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

“अस्पतालको बेडबाटै आम नागरिकमा भ्रम श्रृजना गर्ने र आफ्नो आपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुर्याउने निकृष्ट उद्देश्य राखि सामाजिक सञ्जाल फेसबुकबाट पोस्ट भई प्रचार भएको भ्रमपूर्ण भिडिओ सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ,” ब्युरोले विज्ञप्तिमा भनेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८१ १६:४२