close

मर्सिडिजको लक्जरी ईभी ‘जी ५८०’ सार्वजनिक, अफरोडमा सजिलै गुडाउन मिल्ने

टेकपाना टेकपाना

बैशाख १३, २०८१ १४:२७

मर्सिडिजको लक्जरी ईभी ‘जी ५८०’ सार्वजनिक, अफरोडमा सजिलै गुडाउन मिल्ने

काठमाडौं । विश्वचर्चित लक्जरी सवारी निर्माता मर्सिडिज-बेन्जले ‘जी ग्लास’ लाइनअपको विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले बुधबार ईक्यू प्रविधिमा आधारित ‘जी ५८०’ मोडेल सार्वजनिक गरेको हो । ​अफरोडका लागि पनि समेत सुहाउने गरी यो गाडी ल्याएको कम्पनीकाे भनाइ छ ।

गाडीको भाग (बडी) ल्याडर फ्रेमले बनेको छ । यसमा छुट्टाछुट्टै कन्ट्रोल गर्न सकिने चार ओटा इलेक्ट्रिक मोटर छन् । जसलाई पाङ्ग्रासँगै जोडेर राखिएको छ । यसको सहायताले जस्तोसुकै अवस्थामा सबै पाङ्ग्रालाई छुट्टाछुट्टै स्वचालित रूपमा कन्ट्रोल गर्न सकिन्छ । ती मोटरले ४३२ किलोवाट आवरको पावर निकाल्ने कम्पनीको दाबी छ ।

यसमा कम्पनीले ‘लो रेञ्ज गियर रिडक्सन’ समावेश गरेको छ । यसको अर्थ गाडीलाई ठाउँका ठाउँ मोड्न सकिन्छ । सतह जस्तो भए पनि चालकले यसलाई अगाडि-पछाडि, दायाँ-बायाँ कतै नसारेर मोड्न सक्नेछन् ।

यसको दृश्य भिडिओमा पनि देखाइएको छ । विशेषगरी सानो बाटोमा यो फिचर निकै उपयोगी हुने अपेक्षा गरिएको छ । 

यसमा ११६ किलोवाट आवर क्षमताको हाई भोल्टेज लिथियम आयन ब्याट्री राखिएको छ । शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड ४.७ सेकेन्डमा पकड्ने यस गाडीले ४७३ किलोमिटर डब्लूएलटीपी रेञ्ज दिने दाबी गरिएको छ ।

यसलाई डीसी चार्जबाट ३२ मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने बताइएको छ । यसले ११६४ न्युटन मिटर टर्क उत्पादन गर्ने दाबी गरिएको छ । यसको उच्चतम् चार्जिङ स्पिड २०० किलोवाट हुने बताइएको छ । 

यसको ग्राउन्ड क्लियरेन्स २५० एमएम छ । कम्पनीका अनुसार यसको ह्विलबेस २८८० एमएम रहेको छ । यसको ब्रेकओभर एङ्गल २०.३ डिग्री, एप्रोच एङ्गल ३२ डिग्री र डिपार्चर एङ्गल ३०.७ डिग्री रहेको छ । 

यसमा ११.६ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ । यसमा किलेस इन्ट्री, एक्टिभ सिटिङ, सनरुफ, थ्रीडी सराउन्ड सााउन्ड सिस्टम जस्ता लक्जरी फिचरहरू राखिएका छन् । सुरुवाती चरणमा यो गाडी अमेरिकामा मात्र उपलब्ध हुनेछ । कम्पनीका अनुसार यो विभिन्न पाँच कलर भेरियन्टमा खरिद गर्न सकिनेछ ।

२०२४ को दोस्रो मध्यतिर यो गाडी उपलब्ध हुने बताइएको छ । यसको मूल्य हालसम्म बाहिरिएको छैन । यद्यपि विश्लेषकहरूले १८५ हजार डलर (करिब दुई करोड ४६ लाख रुपैयाँ) पर्ने विश्लेषण गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८१ १४:२७