close

क्लाउड फ्याक्ट्री: नेपाल घुम्न आउँदा फुरेको व्यवसाय

टेकपाना टेकपाना

भदौ २२, २०७९ १८:२९

क्लाउड फ्याक्ट्री: नेपाल घुम्न आउँदा फुरेको व्यवसाय

काठमाडौं । नेपालमा वर्षेनि लाखौंको संख्यामा विदेशी पर्यटक आउने गर्छन् । यहाँको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा अन्य विविध सुन्दरता पर्यटकका लागि आकर्षणका केन्द्र हुन् ।

नेपाल घुम्न आउँदा पर्यटकलाई अन्य कुराले पनि लोभ्याउँछ । व्यस्त व्यावसायिक जिन्दगीबाट उन्मुक्ति पाउन नेपाल आउने पर्यटकका लागि नेपालकाे बसाइँ अर्काे हिसाबले पनि सार्थक हुनसक्छ ।

यसकाे एक उदाहरण हुन्, मार्क सेयर्स । सन् २००८ मा क्यानेडेली नागरिक मार्क दुई हप्ताको लागि आफ्नी श्रीमतीसँग नेपालमा घुम्न आए ।

छुट्टी मनाउन आएका मार्कलाई नेपालको सौन्दर्यताले मात्र तानेन, उनलाई यहाँ भएका जनशक्तिले पनि उत्तिकै आकर्षित गर्‍यो ।

उनले नेपालमा भएका धेरै प्रतिभालाई पनि देखे । यहाँ रहँदाको समयमा उनले भेटेका स्थानीयहरू र उनीहरूसँग भएको कुराकानीबाट नेपालमा एउटा सम्भावना देखे ।

आफैँ पनि एक कम्प्युटर इन्जिनियर भएको नाताले आफ्नो रुचि अनुसारको मानिसहरू भेट हुनु स्वाभाविक नै थियो । नेपालको बसाइँमा उनले केही नेपाली डेभलपरहरूसँग भेट गरे, जसले उनलाई थप प्रेरित गर्‍यो ।

संसारमा सीप बराबर वितरण भएपनि अवसर भने बराबर वितरण नभएको मार्कले महसुस गरे ।

यो कुरा मनन गरेपश्चात उनले विकासोन्मुख देशका मानिसहरूलाई रोजगारको अवसर दिलाउने लक्ष्य राखे ।

यसपछि भने प्रतिभा भएर पनि रोजगारीको खोजीमा रहेका युवालाई काममा जोड्ने उद्देश्य र योजनाका साथ सन् २०१० मा पुनः नेपाल फर्किए ।

यसरी नेपालबाट सुरु भयो ‘क्लाउड फ्याक्ट्री’को यात्रा ।

सुरुवाती दिनहरुमा कम्पनीले एप तथा सफ्टवेयर डेभलपमेन्टबाट मात्र काम सुरु गरेको थियो । केहि समयसम्म यसरी नै काम चलिरह्यो ।

उनले पनि बजारको आवश्यकता र मागको अध्ययन गरिरहेका थिए ।

बजारमा प्रविधिसँग जोडिएको सीपहरू धेरै रहेको र त्यसलाई अर्थतन्त्रसँग जोड्न आवश्यक रहेको उनको अध्ययनको निचोड थियो ।

यही निचोड सहित सफ्टवेयर इन्जिनियरहरू मात्र नभई अन्य सीप भएका युवालाई पनि रोजगार बनाउनुपर्छ भन्ने सोचेर कम्पनीले आफ्नो कामको दायरा पनि बढाउँदै लग्यो ।

हाल कम्पनीले विशेष गरी आर्टिफिसियल इन्टलिजेन्सलाई केन्द्रमा राखेर काम गरिरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स वा मसिन लर्निङ प्रयोग गर्ने कम्पनीहरूको लागि फरक किसिमको डेटा सेट चाहिन्छ ।

एआईमा आधारित कम्पनीहरूमा चाहिने कामको लागि मसिनलाई पढाउनुपर्ने हुन्छ । सामान्य भाषामा बुझ्दा मसिनलाई पढाउने काम नै क्लाउड फ्याक्ट्रीको हो ।

विभिन्न कम्पनीलाई आफ्नो एआई अथवा मसिन लर्निङका लागि आवश्यक डेटाको व्यवस्थापन गर्ने काम क्लाउड फ्याक्ट्रीले गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३