close

आईफोन १४ बाटै सिङ्गो फिल्म बनाएका जेसन लोप्चनलाई बुसान फिल्म स्कुलले दियो पूर्ण छात्रवृत्ति

टेकपाना टेकपाना

चैत २९, २०८१ २०:०

आईफोन १४ बाटै सिङ्गो फिल्म बनाएका जेसन लोप्चनलाई बुसान फिल्म स्कुलले दियो पूर्ण छात्रवृत्ति

काठमाडौं । आईफोन १४ प्रो म्याक्सबाट सिङ्गो फिल्म बनाएर चर्चामा आएका निर्देशक जेसन लोप्चनलाई दक्षिण कोरियाको बुसन एसियन फिल्म स्कुल (AFiS) ले पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । बुसन मेट्रोपोलिटन सिटीको सहयोगमा सञ्चालित उक्त छात्रवृत्ति कार्यक्रममा लोप्चन पनि छानिएका हुन् ।

लोप्चनले निर्देशन गरेको ‘अ प्ले अन्डर द सन’ नामक फिल्म पूर्ण रूपमा आईफोन १४ प्रो म्याक्समा खिचिएको थियो । यही प्रयोगशैली र सिर्जनात्मकतालाई मूल्यांकन गर्दै उनलाई इन्टरनेसनल फिल्म बिजनेस एकेडेमी (आईएफबीए) को फेलोको रूपमा बुसनमा बोलाइएको हो ।

आठ महिनासम्म चल्ने प्रशिक्षण कार्यक्रम २४ मार्चदेखि सुरु भइसकेको छ । लोप्चनले त्यहाँ फिल्म निर्माण सम्बन्धी विशेष तालिम लिनेछन् । छात्रवृत्तिमा ट्युसन शुल्क, आवास, हवाई टिकट र स्वास्थ्य बीमासहितका सबै खर्च समावेश छन् ।

“अबको आठ महिना यहाँ (बुसनमा) स्क्रिप्टिङ र अन्य काम गर्छु,” उनले टेकपानासँग भने, “सम्भवतः २०२६ मा नेपालमा अर्को नयाँ फिल्म शुट गर्छु ।”

अस्कर कलेजबाट फिल्म निर्देशन तथा लेखनमा स्नातक गरेका लोप्चनले सेफर्ड कलेज अफ मिडिया एन्ड टेक्नोलोजीबाट ​स्नातकोत्तर तह पूरा गरेका छन् । उनले ग्यालेक्सी फोरके टिभीबाट प्रसारण भएको ‘क्राइम पेट्रोल’को निर्देशन समेत गरेका थिए ।

उनले निर्देशन गरेको ‘अ प्लेस अन्डर द सन’ नामक फिल्म एप्पल टिभी, अमेजन प्राइमजस्ता विदेशी ओटीटी प्लेटफर्म र एमएसएम भिडिओ नामक नेपाली ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो ।

फिल्मको रिभ्यु पढ्न यहाँ क्लिक गर्नुहोस् ।

आईफोन १४ प्रोबाटै किन फिल्म खिच्नुपर्ने बाध्यता आइलाग्यो त भन्ने जिज्ञासा मेट्न यहाँ क्लिक गरी पढ्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १७:५७