close

‘हाम्रो पात्रो’ मा अपडेट: अब नोट्समा फोटो थप्न मिल्ने, फिडमा रमाइला सामग्री, अरू केके छन् ?

टेकपाना टेकपाना

चैत २९, २०८१ ७:२९

‘हाम्रो पात्रो’ मा अपडेट: अब नोट्समा फोटो थप्न मिल्ने, फिडमा रमाइला सामग्री, अरू केके छन्  ?

काठमाडौँ । चर्चित मोबाइल एप ‘हाम्रो पात्रो’ मा नयाँ अपडेट आएको छ । प्रयोगकर्ताको अनुभवलाई अझ सहज, स्मार्ट र कस्टमाइज बनाउने लक्ष्यसहित कम्पनीले एप अपडेट गरेको हो । ​यसअन्तर्गत प्रयोगकर्ताले नोट्स र इभेन्ट्स पेजमा नयाँ डिजाइनसहितका सुविधा पाउने भएका छन् भने नयाँ वर्ष २०८२ का लागि विशेष पेज डिजाइन गरिएको छ ।

अब नोट्समा शब्द मात्र नभई तस्बिर पनि थप्न सकिने छ । ​नोट्समा तस्बिर राख्दा त्यहीँ उपलब्ध भएको तस्बिर प्रयोग गरेर, आफैँ तस्बिर​ अपलोड गरेर या आफैँले चित्र कोरेर पनि कलात्मक रूपमा आफ्नो नोट्सहरू राख्न सकिनेछ । यसरी राखिएका नोट्सहरू तपाईंले हाम्रो पात्रोको क्यालेन्डर पेजमा पनि देख्न सक्नुहुनेछ । त्यसबाहेक, प्रयोगकर्ताले वर्षौँदेखि राखेका नोट्सहरू हेर्न या व्यवस्थापन गर्न अब सहज भएको छ ।

‘फर यू’ नाम दिइएको नयाँ फिड पेजमार्फत स्वास्थ्य, शिक्षा, जीवनशैली, प्रेरणादायी भनाइ र रमाइला तथ्यहरू आकर्षक ढाँचामा देख्न सकिने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले फिड पेजमा रहेका सामग्रीहरूमा लाइक, कमेन्ट र शेयर गर्नसक्ने भएकाले यो पेज अत्यन्तै इन्टरेक्टिभ र आकर्षक बनेको कम्पनीको भनाइ छ । यसले प्रयोगकर्ताहरूबिच प्रत्यक्ष संवाद र अनुभव साझा गर्ने अवसर दिने भएकाले एप प्रयोग गर्दाको अनुभव अझ जीवन्त र सामूहिक हुने विश्वास लिइएको छ ।

नयाँ वर्ष २०८२ को अवसरमा एपमा ‘नयाँ वर्ष विशेष पेज’ पनि थपिएको छ । यस पेजमा वर्षभरिका महत्त्वपूर्ण घटनाहरू समेटिएको समीक्षा, आकर्षक ई-कार्डहरू र नयाँ वर्षसँग सम्बन्धित सम्पूर्ण जानकारीहरू समेटिएको छ । यसअन्तर्गत २०८२ को साइत, बिदा, प्रमुख चाडपर्वहरू लगायत उचित मार्गदर्शन र प्रेरणाका लागि विस्तृत वार्षिक राशिफल पनि राखिएको छ ।

त्यसबाहेक यस पेजमा प्रयोगकर्ताहरूले २०८१ को सम्झना र २०८२ को उत्साहलाई समेटिएका क्विजहरू पनि खेल्न सक्नेछन् । नयाँ वर्षको उत्सवलाई अझ विशेष, जानकारीमूलक र भावनात्मक बनाउन यो पेजमा आवश्यक विवरणहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

हाम्रो पात्रोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतीले नयाँ संस्करण प्रयोगकर्ताको सुझावका आधारमा बनाइएको जानकारी दिए । “हाम्रो लक्ष्य केवल पात्रो बनाउने नभइ प्रयोगकर्ताको दैनिक जीवन सजिलो बनाउने डिजिटल साथी बन्नु हो,” उनले भने ।

कम्पनीले तिथि मिति सम्बन्धी कुनै समस्या देखिएमा एप अपडेट गर्न र सुझाव/गुनासो पठाउन अनुरोध गरेको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २९, २०८१ ७:४५