काठमाडौं । संस्कृत जानेका मानिस कुनै बेला गाउँभरका विद्धानका रूपमा कहलिन्थे । संस्कृतका श्लोक अध्ययन र वाचन गर्ने मानिसको छुट्टै ख्याति थियो । विस्तारै संस्कृतलाई पश्चिमा सभ्यताबाट आएको अंग्रेजी भाषाले छायामा पार्यो ।
अंग्रेजी नजाने जीवनमा धेरै कुरामा पछि परिन्छ भन्ने सोचको विकास हुन थाल्यो । विद्यालयदेखि उच्च शिक्षा तहसम्म अंग्रेजी भाषाबाट अध्ययन अध्यापन हुने क्रम चल्यो । अभिभावकहरू आफ्ना छोराछोरीलाई सकी-नसकी अंग्रेजी माध्यमबाट पढाउने शिक्षण संस्थामा भर्ना गरिदिन्थे ।
तर समयको परिवर्तनसँगै अहिले त्यो अवस्थामा पनि बदलाव आएको छ । अब अंग्रेजी जानेर मात्रै कुनै काममा योग्य हुने अवस्था रहेन । बरू डिजिटल शिक्षाको अवधारणा जताततै फैलिरहेको छ । सूचना प्रविधिमा अभ्यस्त भएका मानिसमात्र यो युगमा साक्षर र सबल बन्नसक्ने अवस्था आएको छ ।
प्रविधिका उपकरण चलाउन नजाने अरू कुरामा जति नै पोख्त भएपनि उसले सफलता पाउन नसक्ने मान्यता स्थापित भएको छ । डिजिटल दुनियाँमा आफूलाई पनि सोही अनुरूप बदल्न आवश्यक छ, नत्र शैक्षिक योग्यता भएर पनि हामी ‘अनपढ’ मान्छे जस्तै बन्न पुग्छौं । यसर्थ परम्परागत शैक्षिक सामग्री र शिक्षण विधिलाई विस्थापन गर्न विश्वभर नै डिजिटल शिक्षा प्रणालीको अभ्यास भइरहेको छ ।
यो आधुनिक शैलीको प्रणालीमा शिक्षक र विद्यार्थी दुवैले प्रभावकारी ढंगबाट पठनपाठन गर्न गराउन तथा हरेक किसिमका आवश्यक शैक्षिक सामग्रीहरु सहजै प्रयोग गर्नसक्छन् ।
नेपालमा पनि केही वर्षदेखि विद्यालयहरूले शिक्षण-सिकाइमा डिजिटल प्रविधिको प्रयोग गर्न थालेका छन् । यसबाट समग्र विद्यालयकै गुणस्तरमा परिवर्तन आएको छ भने बजार र उद्योगको मागअनुसार जनशक्ति उत्पादनमा टेवा पुगिरहेको छ ।
यही लाममा तनहुँको खैरेनी माध्यमिक विद्यालय पनि उभिएको छ, जसले शिक्षामा सञ्चार तथा सूचना प्रविधि (आईसीटी) को प्रयोगलाई प्रश्रय दिइरहेको छ । शुक्लागण्डकी नगरपालिका-६ मा अवस्थित यो सामुदायिक विद्यालयमा अहिले साढे १३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
पूर्वप्राथमिक तहदेखि माध्यमिक तह (कक्षा १२) सम्म पढाइ हुने यस विद्यालयले आईसीटीका विभिन्न टुल र विधिमार्फत सिकाइमा सहजीकरण गरिरहेको छ । यसअन्तर्गत विद्यालयमा कम्प्युटर र विज्ञान ल्याबदेखि ई-लाइब्रेरी र स्मार्ट क्लाससम्म सञ्चालनमा आएका छन् ।
आईसीटी प्रयोगको सुरुवात
शुक्ला क्षेत्रकै एक पुरानो विद्यालय हो, खैरेनी मावि । विसं. २०२६ सालमा ‘खैरेनी हाई स्कुल’को नामबाट औपचारिक रूपमा स्थापना भएको यो विद्यालयबाट ५३ वर्षको अवधिमा दशौं हजारले शिक्षा हासिल गरेका छन् । यसरी पुरानो इतिहास बोकेको यो विद्यालय अहिले भने आधुनिक प्रणालीमार्फत शिक्षा क्षेत्रमा क्रियाशील हुन थालेको छ ।
“हामी अहिले शिक्षामा प्रविधिको अधिकतम प्रयोग गरी कसरी सकारात्मक परिणाम ल्याउन सकिन्छ भन्नेतर्फ काम गरिरहेका छौं,” विद्यालयका प्रधानाध्यापक बोधराज ढकाल भन्छन्, “यसका लागि विभिन्न प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।” उनका अनुसार विद्यालयले २०६३ सालदेखि आईसीटीको प्रयोग गर्न थालेको हो ।
त्यतिबेला तनहुँ जिल्लामै पहिलो पटक खैरेनी माविले कम्प्युटर ल्याब सञ्चालनमा ल्याएको थियो । ‘रुम टु रिड’ नामक संस्थाको सहयोगमा विद्यालयमा २७ ओटा कम्प्युटरसहित ल्याब स्थापना गरिएको थियो । यसपछि विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म कम्प्युटर विज्ञानको पढाइ सुरू भयो र विद्यार्थीलाई सोही ल्याबमा कम्प्युटरको प्रयोगात्मक ज्ञान दिन थालियो । स्थापनाको केही समयमै यो ल्याब नेपालकै उत्कृष्ट कम्प्युटर ल्याबका रुपमा समेत मूल्यांकन भएको ढकालले बताए ।
विद्यालयले उक्त कम्प्युटर ल्याबलाई विभिन्न समयमा अपग्रेड गर्दै आइरहेको छ । हाल यसलाई मल्टिमिडिया ल्याबका रूपमा प्रयोग गर्न थालिएको छ । अहिले कक्षा १२ सम्मका कम्प्युटर साइन्स विषयका विद्यार्थीहरु यही ल्याबमा पढ्छन् ।
यसबाहेक विद्यालयले विभिन्न आईसीटीका टुलहरु पनि प्रयोगमा ल्याउन थाल्यो । यसअन्तर्गत पूर्वप्राथमिक तह (प्रि-नर्सरी, नर्सरी र केजी) बाटै विद्यार्थीलाई स्मार्ट टिभीमार्फत पढाउन थालिएको छ ।
“विद्यार्थीलाई ‘कखग’ र ‘एबीसीडी’ सुनाएर भन्दा देखाएर पढाउँदा चाँडो बुझाउन सकिन्छ । उनीहरूलाई स्मार्ट टिभीबाटै नेपाली-अंग्रेजीका राइम (गीत), कथादेखि एनिमेसन गरिएका श्रव्यदृश्य सामग्री दिने गरेका छौं । यसबाट विद्यार्थीहरू रमाउँदै सिक्छन् र नतिजा पनि सकारात्मक देखिन्छ,” प्रअ ढकाल सुनाउँछन् ।
त्यस्तै विद्यालयले १४ ओटा कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था गरेको छ । यी कक्षामा शिक्षकले पाठ्यक्रम र यससँग सम्बन्धित सामग्री आईसीटी टुलमार्फत अध्यापन गराउने विद्यालयका सहायक प्रधानाध्यापक राजेश्वर घिमिरे बताउँछन् ।
“मल्टिमिडिया प्रोजेक्टरबाट कक्षा सञ्चालन गर्दा शिक्षण पद्धतिमा थप सुधार भएको छ,” उनी भन्छन्, “शिक्षक र विद्यार्थीबीच पर्याप्त अन्तर्क्रिया हुनुका साथै पाठ्यक्रमसँग सम्बन्धित अन्य सन्दर्भ-सामग्रीबारे पनि ज्ञान हासिल गर्न सकिन्छ ।”
साथै विद्यालयमा स्मार्ट बोर्ड (इन्टरयाक्टिभ ह्वाइट बोर्ड)मार्फत पनि अध्ययन-अध्यापन हुन थालेको छ ।
विद्यालयको आफ्नै मोबाइल एप
‘लेस पेपर’को अवधारणा कार्यान्वयन गर्न विद्यालयले डाइनामिक टेक्नोसफ्ट नामक कम्पनीको प्राविधिक सहयोगमा सफ्टवेयरमा आधारित आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको छ । यसमा विद्यार्थीको उपस्थिति (ई-हाजिरी) देखि अनलाइन क्लास र विद्यालयको लेखा अभिलेख राख्ने सम्मका सुविधा छन् ।
एपमार्फत विद्यालयमा विद्यार्थी पुगे/नपुगेको कुरा अभिभावकले आफ्नो मोबाइलमै थाहा पाउन सक्छन् । साथै विद्यार्थीले पढाइमा प्रगति गरिरहेका छन् कि छैनन् भनेर एपमै हेर्न सक्छन् । यसका लागि एपबाट विद्यार्थीको ‘प्रोग्रेस कार्ड’ हेर्न मिल्ने सुविधा छ । साथै विद्यालयका सूचनाहरु पनि एपमै उपलब्ध गराइन्छ । आकस्मिक रुपमा विद्यालयको कुनै सूचना दिन परे यो एप निकै उपयोगी हुने घिमिरेको भनाइ छ ।
यो एपले विद्यार्थी, शिक्षक र अभिभावकलाई जोड्ने काम गरेको उनी बताउँछन् । विद्यार्थी र शिक्षकको हाजिरीसँगै कुन पिरियडमा कुन विषयकाे पढाइ हुन्छ र कुन शिक्षकले पढाउने भन्ने कुराकाे जानकारी पनि एपमै हुन्छ । परीक्षा भइसकेपछि विद्यार्थीको प्राप्ताङ्क एपबाटै इन्ट्री गर्न सकिन्छ । अभिभावकले विद्यार्थीको रिपोर्ट कार्ड मोबाइल एपबाटै हेर्न सक्छन् ।
त्यस्तै विद्यालयको अकाउन्टिङ पनि यही सफ्टवेयरबाट प्रयोग हुँदै आएको छ । विद्यार्थीले तिर्नुपर्ने सामान्य शुल्कदेखि अन्य विवरण यही एपमा हेर्न मिल्छ ।
साथै एपमा अनलाइन क्लासको सुविधा पनि छ । कोभिड महामारीको समयमा एपमा भिडिओ कन्फ्रेन्स प्लेटफर्म जुम इन्टिग्रेट गरी अनलाइन कक्षाको सुरुवात गरिएको थियो ।
“सारा संसार नै डिजिटलाइज हुँदा हामी पनि त्यही बाटोमा जानुपर्छ,” घिमिरेले भने, “यसबाट शैक्षिक क्रियाकलाप मर्यादित र पारदर्शी बनाउन सकिन्छ । हामीले छोटो समयमा थोरै जनशक्तिमार्फत धेरै काम गर्न सक्छौं ।”
८ हजार पुस्तक सहितको ई-लाइब्रेरी
विद्यालयमा अहिले आठ हजार पुस्तकसहितको आधुनिक ई-लाइब्रेरी सञ्चालनमा छ, जुन विभिन्न समयमा स्तरोन्नति हुँदै आएको छ । इन्जिनियर उत्तमकण्ठ शर्माको सहयोगमा पछिल्लो पटक ई-लाइब्रेरीलाई थप ‘अपडेटेड’ गरिएको घिमिरे सुनाउँछन् ।
इन्ट्रानेट माध्यमबाट चल्ने ई-लाइब्रेरीमा विभिन्न अध्ययन-सामग्री छनौट गर्न सकिन्छ । पाठ्यक्रमदेखि यससँग सम्बन्धित सन्दर्भ सामग्री यहाँ उपलब्ध छन् ।
“सरकारले विद्यार्थीका लागि बनाएका शैक्षिक भिडिओहरू, डियरवाक लर्निङ सेन्टरले बनाएका भिडिओहरू, खान एकेडेमी लगायतका शैक्षिक सामग्रीहरुमा विद्यार्थीले निःशुल्क पहुँच राख्न सक्छन्,” उनले भने, “त्यस्तै कक्षा १ देखि ८ सम्मका लागि यसमा ‘ई-पाठ’ इन्टिग्रेट गरिएको छ । यसबाट एनिमेटेड भिडिओका साथै भ्वाइसबाट विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धित कुरा सिकाउन सकिन्छ ।”
“यसबाट विद्यार्थी-शिक्षक दुवैलाई सहयोग पुगेको छ । पाठ्यपुस्तक समयमै आएन भने पनि हामी ई-लाइब्रेरीमार्फत डाउनलोड गर्न सक्छौं,” उनले थपे ।
आईसीटी ल्याब
त्यसैगरी विद्यालयले आफ्नो आईसीटी ल्याबलाई समय-समयमा अपग्रेड गरिरहेको छ । यसका लागि शुक्लागण्डकी नगरपालिका शिक्षा तथा खेलकुद शाखाले विद्यालयमा आर्थिक एवं अन्य आवश्यक सहयोग गरेको छ भने हालै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आईसीटी ल्याबका लागि साढे छ लाख रूपैयाँ सहयोग प्राप्त भएको छ ।
यो रकम आईसीटी ल्याब अपग्रेड गर्न खर्च गरिने बताइएको छ । साथै शिक्षा विकास एवं समन्वय शाखाको कार्यक्रम र नगरपालिकाको सहयोगअन्तर्गत विद्यालयका शिक्षकलाई आईसीटीमैत्री बनाउन विभिन्न कार्यक्रम पनि सञ्चालन गरिएको घिमिरेले जानकारी दिए ।
विज्ञान प्रयोगशाला
विद्यालयको विज्ञान प्रयोगशाला (साइन्स ल्याब) पनि पछिल्लो समय स्तरोन्नति भएर सञ्चालनमा आएको घिमिरे बताउँछन् । शुक्लागण्डकी वडा नम्बर ६ कार्यालयबाट पाँच लाख र नगरपालिका शिक्षा एवं खेलकुद शाखाबाट साढे छ लाख गरेर हालै ११ लाख लगानीमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना गरिएकाे छ । यो ल्याबमार्फत तल्लो कक्षादेखि कक्षा १० सम्म पाठ्यक्रममा भएका र त्यससँग सम्बन्धित शैक्षिक सामग्रीहरुको प्रयोगात्मक सिकाइ हुने बताइएकाे छ ।
काेभिड महामारी र अनलाइन शिक्षा
२०७६ सालकाे चैत ११ देखि एसईई परीक्षा थियाे । तर काेभिड संक्रमण फैलिएपछि नेपाल सरकारले चैत १० गते एक निर्णय गर्दै परीक्षा राेक्याे । विद्यार्थीले परीक्षाका लागि तयारी गरिसकेको अवस्था थियो । अन्याैलताकाे अवस्था रहेपछि विद्यालयले चैत १९ गतेदेखि अनलाइन कक्षाकाे सुरूवात गर्यो ।
विद्यालयका तत्कालीन प्रधानाध्यापक केशवराज घिमिरेकाे अग्रसरतामा अनलाइनबाट कक्षा सुरू गरियाे । सीमित विद्यार्थी र शिक्षकलाई सहभागी गराई सुरू गरिएकाे अनलाइन कक्षा नयाँ शैक्षिक सत्र सुरू भएपछि अन्य कक्षामा पनि विस्तार हुन थाल्याे ।
“नयाँ शैक्षिक सत्र भएपनि विद्यालय खुल्न नसक्दा शैक्षिक क्रियाकलाप ठप्प थियो । हामीले भने वैकल्पिक विधिबाट भएपनि पाठ्यक्रमलाइ निरन्तरता दियाैं,” घिमिरेले भने, “महामारीकाे समयमा कक्षा १ देखि कक्षा १२ सम्म नै अनलाइन शिक्षा सुरु गर्यौं । सम्भवत: कोभिड महामारी सुरु भएपछि माध्यमिक तहसम्म अनलाइन एजुकेसन सुरु गर्ने देशकै पहिलाे विद्यालय खैरेनी मावि हो, यसमा हामी दाबी गर्न सक्छौं ।”
यसरी काेभिड संकटका बेला पनि यस विद्यालयका विद्यार्थीहरुको पढाइ प्रभावित हुन पुगेन ।
विद्यालयको वेबसाइट र ‘भर्चुअल टुर’ फिचर
यस विद्यालयले khaireniss.edu.np डाेमेन नामकाे वेबसाइट सञ्चालन गरिरहेको छ । यसमा विद्यालयको परिचयदेखि अन्य विवरण उपलब्ध गराइएको छ ।
“पहिले दैनिक शिक्षण सिकाइको प्रक्रियामा प्रविधिको कम प्रयोग गर्दा आउने नतिजा सन्तोषजनक मात्रै थियो,” उनी भन्छन्, “पछिल्ला दिनमा आईसीटी टुलको प्रयोग गर्दा यसले समग्र विद्यालयकै शिक्षामा गुणस्तर ल्याएको छ । अब प्रविधिबिना शिक्षण र सिकाइ अपुरो जस्तै बनेकाे छ । विद्यार्थीको सिक्ने शैली फेरिएको छ ।”
आईसीटीमार्फत विद्यार्थीले कुनै पनि कुरा सजिलै र रोचक हिसाबले सिक्न सक्छन् भन्ने कुरा प्रमाणित भएको उनले बताए ।
यसका लागि विद्यालयले पहिले शिक्षकहरुलाई आवश्यक तालिम प्रदान गरी आफ्नो विषय आईसीटीसँग जोडी पढाउने व्यवस्था मिलाएको उनको भनाइ छ ।
शिक्षामा आईसीटीको प्रयोगलाई प्राथमिकतामा राखेपछि यसको परिणाम पनि सकारात्मक आउन थालेको छ । “यो हाम्रो प्रमाण हो कि, आईसीटी टुलकाे प्रयोगले विद्याथीहरुको पढाइमा कस्तो प्रभाव पार्छ भन्ने कुरा सैद्धान्तिकभन्दा पनि व्यवहारिक रुपमै हामीले देख्न पाएका छौं,” उनले थपे ।
विद्यार्थीलाई साइबर सुरक्षा सचेतना
शिक्षामा प्रविधिको प्रयोगबारे चर्चा गरिरहँदा यसले ल्याउने जोखिमलाई पनि नकार्न सकिन्न । विद्यालयमा प्रविधिको उपलब्धताले उनीहरु साइबर अपराधको निसानामा पर्न सक्छन् ।
अहिले विद्यालय परिसर फ्रि वाई-फाईको सुविधा छ । साथै अनलाइनमैत्री शिक्षामा काम गरिरहँदा दुरुपयोगका घटना पनि निम्तिन सक्छन् । विद्यार्थीहरु पढाइभन्दा पनि मनोरञ्जन र साइबर दुनियाँमा रमाउन खोज्छन् ।
“प्रविधिले अवसरसँगै चुनाैती पनि दिन्छ । हामीले यसकाे अधिकतम सदुपयाेग गर्ने र सम्भावित दुरूपयाेगका घटना राेक्नेगरी काम गरिरहेका छाैं,” उनले भने ।
यसका लागि विद्यालयले साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नेदेखि गाेपनीयता र अन्य संवेदनशील विषयबारे जानकारी प्रदान गरिरहेकाे उनले जनाए ।
“पाठ्यक्रमकै अंगका रुपमै पनि कतिपय कुराकाे जानकारी दिइन्छ भने कतिपय अनौपचारिक कार्यक्रममार्फत सचेतना प्रदान गरिरहेका छाैं,” उनले भने ।
सामुदायिक विद्यालयको उदाहरणीय पहल
सामुदायिक विद्यालयहरुलाई पछिल्ला प्रविधि अवलम्बनमा विभिन्न कठिनाइ भइरहँदा खैरेनी माविले अधिकांश पहल निजी स्रोतबाटै गरिरहेको छ ।
०६३ सालमा ‘रुम टु रिड’को प्राविधिक सहयोगमा सुरू भएकाे आधुनिक कम्प्युटर ल्याबदेखि अहिलेकाे स्मार्ट क्लाससम्म आउँदा विद्यालयको पठनपाठन शैली फेरिएको छ ।
आईसीटी टुलको चर्चा गरिरहँदा साढे १३ सयभन्दा बढीकाे संख्यामा रहेका विद्यार्थीलाई सहजपूर्वक सिकाइ प्रक्रियामा सहभागी गराउनसक्नु चानचुने कुरा पक्कै होइन ।
विद्यालयका पूर्वप्रधानाध्यापक केशवराज घिमिरे भन्छन्, “अब परम्परागत सिकाइले शिक्षामा गुणस्तर ल्याउन सक्दैन । हामीले डेढ दशकअघि सुरू गरेका कतिपय परियोजना अहिले विभिन्न स्वरूपमा प्रयोगमा आएका छन् ।”
घिमिरेकै अग्रसरता विद्यालयमा आईसीटीको नमूना प्रयोग थालिएको हो । योसँगै विद्यालय विभिन्न आईसीटी अवार्डका प्रतिस्पर्धामा समेत छनोट भएको थियो ।
साथै देशका २५ जिल्लाभन्दा बढीबाट करिब ९० विद्यालय र संस्थाले खैरेनी माविले प्रयोगमा ल्याएका आईसीटी परियोजनाको भ्रमण एवं अवलोकन गरेको उनले जानकारी दिए ।
शिक्षामा प्रविधिको उदाहरणीय प्रयोग गरेको भन्दै तत्कालीन प्रअ घिमिरे र विद्यालयलाई केही सम्मानसमेत प्राप्त भएको छ ।
विद्यार्थीलाई अवसर
आईसीटी टुलको प्रयोग गरिहँदा विद्यार्थीका प्रतिभा र क्षमता पनि सोही अनुकूल हुने गर्छन् । पाठ्यक्रममा भएका कुरा विद्यार्थीले सिकिसकेपछि व्यवहारतः उतार्ने अवसर पाएका छन् ।
“विद्यार्थीले आफूले जानेका कुरा एक्सचेन्ज, शेयरिङ गर्छन्,” विद्यालयका सहप्रधानाध्यापक घिमिरेले भने, “अहिले त आईसीटी प्रयाेगकाे सन्दर्भमा कतिपय विद्यार्थी शिक्षकभन्दा पनि फरवार्ड भएका छन् ।”
साथै विद्यार्थीको सीपलाई बढाउन विभिन्न निकायसँग समन्वय पनि भइरहेको उनले जानकारी दिए ।
“शैक्षिक तालिम केन्द्रहरुमार्फत तालिम दिएर शिक्षकलाई योग्य बनाउने काम भइरहेकाे छ । यसबाट विद्यार्थीलाई सहजीकरण गर्न थप सहयोग पुगेकाे अवस्था छ,” उनले भने ।
प्राविधिक कोर्ष ल्याउने तयारी
यस विद्यालयले पढाइमा प्रविधिको प्रयोगसँगै प्राविधिक र सीपमूलक कोर्ष पनि सञ्चालन गर्ने योजना ल्याएको छ । यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा (तीन वर्षे) तहको सिभिल इन्जिनियरिङ कोर्ष सञ्चालन गर्ने तयारी गरिएकाे छ ।
यसपछि कम्प्युटर इन्जिनियरिङ र अन्य प्राविधिक काेर्ष सञ्चालन गर्ने दीर्घकालीन याेजना रहेकाे विद्यालयका सहप्रधानाध्यापक घिमिरेले सुनाए ।