close

एपबाट पैसा कमाउनेमा टिकटक सबैभन्दा अघि

टेकपाना टेकपाना

असोज १६, २०७९ १२:२५

एपबाट पैसा कमाउनेमा टिकटक सबैभन्दा अघि

काठमाडौं । यो अङ्ग्रेजी वर्ष २०२२ को तेस्रो त्रैमास (जुलाईदेखि सेप्टेम्बर)मा एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा प्रयोगकर्ताले ३१.६ अर्ब डलर खर्च गरेका छन् । प्रयोगकर्ताले ईन-एप पर्चेज, प्रिमियम एप र सदस्यताका लागि खर्च गर्छन् ।

सेन्सर टावरले हालै प्रकाशन गरेको एक तथ्याङ्क अनुसार चिनियाँ एप टिकटक विश्वव्यापी रूपमा सबैभन्दा बढी कमाउने नन-गेमिङ एप बनेको छ । तीन महिनामा मात्रै प्रयोगकर्ताले टिकटकमा ६.३ अर्ब डलर खर्च गरेका छन् ।

साथै एप स्टोरमा पहिलो स्थानमा धेरै कमाउने नन-गेमिङ एपमा टिकटक सबैभन्दा अघि छ भने गुगल प्ले स्टोरमा गुगल वानपछि दोस्रो स्थानमा छ । एप स्टोरबाट आएको आम्दानी गुगल प्लेको भन्दा दोब्बर रहेपनि गत वर्षको भन्दा २.३ प्रतिशतले कम रहेको छ ।

यसका कारण गुगल प्ले स्टोरमा प्रयोगकर्ताले खर्च गर्ने दर गत वर्षको भन्दा ९.६ प्रतिशतले कम भएको तथ्याङ्कले देखाएको छ ।

आम्दानी संकलनबाहेक टिकटक दुवै बजारमा सबैभन्दा डाउनलोड गरिएको नन गेमिङ एप बनेको छ । यो त्रैमासमा टिकटकमा १९६.५ मिलियन नयाँ प्रयोगकर्ता थपिएका छन् ।

साथै यो त्रैमासमा मोबाइल गेमहरूमा उपभोक्ताले गर्ने खर्च नन-गेमिङ एपभन्दा १२.७ प्रतिशतले घटेको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०७९ १२:२५