close

आईफोनमा पहिल्यै आएका फिचरसहित 'वन यूआई फाइभ' सार्वजनिक गर्दै सामसङ

टेकपाना टेकपाना

असोज २९, २०७९ १८:३

आईफोनमा पहिल्यै आएका फिचरसहित 'वन यूआई फाइभ' सार्वजनिक गर्दै सामसङ

काठमाडौं । सामसङले एन्ड्रोइड १३ मा आधारित 'वन यूआई फाइभ' सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै नयाँ संस्करणको वन यूआई अपडेट ल्याउने जानकारी दिएको हो ।

वन यूआई फाइभमा पर्सनलाइज गर्न मिल्ने लक स्क्रिनसँगै अन्य थुप्रै फिचर उपलब्ध हुने बताइएको छ । यसले प्रयोगकर्तालाई आईओएसको अनुभव दिनसक्ने चर्चा छ ।

आईओएस १६ मा हालै सार्वजनिक भएका धेरै फिचरहरू वन यूआई फाइभमा पनि उपलब्ध हुने बताइएको छ । आईओएसले एन्ड्रोइडका फिचरहरू चोरेको आरोप लागिरहँदा यो पटक एन्ड्रोइड १३ आफैं आईओएस १६ को फिचरहरू लिएर सार्वजनिक हुने तयारीमा छ ।

वन यूआई फाइभमा 'मोड्स' नामक एउटा नयाँ फिचर समावेश गरिएको छ । यो फिचरले प्रयोगकर्तालाई विभिन्न गतिविधिहरूका लागि सहयोग गर्छ । प्रयोगकर्ताले फोनलाई वर्किङ, स्लिपिङ, एक्सरसाइजिङ लगायत विभिन्न मोडमा राखेर आफ्नो कामको लागि प्रयोग गर्न सक्नेछन् ।

यो फिचर आईओएसमा 'फोकस मोड' को रुपमा पहिले नै उपलब्ध छ । यसैगरी वन यूआई फाइभमा विजेटमा पनि नयाँ अपडेट हुने बताइएको छ, जसले प्रयोगकर्तालाई विभिन्न गतिविधिको लागि सम्झाउने लगायतका कामहरू गर्नेछ ।

योसँगै आउने अर्को नयाँ फिचर हो 'बिक्सबी टेक्स्ट कल' । यो फिचर अन्तर्गत प्रयोगकर्ताले फोन आउँदा उक्त फोन गर्ने व्यक्तिलाई मेसेजमार्फत रिप्लाई गर्दा बिक्सबीले सो मेसेज फोन गर्ने व्यक्तिलाई पढेर सुनाउनेछ ।

त्यसैगरी उक्त व्यक्तिले बोलेको कुरालाई मेसेजमा रुपान्तरण गरेर प्रयोगकर्तालाई दिनेछ । प्रयोगकर्ता कुनै व्यस्त र धेरै हल्ला भएको स्थानमा फोन गरेको व्यक्तिले बोलेको नबुझिने स्थानहरूमा यो फिचर निकै नै उपयोगी हुनेछ ।

यसका साथै यदि तपाईं कसैसँग बोल्न चाहनुहुन्न, तर तपाईंलाई फोन आयो भने यो फिचर प्रयोग गर्न सक्नुहुनेछ । 

सामसङको 'ए' सिरिजका यी फोनहरूमा उपलब्ध हुनेछ 'वन यूआई फाइभ' 

Galaxy A73

Galaxy A53

Galaxy A33

Galaxy A71/5G

Galaxy A51/5G

Galaxy A52/5G

Galaxy A52s

Galaxy A72

Galaxy Quantum/2

Galaxy A03s

Galaxy A12 Nacho

Galaxy A32/5G

Galaxy A22/5G

Galaxy A23

Galaxy A13

Galaxy A03

यसपछि ‘ए’ सिरिजका सबै नयाँ फोनहरूमा पनि वन यूआई फाइभ उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २९, २०७९ १८:८