close

सामाजिक सञ्जालमा देउवासँग 'लाइभ डिबेट' गर्न तयार छुः ओली

टेकपाना टेकपाना

कात्तिक १, २०७९ १५:५

सामाजिक सञ्जालमा देउवासँग 'लाइभ डिबेट' गर्न तयार छुः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग फेसबुकमा 'लाइभ डिबेट' गर्न इच्छुक रहेको बताएका छन् । मंगलबार फेसबुकमा पोस्ट गर्दै ओलीले आफू एजेन्डामा आधारित बहस गर्न तयार भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, "सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले 'लाइभ डिबेट'मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?"

उनले पश्चिमा देशहरूतिर निर्वाचनका समयमा यो प्रचलन बढी भएकाले आफू पनि प्रधानमन्त्री देउवासँग बहस गर्न तयार भएको भनाइ राखे । यसमा ओलीले आफ्नो व्यक्तिगत धारणा मात्र राखेकाले सामाजिक सञ्जालबाट बहस हुने नहुने कुरा निश्चित छैन । प्रधानमन्त्री देउवा राजी भएको खण्डमा भने यो बहस सम्भव हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री ओली सामाजिक सञ्जालमा बढी सक्रिय हुन थालेका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, टिकटकमा मात्र नभई केही दिनअघिबाट ओली इन्स्टाग्राममा पनि  जोडिएका छन् । आफ्ना दैनिक गतिविधि सामाजिक सञ्जालमा राख्दै कार्यकर्तालाई आफ्ना योजनाबारे अवगत गरिरहेका हुन्छन् ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्ना एजेण्डा सामाजिक सञ्जालबाट प्रस्तुत गर्ने प्रचलन बढेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ १५:५