close

नेपालका विशाल पन्थी बने एसिया प्यासिफिक इनोभेसन च्यालेन्ज २०२२ को विजेता

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ १४:३५

नेपालका विशाल पन्थी बने एसिया प्यासिफिक इनोभेसन च्यालेन्ज २०२२ को विजेता

काठमाडौं । एसिया प्यासिफिक इनोभेसन च्यालेन्ज २०२२ मा नेपाली युवा विशाल पन्थी विजेता बनेका छन् । आईसेकले आयोजना गरेका विभिन्न विधाका प्रतिस्पर्धामध्ये व्यापारमा स्थायित्व विधामा अर्घाखाँचीका १९ वर्षीय पन्थी विजयी बनेका हुन् ।

आईसेक एउटा त्यस्तो गैरनाफामूलक संस्था हो, जसले विश्वभरका युवालाई नेतृत्व विकास, क्रसकल्चर इन्टर्नशिप र ग्लोबल भोल्युन्टर एक्सेन्ज अनुभवहरू प्रदान गर्ने गर्दछ । यस संस्थाले विभिन्न क्षेत्र जस्तै; दैनिक जीवनमा आवश्यक पर्ने आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स तथा डेटा साइन्स, व्यापारमा स्थायित्व र डिजिटल संसारमा युवा उद्यमशीलता जस्ता शीर्षकमा प्रतिस्पर्धा गरिएको थियो ।

टेकपानासँग कुरा गर्दै पन्थीले 'सस्टेनबिलिटी ईन बिजनेस' थिममा आफू विजेता भएको कुरा जानकारी दिए । पन्थीले आफ्नो परियोजना अन्तर्गत वातावरणमैत्री 'पेपर कप'को प्रोटोटाइप तयार पारेका थिए ।

उनी भन्छन्, ''वातावरणमैत्री 'पेपर कप' विशेषगरी एल्गाइबाट बनाउन सकिन्छ । उक्त एल्गाइलाई सानो-सानो टुक्रामा पिस्नुपर्ने हुन्छ । यस प्रक्रियामा एल्गाइलाई त्यस्तो तरिकाले तयार गरिन्छ, जसले गर्दा उक्त कप वाटरप्रुफ र थर्मल रेसिस्टेन्स हुन्छ ।''

उक्त प्रतिस्पर्धाका लागि दिग्गज प्रविधि कम्पनीका प्रतिनिधि निर्णायकका रूपमा सहभागी थिए । विशेषगरी गुगल, विश्व आर्थिक फोरम, विश्व स्वास्थ्य संगठन आदिबाट प्रतिनिधिले निर्णायकको भूमिका निभाएका थिए ।

पन्थीले विभिन्न संगठनबाट ५०० डलर (करिब ६६ हजार ५०० रुपैयाँ) बराबरको अनुदान पाएका छन् । त्यस्तै विश्व स्वास्थ संगठन, युनाइटेड नेसन फाउन्डेसन लगायत अन्य छ संगठनबाट विभिन्न सहयोग प्राप्त गरेका छन् । पन्थीले हालसालै काठमाडौं मोडेल सेकेन्डरी स्कुलबाट प्लस टु उत्तीर्ण गरेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १४:३६