close

नबिल बैंकको 'फोन लोन' सुविधा, अब सबै ग्राहकले २ लाखसम्म ऋण पाउने

टेकपाना टेकपाना

कात्तिक ३, २०७९ १८:१

नबिल बैंकको 'फोन लोन' सुविधा, अब सबै ग्राहकले २ लाखसम्म ऋण पाउने

काठमाडौं । नबिल बैंकले 'नबिल फोनलोन'को न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा एक लाख रूपैयाँसम्म रहेकोमा त्यसलाई बढाएर अब अधिकतम दुई लाख पुर्‍याइएको छ ।

साथै बैंकले यस्तो कर्जा लिनका लागि आवश्यक दायरामा पनि परिमार्जन गरेको छ । अब नबिल बैंकमा बचत खाता भएका सबै ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुनेछन् ।

यसअघि नबिल बैंकमा तलब खाता (स्यालरी अकाउन्ट) भएका ग्राहकहरुले मात्र यस्तो सुविधा पाइरहेका थिए ।

यस्तै, बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकले 'नबिल स्मार्टबैंक' एपको स्क्रिनमा 'फोनलोन'को आइकन देख्नेछन् ।

बैंकले ग्राहकको सुविधाका लागि ‘बाइ नाउ पे लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न ईएमआईको सुविधासमेत उपलब्ध गराएको छ ।

ग्राहकले खरिद गर्दा कुनै पनि फोनपे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्नसक्ने जनाइएको छ । आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाई नाउ पे लेटर’ को विकल्प रोज्न सकिने छ ।

आफ्नाे फोनलोन किस्ता चाँडै तिर्न खोज्ने ग्राहकले सिधै आफ्नो एपबाट प्रिपेड गर्ने विकल्प पनि उपलब्ध हुने जनाइएको छ । यसअन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०७९ १८:८