काठमाडौं । युरोपेली संघको नयाँ नियम पालना गर्दै एप्पल टाइप-सी पोर्टमा समावेश हुने भएको छ । एप्पलका मार्केटिङ चिफ ग्रेग जोसविकले मंगलबार एक प्रविधि सम्मेलनमा बाेल्ने क्रममा युराेपेली युनियनकाे नियम पालना गर्दै आईफोनलाई यूएसबी-सी चार्जरमा स्वीच गर्ने तयारी भइरहेकाे जानकारी दिएका छन् ।
कम्पनीले यूएसबी टाइप-सीसँग सम्बन्धित कानून पालना गर्ने जाेसविकको भनाइ छ । यद्यपि कम्पनीले लाइटनिङ पोर्टलाई कहिले विस्थापित गर्छ भन्ने कुराको जानकारी उनले खुलाएनन् ।
एप्पल र युरोपेली संघको यो विवाद नौलो होइन । विगत एक दशकदेखि चार्जरलाई लिएर उनीहरूबीच विवाद भइरहेको छ । माइक्रो यूएसबी परिचित हुँदा पनि युरोपेली संघले एप्पललाई माइक्रो यूएसबी लागू गर्न दबाब दिएको ग्रेगले स्मरण गरे ।
उनी भन्छन्, "यदि त्यसबेला एप्पल माइक्रो यूएसबीमा शिफ्ट नभएको भए न लाइटिनिङ पोर्ट आविष्कार हुन्थ्यो, न अहिले सर्वव्यापी मानिएको यूएसबी-सी पोर्ट नै आविष्कार हुन्थ्यो ।"
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले एप्पल आगामी वर्ष यूएसबी-सी पोर्टमा शिफ्ट हुने विभिन्न योजना बनाइरहेको उल्लेख गरेका छन् । सबै डिभाइसमा टाइप-सी पोर्ट समावेश गर्नुपर्ने युरोपेली संघको नियम सन् २०२४ बाट प्रभावकारी रूपमा लागू हुनेछ ।
एप्पलले म्याक तथा आईप्याडमा टाइप-सी पोर्ट ल्याइसकेको छ । यसबाट एप्पलले आईफोन १५ मा टाइप-सी पोर्ट ल्याउनसक्ने अपेक्षा गरिएको छ । यसो त विभिन्न विज्ञले आईफोन १४ सिरिजलाई लाइटनिङ पोर्ट भएको अन्तिम फोनका रूपमा लिएका छन् ।