close

मेटाभर्समा लगानी खन्याउँदा जुकरबर्ग र मेटाको आम्दानी लगातार ओरालो

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ ९:५

मेटाभर्समा लगानी खन्याउँदा जुकरबर्ग र मेटाको आम्दानी लगातार ओरालो

काठमाडाैं । हालै फेसबुककाे अभिभावक कम्पनी मेटाले सन् २०२२ काे तेस्राे त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेकाे छ । प्रतिवेदनअनुसार मेटाले मेटाभर्सका लागि व्यापक रुपमा लगानी गरिरहेकाे देखिएकाे छ भने कम्पनीकाे व्यापार घाटा ओरालाे लागरिरहेकाे छ ।

याे त्रैमासिकमा मेटाले कुल २७.७१४ अर्ब अमेरिकी डलर आम्दानी गरेकाे छ, जुन अघिल्लाे वर्ष यही अवधिकाे तुलनामा ४ प्रतिशतले कम हाे । गत वर्ष सन् २०२१ काे याे त्रैमासिक अवधिमा मेटाले २९.१०१ अर्ब डलर आम्दानी गरेकाे थियाे । त्यस्तै खुद नाफा गत वर्षकाे तुलनामा ५२ प्रतिशतले कम भएर ४.३९५ अर्ब डलरमा झरेकाे छ ।

याेसँगै मेटाकाे प्रतिशेयर आम्दानी ३.२२ डलरबाट झरेर १.६४ डलरमा पुगेकाे छ । तेस्राे त्रैमास पनि घाटामा गएपछि मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले लगानीकर्ताका लागि एक वक्तव्य जारी गरेका छन् ।

उनले मेटाभर्स सफल हुने र अन्तमा व्यापारमा छलाङ मार्ने बताएका छन् । साथै उनले जुन लगानीकर्ताले धैर्य राख्न सक्छन्, उ पुरस्कृत हुने पनि बताएका छन् ।

हाल धेरै लगानीकर्ताहरु मेटाभर्स सफल हुन्छ वा हुँदैन भन्नेमा अन्याेलमा रहेका छन् । साथै उनीहरुले लामाे समयकाे प्रतिक्षा गरेर आउने प्रतिफल नचाहेकाे अवस्था देखिएकाे छ । गत साेमबार अल्टिमिटरको क्यापिटल सीईओ ब्राड गर्स्टनरले मार्क जुकरबर्गलाई यस विषयमा एक पत्र पठाएका थिए ।

पत्रमा उनले महत्वपूर्ण शेयरधनीहरु ल्याब परियाेजनाबाट खुसी नभएकाे बताएका छन् । साथै उनले पत्रमा उक्त परियोजनालाई ‘सिलिकन भ्यालीका मापदण्डभन्दा ठूलो र डरलाग्दो’ भनेका छन् ।

मेटाका लगानीकर्ताकाे सबैभन्दा ठूलाे चिन्ता भनेकाे शेयरकाे मूल्य ५५ प्रतिशतले तल झर्नु हाे । गर्स्टनरका अनुसार कमाइकाे संकेत २३ गुणाबाट १२ गुणामा झरेकाे छ । यसका साथै शेयर काराेबारमा पनि आधाभन्दा धरैले कमी भएकाे छ । 

शेयरको मूल्यमा आएको यो गिरावटले कम्पनीप्रतिको विश्वास घटेको गर्स्टनरले लेखेका छन् । मेटाकाे याे परिवर्तन सामान्य नरहेकाे पनि उनले बताएका छन् । त्यस्तै उनका अनुसार अहिलेको परिदृश्यले लगानीकर्तालाई मेटामा लगानी गर्नुअघि धेरै कुरा सोच्न बाध्य बनाएको छ ।

मेटाकाे व्यापार घटेसँगै जुकरबर्ग धनाढ्यहरुकाे सूचीबाट तल झरिरहेका छन् ।  सन् २०१५ पछि उनी अमेरिकाका १० धनी व्यक्तिहरुकाे सूचीमा परेका छैनन् । त्यस्तै सेप्टेम्बर २०२१ देखि उनले आफ्नो आधाभन्दा बढी सम्पत्ति गुमाइसकेका छन् ।

हाल उनी फोर्ब्सको ४०० अमेरिकी धनी व्यक्तिहरूको सूचीमा शीर्ष तीनबाट झरेर ११ नम्बरमा पुगेका छन् । उनकाे हाल कुल सम्पत्ती ७६.८ अर्ब अमेरिकी डलर छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ ९:५