काठमाडौं । जग्गा किनबेच गर्ने कुरा त सामान्य नै हो । आफ्नो व्यक्तिगत अथवा व्यावसायिक आवश्यकताका लागि जग्गा खरिद तथा बिक्री गर्ने गरिन्छ । तर भर्चुअल संसारमा जग्गा खरिद गर्ने कुरा कत्तिको सान्दर्भिक छ त ?
सामान्यतः भौतिक रुपमा पनि मानिसहरूले जग्गा खरिद गर्दा कि त निकै चलेको स्थानमा खरिद गर्छन् वा भोलिको दिनमा निकै चल्नेछ भन्ने आशामा जग्गा खरिद गर्ने गर्छन् । यही प्रक्रिया अहिले ठ्याक्कै मेटाभर्सको संसारमा चलिरहेको छ ।
एक अध्ययनका अनुसार गत १२ महिनामा मात्रै मानिसहरूले करिब दुई अर्ब डलर अर्थात् साढे दुई खर्ब रूपैयाँभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सीमार्फत भर्चुअल स्पेसहरूमा जग्गा खरिद गरिरहेका छन् । यो जग्गा खरिद गर्ने लाइनमा सामान्य मानिस मात्र होइन, विश्वका ठूला ठूला बहुराष्ट्रिय कम्पनी पनि छन् । धेरै मानिसहरू मेटाभर्सबाट टाढा छन् ।
यद्यपि मेटाभर्स एउटा अनलाइन विकसित स्थानको रुपमा परिचित भइरहेको छ, जहाँ मानिसहरू बस्न, काम गर्न र भर्चुअल वास्तविकतामा खेल्न सक्छन् । तर जग्गा खरिद किन गरिरहेका छन् ?
अध्ययनका अनुसार केही मानिसहरू जस्तै; कलाकार, चित्रकारहरू आफ्नो कला प्रस्तुत गर्नका लागि मेटाभर्सको विभिन्न प्लेटफर्ममा भौतिक रुपमा जस्तै जग्गा खरिद गरेर त्यहाँ आफ्नो उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिरहेका छन् । यसरी जग्गा किनबेच हुने पछिल्लो समयमा चलेको प्लेटफर्महरूमा 'भोक्सेल' पनि एक हो ।
भोक्सेल मेटाभर्सको यस्तो प्लेटफर्म हो, जहाँ मानिहरूले जग्गा खरिद गरेर आफ्नो हिसाबले प्रयोग गर्न सक्छन् । मानिसहरूको लागि मेटाभर्स एउटा मात्रै प्लेटफर्म हो भन्ने भ्रम पनि छ । तर यस्ता धेरै प्लेटफर्महरू छन्, जहाँ मानिसहरू जग्गा खरिद गर्न अर्बौं रुपैयाँ खर्च गरिरहेका छन् ।
मेटाभर्स विश्लेषक ड्याप रडारले गरेको अध्ययनअनुसार गएको एक वर्षमा १.९३ अर्ब डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी भर्चुअल जग्गा खरिद गर्नको लागि खर्च गरिएको छ । जसमध्ये २२० करोड डलर बराबरको क्रिप्टो भक्सेलमा खर्च भएको छ। सामसङ लगायत अन्य ठूला कम्पनीहरूले समेत भक्सेलमा जग्गा खरिद गरेका छन् ।
लोकप्रिय फेसन ब्रान्डको रुपमा परिचित फिलिप प्लिनले पनि भक्सेलमा चारओटा भौतिक फुटबल ग्राउन्ट जत्तिकै ठूलो जग्गा खरिद गरेको छ । कम्पनीले भविष्यमा यो जग्गामा आफ्नो स्टोर र ग्यालरी स्थापना गर्ने योजना बनाएको छ । भक्सेल जस्तै अर्को मेटभर्स प्लेटफर्म हो 'स्यान्डबक्स' ।
स्यान्डबक्समा एडिडास, अटारी, बाइनान्स, गुची लगायतका ठूला कम्पनीहरूले जग्गा खरिद गरेका छन् । माइनक्राफ्ट र फोर्टनाइट जस्तो कम्पनीहरूले पनि स्यान्डबक्समा भर्चुअल जग्गा खरिद गरेको छ । केही कम्पनीहरुले प्रयोगकर्ताको डिजिटल अवतारको लागि आफ्नो उत्पादनहरू बिक्री गर्ने गर्छन् ।
यसरी मेटाभर्स एउटा फरक दुनियाँ बनिसकेको छ । ठूला कम्पनीहरू अबको भविष्य यही हो र यहाँ धेरै मानिसहरू जोडिनेछन् भन्ने विश्वास गर्छन् । यद्यपि यो कति लामो समयसम्म टिक्नसक्छ भन्ने छुट्टै प्रश्न छ ।