close

नेपाली टिम सहभागी पब्जीको विश्वकप आजदेखि, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ ९:२१

नेपाली टिम सहभागी पब्जीको विश्वकप आजदेखि, यसरी हेर्नुहोस् लाइभ

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) आज बिहीबारदेखि मलेसियामा सुरु हुँदैछ । पब्जीको सबैभन्दा ठूलो प्रतियोगिता मध्येको एक पीएमजीसीमा नेपालसहित विश्वभरका टिमहरू प्रतिस्पर्धा गर्दैछन् । 

नेपाली समयअनुसार दिउँसो ३ः३० देखि यो प्रतियोगिता सुरु हुने प्रतियाेगितामा नेपालबाट डीआरएस गेमिङ, ट्रेन टु किल र स्काइलाइट गेमिङ गरी तीन टिमले यो प्रतियोगितामा सहभागिता जनाउने छन् । यी टिम पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल च्याम्पियनशिपबाट यसका लागि छनौटमा परेका हुन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो प्रतियोगिता तीन चरणमा सम्पन्न हुनेछ । प्रतियाेगिताकाे प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

१) लिग चरण:

यो प्रतियोगिताको पहिलो चरण लिगको रूपमा आयोजना हुनेछ । जहाँ नेपालका तीन टिम सहित कूल ४८ ओटा टिमले भाग लिनेछन् ।

सबै टिमलाई १६/१६ टिम गरी तीन समूहमा विभाजन गरिनेछ । त्यसपछि यी विभिन्न समूहबीच प्रतियोगिता सुरु हुनेछ । यो प्रतियोगिता नोभेम्बर १० देखि २७ सम्म मलेसियाको क्वालालम्पुरमा सञ्चालन हुने छ ।

जसबाट हरेक समूहका शीर्ष ३ टिम सोझै फाइनलको लागि छनौट हुनेछन् र समूहको खेल सकिँदा अन्तिम पाँच भित्र पर्ने टिम प्रतियोगिताबाट बाहिरिने छन् । 

२) सर्भाइभल चरण:

यो प्रतियोगिताको दोस्रो चरण हो । जसमा पहिलो चरणबाट चौथोदेखि ११ औँ स्थानभित्र रहन सफल भएका हरेक समूहका आठ/आठ टिमले पुनः एकअर्का विरुद्ध खेल्नेछन् ।

२४ टिमलाई आठ आठ गरी पुन: ३ समूहमा विभाजन गरी राउन्ड रोबिन शैलीमा कूल १८ खेल खेलाइने छ । जसबाट अङ्क तालिकामा शीर्ष १६ भित्र रहन सफल टिमलाई पुन: अर्को चरणमा खेलाइनेछ र अन्तिम आठ टिम प्रतियोगिताबाट नै बाहिरिने छन् ।

यो चरण नोभेम्बर ३० देखि डिसेम्बर २ सम्म चल्नेछ ।

३) लास्ट चान्स:

यो प्रतियोगिताको अन्तिम चरण हो । जसमा सार्भाइभल चरणबाट छनौट भएका १६ टिमले पुनः एकअर्का विरुद्ध खेल्नेछन् । जसबाट शीर्ष चार टोली फाइनलको लागि छानिने छन् ।

अन्य बाँकी १२ टिम प्रतियोगिताबाट बाहिरिने छन् । लास्ट चान्सका खेल डिसेम्बर ३ र ४ मा  हुनेछ । 

प्रतियोगिताको फाइनल इन्डोनेसियाको जकार्तामा जनवरी ६ देखि ८ सम्म हुनेछ । फाइनल चरणमा कूल १८ खेल खेलाइनेछ ।  जसमा प्रतियोगिताको लिग चरणबाट १३ टिम र आमन्त्रित तीन टिमले उपाधिका लागि भिड्ने छन् ।

आमन्त्रित टिममा चीनको टिम एसएमजी र इन्डोनेसियाको अल्टर इगो लाइम्याक्स रहेका छन् । आमन्त्रित एउटा टोलीको भने अझै टुङ्गो लागिसकेको छैन ।

यो प्रतियोगिताको कूल पुरस्कार राशि ४० लाख अमेरिकी डलर (५२ करोड रुपैयाँभन्दा बढी) रहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ ११:१