close

पब्जी विश्वकपमा नेपाली टिम 'स्काइलाइट गेमिङ'को खराब सुरुवात

टेकपाना टेकपाना

मंसिर २, २०७९ १५:१४

पब्जी विश्वकपमा नेपाली टिम 'स्काइलाइट गेमिङ'को खराब सुरुवात

काठमाडाैं । पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा आज ‘ग्रुप ग्रीन’ को दोस्रो दिनको खेल हुँदैछ । बिहीबार पहिलो दिनको खेलमा नेपाली टिम स्काइलाइट गेमिङले राम्रो प्रदर्शन गर्न सकेन ।

पहिलो दिनको खेल सकिँदा स्काइलाइट गेमिङ अङ्क तालिकाको १३औँ स्थानमा रहेको छ । ​स्काइलाइट गेमिङले छ खेलबाट १८ एलिमिनेसन पोइन्टसहित कुल ३६ पोइन्ट बटुलेको छ ।

यो समूहको अङ्क तालिकाको शीर्ष स्थानमा सर्बियाली पब्जी टिम ‘एचभीभीपी’ छ, जसले छ खेलबाट ४२ एलिमिनेसन र १ चिकेन डिनरसहित कुल ८५ पोइन्ट बटुलेको छ ।

त्यस्तै दोस्रो स्थानमा ‘इभोस रिबर्न’ र तेस्रो स्थानमा ‘अल्फा सेभेन ई-स्पोर्ट्स’ रहेको छ । यो समूहको खेल सकिँदा शीर्ष तीनभित्र पर्न सफल हुने टिमले सिधै अन्तिम चरणका लागि छनोट हुनेछन् ।

चौंथोदेखि ११औं स्थानमा रहने टिमले अन्तिम चरणमा स्थान बनाउनको लागि डीआरएस सहितका अन्य टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसलाई सर्भाइबल स्टेज नाम दिइएको छ । अन्य बाँकी पाँच टिम भने प्रतियोगिताबाट नै बाहिरिने छन् ।

नेपालबाट यो प्रतियोगितामा तीन टिम सहभागी छन् । यसमध्ये डीआरएस गेमिङको समूह चरणको खेल सम्पन्न भइसकेको छ । 'रेड ग्रुप'मा रहेको डीआरएस गेमिङले अङ्क तालिकाको छैटौँ स्थानमा रहँदै समूह चरणको खेलको अन्त्य गरेको छ ।

'यल्लाे टिम' मा रहेकाे ट्रेन टु किलकाे खेल नाेभेम्बर २४ देखि सुरू हुनेछ । यो प्रतियोगिताको कुल पुरस्कार राशि ४० लाख डलर (५२ कराेड रूपैयाँ बढी) राखिएको छ ।

यसमध्ये विजेताले ९० हजार डलर (करिब एक करोड १६ लाख), उपविजेताले ८५ हजार डलर (करिब एक करोड १० लाख ) र तेस्रो हुने टिमले ८० हजार डलर (करिब साढे एक करोड) हात पार्नेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १५:१४