close

टिभीमा फुटबल लाइभ सहज नहुँदा बढ्यो ‘पाइरेटेड’ माध्यमको प्रयोग

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १४:२४

टिभीमा फुटबल लाइभ सहज नहुँदा बढ्यो ‘पाइरेटेड’ माध्यमको प्रयोग

काठमाडौं । टेलिभिजनमा कतारमा जारी फुटबल विश्वकपको लाइभ प्रसारण सहज नभएपछि नेपालमा पाइरेडेट (गैरकानूनी तथा अनधिकृत) माध्यमको प्रयोग बढेको छ । यस्तोमा प्रयोगकर्ताले पाइरेटेड लिङ्क तथा थर्डपार्टी एपको प्रयोग गर्न थालेका हुन् ।  

विश्वकप फुटबलको समयमा इन्टरनेट सेवा प्रदायकहरूको नेटवर्कमा अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ खपत पाँचदेखि १० प्रतिशत वृद्धि भएको छ । अहिले इन्टरनेट सेवा प्रदायकले नै आईपीटिभी सेवासमेत दिने भएकाले उनीहरूले ‘प्रोएक्टिभ’ भएर पाइरेटेड माध्यमका डीएनएस ब्लक गर्न थालेका छन् । 

तर प्राविधिक रूपमा यस्तो पाइरेसी पूर्ण रूपमा नियन्त्रण गर्न भने सम्भव छैन । यस्तोमा प्रयोगकर्ताले प्रतिबन्धित ‘पोर्न’ साइटमा पहुँच बनाए जस्तैगरी पाइरेटेड लाइभ स्ट्रिमिङ हेर्ने गरेका छन् । 

यसका लागि केही प्राविधिक ज्ञान भएका प्रयोगकर्ताले डीएनएस परिवर्तन (‌ओभरराइट) गरी लाइभ हेर्ने गरेका छन् भने केहीले भीपीएन माध्यम प्रयोग गर्दै आएका छन् । 

यसरी पाइरेटेड माध्यम प्रयोग हुँदा इन्टरनेट सेवाप्रदायकको नेटवर्कमा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढेको हो । “यस्ता साइटहरूले सम्पूर्ण रूपमा अन्तर्राष्ट्रिय ट्राफिक नै प्रयोग गर्छन्,” एक इन्टरनेट सेपाप्रदायकका प्रमुख प्राविधिक अधिकृत भन्छन्, “त्यसो त विश्वकप सुरु हुनुभन्दा केही दिन अघि मात्रै सबै सेवाप्रदायकको नेटवर्कमा एक्कासी अन्तर्राष्ट्रिय ट्राफिक बढेको देखिन्छ । सायद त्यसबीचमा इन्टरनेटमा नयाँ कन्टेन्ट थपिएको पनि हुनसक्छ ।”

विश्वकप दौरान अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढ्ने आँकलका साथ गरेरै सेवाप्रदायकले आफ्नो नेटवर्कको क्षमता समेत बढाएका छन् । जसले गर्दा इन्टरनेट नेटवर्कमा भने खासै समस्या नरहेको सेवाप्रदायकहरूले बताएका छन् ।

तर भुक्तानी प्रणालीलाई टेलिभिजन सिस्टममा इन्टिग्रेट गर्ने कार्यले प्रभावकारी रूपमा काम नगर्दा अझै पनि कतिपय दर्शकले टेलिभिजनमा विश्वकप फुटबलको लाइभ हेर्न पाइरहेका छैनन् । खासगरी भुक्तानीका माध्यमहरूले राम्रोसँग काम गर्न सकिरहेका छैनन् ।

रकम भुक्तानी भए पनि भेरिफिकेसन नहुँदा च्यानल एक्टिभेसन नहुने समस्या पनि उत्तिकै छ । पेमेन्ट गेट-वे र टिभी एक्टिभेसन सिस्टम बीच अटोमेटेड सिस्टमले राम्रोसँग काम गर्न नसक्दा समस्या आएको बताइन्छ ।

जसले गर्दा टेलिभिजनको विकल्पमा प्रयोगकर्ता पाइरेटेड ट्रिमिङ सेवा प्रयोग गर्न बाध्य भएका छन् । “हाम्रो पेमेन्ट गेटवे परिपक्व भई नसकेको देखियो,” ती अधिकारीले भने, “आईपीटिभी प्रदायकको सिस्टम पनि आवश्यक स्तरमा अगाडि बढ्न स्पष्ट भयो ।”

भुक्तानी गरिसकेका ग्राहकलाई सम्बन्धित टेलिभिजन अकाउन्टमा ‘रिफ्लेक्ट’ गराउन ‘म्यानुअल’ तवरमा हस्तक्षेप गर्नु परेको अर्को इन्टरनेट सेवाप्रदायकका निर्देशकले सुनाए । “विश्वकप सुरु भएको तीन चार दिनमा पनि अकाउन्ट एक्टिभेसन गर्ने डिपार्टमेन्ट अत्यन्तै व्यस्त छन्,” उनले भने । 

भुक्तानी सेवाप्रदायकमार्फत पैसा पठाइएको भए पनि सेटटप बक्सको युजर नेम लगायतको सूचनासँग मेल नखाने, भुक्तानी रकम बैंक खातामा गए पनि त्यसको स्क्यान कपी सम्बन्धित डिपार्टमेन्टमा नपुग्ने आदि समस्याले सेवा प्रदायकलाई तनाव थपिएको छ । समयमा विश्वकप लाइभ प्रसारण हुने च्यानल एक्टिभेट नहुँदा ग्राहकहरू असन्तुष्ट भएका छन् । 

“ग्राहकले पैसा भुक्तानी गर्दा समेत च्यानल एक्टिभ हुने भए पछि कतिपय प्रयोगकर्ता पाइरेटेडतर्फ गएका हुनसक्छन्,” ती निर्देशकले भने, “तर गुणस्तर कमजोर हुने र ढिलो गरी लाइभ आउने भएकाले प्रयोगकर्ताहरू पाइरेटेड ट्रिमिङमा पनि त्यति सन्तुष्ट हुने अवस्था पनि छैन ।”

सेवाप्रदायकहरूका अनुसार हालसम्म कूल सेटटपबक्स प्रयोगकर्ता मध्ये २५ देखि ३० प्रतिशतले फुटबल विश्वकप लाइभ प्रसारण गर्ने च्यानलको सब्सक्रिप्सन  लिइसकेका छन् । यसबीच निष्क्रिय तथा सस्पेन्डेड ग्राहक समेत सक्रिय भएको उल्लेख छ । 

आईपीटिभीका लागि लोकल ब्यान्डविथसमेत प्रयोग हुने भएकाले यसबीच नेपाल इन्टरनेट एक्सचेञ्ज (एनपीआईएक्स) मा समेत वृद्धि देखिएको छ । सामान्यतया औसत १४ जीबीपीएस रहने एनपीआईएक्सको ट्राफिक विश्वकप फुटबल लाइभको उद्घाटन समयमा ४५ जीबीपीएससम्म पुगेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १५:४१