close

अब ह्वाट्सएपमा आफूले आफैलाई मेसेज गर्न सकिने

टेकपाना टेकपाना

मंसिर १३, २०७९ १६:५५

अब ह्वाट्सएपमा आफूले आफैलाई मेसेज गर्न सकिने

काठमाडौं । अन्तत: ह्वाट्सएपमा प्रयोगकर्तालाई आफूले आफैलाई च्याट गर्न सक्ने फिचर सार्वजनिक भएको छ । महत्त्वपूर्ण सूचनाहरू भण्डारण गर्न र आफ्नै अन्य डिभाइसमा उक्त सूचना पाउनका लागि यो फिचर उपयोगी हुने कम्पनीको विश्वास छ ।

'मेसेज योर सेल्फ' नाम दिइएको यो फिचरमार्फत प्रयोगकर्ताले आफैंलाई नोट, रिमाइन्डर, फोटो, शपिङ लिस्ट पठाउन सक्नेछन् ।

सोमबार एक कार्यक्रम आयोजना गर्दै ह्वाट्सएपको मातृ कम्पनी मेटाले उक्त फिचर सार्वजनिक गरेको हो । यो फिचर एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताका लागि भने आगामी हप्ताबाट उपलब्ध हुनेछ । कतिपय क्षेत्रमा यो फिचरको बेटा टेस्टिङ भइरहेको छ । ह्वाट्सएपले ब्लगपोस्ट सार्वजनिक गर्दै अक्टोबरमा यो फिचर ल्याउने घोषणा गरेको थियो । सोमबार भने कम्पनीले  विश्वभरका प्रयोगकर्ताका लागि यो फिचर सार्वजनिक गरेको हो ।

यो फिचर एन्ड्रोइड तथा आईओएस डिभाइसमा उपलब्ध भइसकेपछि प्रयोगकर्ताले न्यु च्याटको कन्ट्याक्ट लिस्टको सबैभन्दा माथि आफ्नो नाम देख्नेछन् । त्यसपछि आफ्नो नाममा ट्याप गरेको खण्डमा च्याट बक्स देखिन्छ । उक्त च्याटबक्सबाट आफूले आफैलाई मेसेज गर्न सकिन्छ ।

यो फिचर आधिकारिक रूपमा सोमबार सार्वजनिक भए पनि प्रयोगकर्ता आफैले विभिन्न तरिका प्रयोग गरेर आफूले आफैलाई च्याट गर्दै आएका थिए । कोही व्यक्तिलाई जोडेर ग्रुप च्याट खोल्ने र उक्त व्यक्तिलाई ग्रुपबाट हटाएपछि प्रयोगकर्ताले आफूले आफैलाई मेसेज गर्न सकिन्यो । अब भने सजिलै आफूले आफैलाई मेसेज गर्न सकिन्छ । आफ्नो च्याटलाई सबैभन्दा माथि पिन गर्न सकिने कम्पनीले जनाएको छ ।

ह्वाट्सएपको वेब भर्सनमा आफूले आफूलाई यसरी मेसेज गर्नुहोस्:

हाल यो फिचर वेभ भर्सनमा मात्र छ । वेब भर्सनमा आफूले आफूलाई मेसेज गरेपछि एन्ड्रोइड तथा आईओएस डिभाइसबाट पनि आफूलाई मेसेज पठाउन सकिन्छ । वेब भर्सनमा आफूले आफूलाई मेसेज गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

- सबैभन्दा पहिले यहाँ क्लिक गरी वेब भर्सनमा अकाउन्ट लगइन गर्नुहोस् ।

- त्यसपछि त्यहाँ क्युआर कोड देखाइन्छ । त्यसपछि फोनमा ह्वाट्सएप खोल्नुहोस् । अनि माथि दायाँपट्टि रहेको तीन ओटा थोप्लोमा ट्याप गरेर लिङ्क्ड डिभाइसमा ट्याप गर्नुहोस् । त्यसपछि लिङ्क्ड अ डिभाइसको बटनमा ट्याप गर्नुहोस् । त्यहाँ क्युआर कोड स्क्यान गर्ने पेज खुल्छ । वेब भर्सनमा देखिएको क्युआर कोडलाई स्क्यान गर्नुहोस् । त्यसपछि तपाईँको अकाउन्ट वेब भर्सनमा लिङ्क हुन्छ ।

- कम्प्युटरको ब्राउजरमा ह्वाट्सएप खुलिसकेपछि माथि बायाँपट्टि रहेको न्यू च्याटको अप्सनमा क्लिक गर्नुहोस् ।

- त्यसपछी कन्ट्याक्ट अन ह्वाट्सएपको ठाउँमा सबैभन्दा माथि तपाईँको नाम देखिन्छ । उक्त कन्ट्याक्टमा क्लिक गरेर आफूले आफैसँग च्याट गर्न सक्नुहुन्छ ।

 

 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ १७:१