close

इयरबडको डब्बा बोक्न मन लाग्दैन ? ह्वावेले ल्याउदैछ वायरलेस इयरबड सहितको स्मार्टवाच

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १०:१८

इयरबडको डब्बा बोक्न मन लाग्दैन ? ह्वावेले ल्याउदैछ वायरलेस इयरबड सहितको स्मार्टवाच

काठमाडौं । वायरलेस इयरबडले हाम्रो जीवनलाई धेरै सहज बनाइदिएको छ । तर इयरबडको केस गोजीमा बोक्न नपरे हुन्थ्यो भनेर धेरैलाई लाग्नसक्छ । यदि तपाईँले यस विषयमा सोच्नुभएको छैन भने पनि ह्वावेले यस विषयमा सोचिसकेको छ ।

प्रयोगकर्ताले इयरबडको डब्बा अथवा केस गोजीमा बोक्नु नपर्ने गरी कम्पनीले नयाँ स्मार्टवाच ल्याउने तयारी गरेकाे छ । कम्पनीले हालै सार्वजनिक गरेको एक भिडिओमा स्मार्टवाचभित्र नै चार्जिङ सहितको वायरलेस इयरबड देख्न सकिन्छ ।

कम्पनीले तयार गरेको यो स्मार्टवाचको नयाँ डिजाइनले घडी मात्र नभई वायरलेस इयरबडको डब्बाको पनि काम गर्छ । ह्वावेको जीटी सिरिजको स्मार्टवाचको डिजाइन जस्तो देखिने यो घडी कुन सिरिजमा आधारित हुनेछ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।

यद्यपि घडी स्टिलको हुने र फिता लेदरको हुनेछ भने यो घडी हार्मोनी ओएसमा आधारित हुनेछ । घडी र इयरबडको डब्बा दुवैको काम गर्नुपर्ने हुँदा यसमा धेरै क्षमता भएको ब्याट्री उपलब्ध हुने अनुमान छ ।

झट्ट हेर्दा सामान्य जस्तै देखिए पनि अन्यको तुलनामा यो स्मार्टवाच भारी भने हुनसक्छ । यद्यपि डब्बा बोक्न नचाहने प्रयोगकर्ताहरूको लागि भने यो स्मार्टवाच निकै उपयोगी हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १२:५८