close

'भविष्यमा तपाईँ कस्तो देखिनुहुन्छ ?' यस्ता लिङ्क क्लिक गर्नेको बैंकबाट २ करोड गायब !

टेकपाना टेकपाना

मंसिर २६, २०७९ २०:२६

'भविष्यमा तपाईँ कस्तो देखिनुहुन्छ ?' यस्ता लिङ्क क्लिक गर्नेको बैंकबाट २ करोड गायब !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा रमाइलोका नाममा प्रयोग हुँदै केही 'खेल'का कारण ​विभिन्न बैंकका ग्राहककाे खाताबाट पैसा गायब भएको पाइएको छ । हालै भएको एक अनुसन्धान अनुसार रमाइलोका लागि प्रयोग हुने यस्ता गेम वा लिंकका कारण दुई करोड रुपैयाँभन्दा बढी रकम प्रयोगकर्ताको बैंक खाताबाट चोरी भएको छ ।  

साे अनुसन्धान अनुसार 'नेपाली गर्ल' नामक एपीके मालवेयर फाइलबाट विभिन्न बैंकका ग्राहककाे रकम चोरी भइरहेकाे छ । सामाजिक सञ्जाल फेसबुकमा देखिने विभिन्न गेम खेल्दा याे मालवेयर एपीके डाउनलाेड हुने र त्यसैले बैंक खातमा रहेको रकम चोरी गर्ने गरेकाे अनुसन्धानकाे निष्कर्ष छ । 

फेसबुक अकाउन्टमा भविष्यमा कस्ताे देखिनुहुन्छ, भविष्यको घर, अनुहार कुन सेलिब्रेटीसँग मिल्छ, तपाईँ कुन प्रकारको व्यक्ति हुनुहुन्छ जस्ता विभिन्न प्रश्न राखेर खेल खेलाइने गरेकाे छ । मनाेरञ्जनका लागि प्रयाेगकर्ताले यस्ता लिंक क्लिक गर्दा मालवेयरबाट संक्रमित हुने जाेखिम रहेकाे बैंकका एक अधिकारीले बताए ।

त्यसरी इन्स्टल भएकाे मालवेयर प्रयोगकर्ताको डिभाइसमा देखिँदैन, तर अन्य एप र डेटामा पहुँच राख्न सक्ने पनि उनले उल्लेख गरे ।

''हाम्रा दुई तीन-जना ग्राहकले यसबारे गुनासो गरेपछि बैंककाे प्राविधिक टाेलीले अनुसन्धान गरेकाे थियाे,''  साे अनुसन्धान टाेलीका एक सदस्यले भने, ''अध्ययनबाट प्रयोगकर्ताको बैंक विवरण 'नेपाली गर्ल' नामक एपीके मालवेयरले कब्जामा लिई रकम चोरी गरेको देखियाे । यसले विभिन्न बैंक तथा वित्तीय संस्था र डिजिटल वालेटका प्रयाेगकर्ता समस्यामा परेकाे पाइएकाे छ ।''

पछिल्लो एक महिनामा यसरी विभिन्न बैंकबाट दुई करोड बढी रकम चोरी भएको अनुमान गरिएकाे छ ।

मनोरञ्जनका लागि फेसबुकमा रहेका फेस एपसहित थर्ड पार्टी गेम खेल्दा प्रयोगकर्ता ठगीको शिकार हुनसक्छन् । टेकपानासँगको कुराकानीमा साइबर सुरक्षा विज्ञ विजय लिम्बूले भने, "फेसबुकका गेमहरू फेसबुकले नभई थर्ड पार्टीले बनाएका हुन्छन् । त्यसमा फेसबुक साइनअप गरी खेल्न खोज्दा लिङ्क पठाइएको हुन्छ । र, त्यस्ता लिङ्क खोल्दा प्रयोगकर्तालाई थाहै नभई मालवेयर इन्स्टल हुन्छ ।"

फेसबुकमा देखिने अधिकांश यस्ता खेल प्रयोगकर्ताको डेटा चोर्नका लागि तयार पारिएको लिम्बूकाे भनाइ छ । यस्ता मालवेयर फोनको स्क्रिनमा नदेखिने र त्यसले भित्रभित्रै डिभाइसको एक्सेस लिने हुँदा फोन नै मालवेयर फैलाउने व्यक्तिको कब्जामा हुन्छ ।

यसर्थ फेसबुकमा रहेका त्यस्ता गेम नखेल्न र शेयर नगर्न लिम्बू सचेत गराउँछन् ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ २१:२२