close

आईफोनमा प्रयोग हुन्छ सोनीले बनाएको क्यामेरा सेन्सर

टेकपाना टेकपाना

पुस ४, २०७९ १५:२०

आईफोनमा प्रयोग हुन्छ सोनीले बनाएको क्यामेरा सेन्सर

काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आईफोनमा सोनी ब्रान्डका क्यामेरा सेन्सर प्रयोग हुने गरेको बताएका छन् । लामो समयसम्म गोप्य रहेको क्यामेरा सेन्सरको कुरा एक दशकभन्दा बढी समयपछि कुकले ट्वीटरमार्फत बाहिर ल्याएका हुन् ।

एक ट्वीट गर्दै टिम कुकले लेखेका छन्, "हामीले आईफोनका लागि विश्वको अग्रणी क्यामेरा सेन्सरहरू सिर्जना गर्न एक दशकभन्दा बढी समयदेखि सोनीसँग सहकार्य गर्दै आएका छौं ।" टिम कुकले सोनीका सीईओ केनिचिरो योशिदालाई धन्यवाद दिँदै क्यामेरा सेन्सरको खुलासा गरेका हुन् ।

कुकले शेयर गरेको फोटोमा उनी आफ्नै कम्पनीको फोन हेरिरहेका देखिन्छन् । एप्पल आफूले प्रयोग गर्ने विभिन्न कम्पोनेन्टका बारेमा धेरै सचेत छ, जसले गर्दा कम्पनीका विवरणहरू विरलै लिक हुन्छन् ।

कम्पनीले सोनीको सेन्सर प्रयोग गर्दै आएको एक दशकपछि खुलासा गर्नुले कम्पनी आफ्ना विवरण कति गोप्य राख्न खोज्छ भबन्ने कुरा पुष्टि हुन्छ । एप्पलको वेबसाइट वा अन्य विभिन्न साइटमा आईफोनको क्यामेराका बारेमा थुप्रै कुरा जान्न पाइन्छ ।

उदाहरणका लागि कति मेगापिक्सेलको, कति रेजाेलुसन र कति अपार्चरको क्यामेरा सेन्सर प्रयोग भएको छ भन्ने खुलाइएको हुन्छ । तर, हार्डवेयरका बारेमा भने विरलै सुन्न पाइन्छ ।

अन्ततः फोटोग्राफीका लागि उत्कृष्ट मानिएको आईफोनले सोनीको क्यामेरा सेन्सर प्रयोग गर्ने कुरा खुलेको छ । यसअघि पनि एप्पलले सोनीको क्यामेरा सेन्सर प्रयोग गर्ने अनुमान अनुमान गरिन्थ्याे । सन् २०१५ मा वाल स्ट्रिट जर्नलमा एप्पलले आईफोन ६ मा सोनीको क्यामेरा सेन्सर प्रयोग गर्दै आएको उल्लेख गरेको थियो । तर, कम्पनीले यसबारे कुनै कुरा खुलाएको थिएन ।

सोनी ४४ प्रतिशत बजारका साथ इमेज सेन्सरको सन्दर्भमा सबैभन्दा अग्रणी स्थानमा आउँछ । दोस्रोमा १८.५ प्रतिशतका साथ सामसङले बजार कब्जा गरिरहेको छ ।

सोनी, पछिल्लो समय बढी लाइट क्याप्चर गर्ने इमेज सेन्सरमा काम गरिरहेको छ । सोनीको उक्त नयाँ सेन्सर सबैभन्दा पहिले आईफोन र पछि अन्य एन्ड्रोइड फोनहरूमा आउनसक्ने अनुमान छ ।

 

 

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ १५:२५