काठमाडौं । एप्पलले आईफोन एप स्टोरमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन ल्याउने भएको छ । युरोपेली संघका नयाँ नियमहरूको प्रतिक्रियामा एप्पलले यस्तो फिचर ल्याउन लागेको हो । यसको अर्थ आईफोन र आईप्याडमा थर्ड पार्टी एप स्टाेर वा वेबसाइटबाट अन्य एप डाउनलोड गर्न सकिनेछ ।
यो फिचर अर्को वर्ष आईओएस १७ मा देख्न सकिने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुम्बर्गमा प्रकाशित रिपोर्टअनुसार कम्पनीको यो परिवर्तनले आईफोनमा पहिलो पटक अन्य माध्यमबाट एप डाउनलोड गर्न सकिने भएको हो ।
हालसम्म आईफोन र आईप्याडमा कम्पनीको एपस्टोरबाट मात्र एपहरू डाउनलोड गर्न सकिन्छ, जसले गर्दा आईफोन प्रयोगकर्ता थुप्रै एप प्रयोग गर्नबाट वञ्चित भएका छन् । अब नयाँ फिचर आएसँगै प्रयोगकर्ताले विभिन्न वेबसाइट तथा एप स्टोरबाट एप डाउनलोड गर्न सक्नेछन् ।
यस परियोजनामा काम गरिरहेका जानकार स्रोतका अनुसार यो फिचर सार्वजनिक हुनासाथ प्रयोगकर्ताले थर्ड पार्टी एपबाट नयाँ एप डाउनलोड गर्न सक्नेछन् । थर्ड पार्टी एप स्टोरबाट एपहरू डाउनलोड हुँदा त्यसमा हुनसक्ने सुरक्षा कमजोरीबारे पनि धेरैको चासो छ । कुनै पनि माध्यमबाट एप डाउनलोड गर्दा त्यसको सुरक्षा जाँच कडा किसिमले गर्ने एप्पलको जानकारस्रोतले जनाएको छ ।