close

वनप्लस ११ को स्पेसिफिकेसन निश्चित, यस्तो हुनेछ नयाँ फ्ल्यागशिप फोन

टेकपाना टेकपाना

पुस ७, २०७९ १६:१५

वनप्लस ११ को स्पेसिफिकेसन निश्चित, यस्तो हुनेछ नयाँ फ्ल्यागशिप फोन

काठमाडौं । फेब्रुअरी ७ मा सार्वजनिक हुने वनप्लस इलेभेन (oneplus 11) का कतिपय स्पेसिफिकेसन निश्चित भएका छन् । चीनको दूरसञ्चार प्रमाणीकरण तथा नियमनकारी निकाय टिनाको सूचीकरणबाट फोनबारे यसअघि लिक भएका जानकारी निश्चित भएका हुन् ।

सूचीकरण अनुसार पीएचबी११० (PHB110) मोडेल नम्बर भएको वनप्लस इलेभेनमा ३,२१६x१,४४० रेजोलुसनसहित ६.७ इन्चको एमोलेड डिस्प्ले रहनेछ । फोन १२० हर्ज रिफ्रेश रेटसहित आउने अपेक्षा गरिएको छ, यद्यपि यो जानकारी सूचीकरणमा भने उल्लेख छैन । 

 

टिना सर्टिफिकेटमार्फत वनप्लस इलेभेनमा १२/१६ जीबी र्‍याम तथा २५६/५१२ जीबी स्टोरेज हुने कुराको जानकारी समेत बाहिरिएको छ । वनप्लस टेन प्रोको ८जीबी/१२८ जीबी भर्सन अबको नयाँ फ्ल्यागशिपमा समावेश नहुन सक्छ ।  यद्यपि यो चीन मात्रको सूचीकरण भएकाले उक्त स्ट्यान्डर्ड भेरियन्ट विश्व बजारमा भने देख्न सकिएला ।

प्रमाणीकरण कागजातमा प्रोसेसरको विषयमा भने उल्लेख छैन । तर त्यसमा स्न्यापड्रागन एट जेन टु (Snapdragon 8 Gen 2) रहनेमा दुविधा छैन । यसबाहेक कागजातहरूबाट वनप्लस इलेभेनमा ५० मेगापिक्सेल, ४८ मेगापिक्सेल र ३२ मेगापिक्सेल गरी तीन ओटा रियर क्यामेरा हुने तथा सेल्फीका लागि १६ मेगापिक्सेल शुटर रहने निश्चित भएको छ ।

फोनका लागि २,४३५ एमएएच ब्याट्री क्षमता उल्लेख छ । यसको अर्थ वनप्लसले ब्याट्री क्षमतालाई घटाउँदैछ भन्ने होइन । बरु फोन डुअल-सेल डिजाइनमा आउन सक्ने अपेक्षा गर्न सकिन्छ । यसको अर्थ तपाईँले करिब कूल ४,८७० एमएएच क्षमता हुने गरी त्यस्ता दुई ओटा ब्याट्री फोनमा पाउन सक्नुहुनेछ ।

यसबाहेक फोनमा १०० वाटको फास्ट चार्जिङ सपोर्ट हुने अपेक्षा गरिएको छ । यद्यपि सूचीकरणमा यो जानकारी भने उल्लेख छैन । 

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ १६:१५