close

तपाईँको फोनमाथि कसैले जासुसी गरिरहेको त छैन ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

पुस ११, २०७९ १३:१७

तपाईँको फोनमाथि कसैले जासुसी गरिरहेको त छैन ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । तपाईँको एन्ड्रोइड फोन कसैको कब्जामा जान एक सेकेन्ड पनि लाग्दैन । भन्नुको अर्थ फोनमा भएका जति पनि डेटा छन्, ती अरूको कब्जामा जुनसुकै बेला पनि पर्न सक्छन् । विशेषगरी साइबर अपराधी र ह्याकरले हरेक कोणबाट तपाईँको फोनमा निगरानी राखेका हुन्छन् ।

मौका पर्नासाथ उनीहरू तपाईँको डेटा आफ्नो कब्जामा लिएर त्यसको दुरुपयोग नगर्लान् भन्न सकिँदैन । त्यसबाहेक पनि तपाईँका वरपरका व्यक्तिको आँखा तपाईँको डेटामा परेको हुनसक्छ । तपाईंको स्मार्टफोनमा कसले कसरी पहुँच बनाएको छ भनेर कसरी थाहा पाउने ? अनि यसबाट बच्न के के गर्ने ? आज हामी तपाईंलाई यसै विषयमा जानकारी दिन्छौं ।

यस्ता ठाउँबाट तपाईँको फोनमा कसैले जासुसी गरिरहेको हुनसक्छ

वास्तवमा फोन कसले कहाँबाट जासुसी गरिरहेको छ भन्ने कुरा यकिन गर्न सकिँदैन । केही व्यक्तिले अनलाइनबाट तपाईँको फोनमा जासुसी गरिरहेका हुन्छन् भने केहीले भौतिक रूपमा तपाईँको फोनमाथि निगरानी गरिरहेका हुन्छन् । तपाईँको फोन भौतिक रूपमा कहाँबाट जासुसीमा पर्न सक्छ भन्ने तल उल्लेख छ ।

-   तपाईँको आफ्नै घरबाट

-   तपाईँको साथी वा छिमेकीको घरबाट

-   तपाईँले काम गर्ने ठाउँबाट

-   वा जुनसुकै ठाउँबाट पनि

तपाईँको फोनमा पहुँच पाउन सो व्यक्तिलाई धेरै समय नै लाग्दैन । वा, उसले तपाईँको फोनमा पछि एक्सेस पाउन कुनै पनि सेटिङ परिवर्तन गरेको हुनसक्छ । परिवार, साथीभाइ वा आफन्त नजिक हुँदा फोन सुरक्षित राख्नुपर्छ भन्नेबारे सोच्दैनौँ ।

तर, यसरी विश्वासिलो मान्छेहरूको भीडभाडमा हुँदा नै तपाईँको फोन बढी जोखिममा परेको हुन्छ । त्यसैले तपाईँ जहाँ गएपनि फोनको अनलाइन तथा भौतिक सुरक्षा गर्नुपर्ने हुन्छ ।

तपाईँको फोन अरूले जासुसी गरिरहेको कसरी थाहा पाउने ?

तपाईँलाई जानकारी नै नभई तपाईँको फोनबाट विभिन्न अस्वाभाविक काम भइरहेका छन् भने तपाईँको फोन कसैको कब्जामा छ वा कसैले जासुसी गरिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

तपाईँको फोनमा अरूले जासुसी गरिरहेको अनुमान लगाउन तपाईँ आफै सजग हुनुपर्छ । यदि कसैले तपाईँको फोनमा जासुसी गरिरहेको आशङ्का लागेमा तलका प्रक्रिया अपनाउनुहोस् ।

१.   सबैभन्दा पहिले आफ्नो फोन रिस्टार्ट गर्नुहोस्

२. फोनको लक स्क्रिन परिवर्तन गर्नुहोस् । (फोनमा प्याटर्न वा छ ओटाभन्दा बढी अंककाे काेड राख्नुहाेस्)

३. एन्ड्रोइडको नयाँ अपडेट इन्स्टल गर्नुहोस् ।

तपाईँको फोन कसैले जासुसी गरे त्यसबाट हुनसक्ने गलत कामबाट बच्न के गर्ने ?

-   आफ्नो फोनको लक कसैलाई नबताउनुहोस् । सार्वजनिक स्थल वा कोही व्यक्तिका अघि देखाएर फोनको लक नखोल्दा तपाईँको फोन केही हदसम्म सुरक्षित हुन्छ ।

-   पासवर्ड वा पासकोड शेयर नगर्नुहोस् । यदि तपाईँले आफ्नो फोनको पासवर्ड कसैलाई देखाउनुभयो भने सो व्यक्तिले सेभ भएका विभिन्न पासवर्ड हेर्न सक्छ । त्यसैले पासवर्ड वा पासकोड देखाउनु भने फोन जोखिममा पर्छ ।

-   फोन अरू कसैलाई दिनुभन्दा के कामका लागि मागेको त्यो काम आफैं गरिदिनुहोस् ।

-   इनबक्स वा ईमेलमा आएका अनावश्यक लिङ्क क्लिक नगर्नुहोस् । यदि तपाईँले डाउनलोड गरेका थर्ड पार्टी एपले फोनको सम्पूर्ण एक्सेस मागेका छन् भने एप तुरुन्त हटाउनुहोस् । र, आफ्ना विभिन्न अकाउन्टको पासवर्ड परिवर्तन गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ १३:३५