बजारमा सीजी टेलिकमको चर्चा उत्कर्षमा छ । दूरसञ्चार क्षेत्रबाट मैले आफ्नो करियर सुरु गरेको हुँदा सीजी टेलिकम र यसको प्रोजेक्ट लाइफासाइकलको विषयमा आफ्नो धारणालाई सेयर गर्न चाहन्छु । मैले यो आलेखमा विभिन्न तहमा कसरी जीत जीतको अवस्था सिर्जना गर्न सकिन्छ भनेर पनि आफ्नो धारणा राखेको छु ।
नेपालमा सीजी वा अन्य टेलिकमको आवश्यकता किन ?
नेपाल टेलिकमले २००३ देखि जीएसएम नेटवर्कमा आफ्नो सेवा सुरु गर्यो । उसको एकाधिकारलाई तोड्न यूटीएल अस्तित्वमा आयो । त्यसपश्चात मेरो मोबाइल (हालको एनसेल) उदय भयो, जसले आफ्नो सेवा देशव्यापीरुपमा सुरु गर्यो ।
हालको तथ्यांक हेर्ने हो भने नेपाल टेलिकमका करिब ४१ सय बीटीएस टावर छन् भने एनसेलको करिब २९ सय बीटीएस टावर देशभर रहेका छन् । टुजी, थ्रीजी र फोरजी हुँदै देशभरका मानिसहरु जोडिन थाले ।
भविष्य अब डेटामा आधारित छ । फोरजी र फाइभजी त्यसका महत्वपुर्ण आधार हुन् । यो नयाँ ट्रेण्डले नयाँ उदीयमान बजार र प्रविधि कम्पनीहरुलाई थप धेरै अवसर पनि दिनेछ । यदि कुनै पनि नयाँ टेलिकम कम्पनी बजारमा प्रवेश गर्न चाहन्छ भने उसले थप परिष्कृत सेवा र योजनाका साथ आउनुपर्छ ।
इतिहास हेर्ने हो भने एनसेल थ्रीजी पुस्ताको नेटवर्कबाट अर्ध शहरी क्षेत्र कब्जा गर्ने रणनीति सहित आएको थियो । यसका लागि उसले व्यापक सिम वितरणको नीति पनि लिएको थियो । पछि नेपाल टेलिकमलाई पनि थ्रीजी प्रोजेक्टलाई फोरजीमा सिफ्ट भएर नयाँ दौड सुरु गर्न दबाब सिर्जना गर्यो । यसैको परिणाम हो, नेपाल टेलिकमले अहिले सुरु गरेको फोरजी परियोजना ।
औद्योगिक अवसर
टेलिकम उद्योगलाई सधैं ठूलो संख्यामा प्रविधिविज्ञहरुको खाँचो हुन्छ । नेपाल जस्तो देश कभरेज गर्नका लागि सीजीले देशैभर बीटीएस टावर स्थापना गर्नुपर्नेछ । सीजी टेलिकमलाई तीन चरणमा छुट्याएर हेरौं ।
पहिलो चरणको योजनामा उसले हजार बीटीएस टावर स्थापना गर्नसक्छ । दोस्रो चरणमा १५ सय टावर र तेश्रो चरणमा दुई हजार टावर स्थापना गर्ने रणनीति बनाउन सक्छ ।
टावरको लागत विश्लेषण (रुपैयाँमा)
| शिर्षक | २४ मिटरको टावर | ८ मिटरको टावर |
| टावरको लागत | ४, ५०, ००० | १, ००, ००० |
| इरेक्सन तथा पेन्टिङको लागत | १, ००, ००० | १, ००, ००० |
| सिभिल वर्क | १, ५०, ००० | १, ५०, ००० |
| इन्स्टलेसनको लागत | १, ५०, ००० | १, ५०, ००० |
| इलेक्ट्रिकल वर्कको लागत | ५०, ००० | ५०, ००० |
| टावर इन्स्टलेसनको लागत | १, ५०, ००० | १, ५०, ००० |
| पावर कनेक्सनको लागत | १, ००, ००० | १, ००, ००० |
| कुल लागत | ११, ५०, ००० | ८, ००, ००० |
यो लागत विश्लेषण नेपाल टेलिकम तथा जेडटीई परियोजनामा आधारित छ । यो अनुमानित लागत हो ।
यो प्रोजेक्टलाई तीन चरणमा विभाजन गर्न सकिन्छ ।
टावर संख्या
| चरण | २४ मिटर | ८ मिटर |
| पहिलो | २०० | ८०० |
| दोश्रो | ४०० | १, १०० |
| तेश्रो | १, २०० | ८०० |
पाँच वर्षे प्रोजेक्ट प्लान
टावरको लागत अनुमान (रु)
| उचाई | २४ मिटर | ८ मिटर | जम्मा |
| पहिलो | २३, ००, ००, ००० | ६४, ००, ००, ००० | ८७, ००, ००, ००० |
| दोस्रो | ४६, ००, ००, ००० | ८८, ००, ००, ००० | १, ३४, ००, ००, ००० |
| तेस्रो | २४, ००, ००० | ६४, ००, ००, ००० | ६४, २४, ००, ००० |
आवश्यक कर्मचारी र लागत
| तह | मासिक पारिश्रमिक | आवश्यक कर्मचारी | पाँच वर्षको पारिश्रमिक |
| पाँचौं | ३, ००, ००० | १५ | २७०, ०००, ००० |
| चौंथो | १, ५०, ००० | ३० | २७०, ०००, ००० |
| तेस्रो | १, ००, ००० | ५० | ३००, ०००, ००० |
| दोस्रो | ८०, ००० | ५०० | २४००,०००, ००० |
| प्रथम | ५०, ००० | ५०० | १५००, ०००, ००० |
| आधारभूत | ३०, ००० | ३०० | ५४०,०००, ००० |
| कुल | १३९५ | ५२८०, ०००, ००० |
हालको नेपालको टेलिकम परिवेशमा आधारित भएर कम्पनीमा आवश्यक कर्मचारी र लागतको हिसावले अनुमानित तथ्याङ्क निकालिएको हो ।
यसअलावा यो परियोजनाबाट लाभान्वित हुने सब कन्ट्रयाक्टर र विक्रेताहरु सयौंको संख्यामा हुनेछन् । यी कम्पनीहरु र उनीहरुको अपेक्षित व्यवसायिक आकारलाई विभाजन गरी हेरौं ।
भेण्डरको व्यवसाय
| भेण्डर संख्या | एउटा भेण्डरको व्यवसाय | कूल व्यवसाय |
| १०० | ४, ००, ००, ००० | ४, ००, ००, ००, ००० |
यस हिसावले टेलिकमजस्तो एउटा उद्योगले नेपाल जस्तो मुलुकलाई २१ अर्ब सात करोड २४ लाख भन्दा धेरै व्यवसायिक मूल्य दिनसक्छ । टेलिकम उद्योगमा धेरै किसिमका जनशक्ति र विज्ञहरुको आवश्यकता पर्छ ।
टेलिकमका कर्मचारीको संख्याको कुरा गर्ने हो भने यस्तो ठूलो परियोजनालाई हाक्न १३९५ भन्दा धेरै कर्मचारीलाई प्रत्यक्ष रुपमा संलग्न गराउन आवश्यक हुन्छ । यो उद्योगका लागि सिभिल कन्स्ट्रक्सन, विद्युत प्राधिकरण, आर्किटेक्चर, इलेक्ट्रोनिक्स र कम्युनिकेसन इन्जिनियर, बजार विश्लेषक, डेटा इन्जिनियर, सेल्स, फाइनाइन्स, मार्केटिङ, मानव संसाधनको व्यवस्थापन र अन्य डिपार्टमेन्टका भेन्डरहरु आवश्यक पर्छ ।
सुरुवाती चरणमा १३५० जनाको टिम सदस्य आवश्यकता हुने अपेक्षा गरिएको छ भने अप्रत्यक्ष समेत गरी यो उद्योगमा १० हजार रोजगारी सिर्जना हुने देखिन्छ ।
टेलिकम प्रतिस्पर्धा र फाइभजीमा नयाँ ट्रेण्ड
यसअलावा फाइभजी जस्तो नयाँ प्रविधि र उच्च गतिको इन्टरनेटसहित टेलिकम उद्योगले थप धेरै अवसरहरु दिने छ । नेपालसँग एआईमा आधारित ड्रोन प्रविधि विकास गर्ने ठूलो सम्भावना छ । नेपालमा हाल ड्रोन प्रविधि र कम्पनीहरु स्थापना हुने ठूलो अपेक्षा गर्न सकिन्छ ।
एकिकृत लाइसेन्स नीति
टेलिकम उद्योगका लागि लाइसेन्स नीतिमा परिवर्तन ल्याउन आवश्यक छ । सरकारले परिवर्तित स्थितिमा नियन्त्रण जमाउन नयाँ तरिकाहरु ल्याउनुपर्छ र नयाँ व्यवसायहरुलाई अवसर दिनुपर्छ । हामी पुरानो मनस्थिति र नीतिले इतिहास रच्न सक्दैनौं ।
सरकारले जनताको भलाईका लागि बजारले सिर्जना गर्न सक्ने अवसरतिर ध्यान दिनुपर्छ र त्यस्ता व्यवसायलाई निरुत्साहित गर्न पुरानो नीतिको सहारा लिन बन्द गर्नुपर्छ । यसो हुन सके नेपालको समृद्धिमा यसबाट व्यापक योगदान पुग्ने देखिन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
