close

युट्युवमा गीत सुन्दै काम गर्ने बानी छ ? जानिराख्नुहोस् क्रोमको नयाँ फिचर

टेकपाना टेकपाना

चैत २, २०७६ १२:५२

युट्युवमा गीत सुन्दै काम गर्ने बानी छ ? जानिराख्नुहोस् क्रोमको नयाँ फिचर

कतिपयको सानो आवाजमा गीत सुन्दै काम गर्ने बानी हुन्छ । त्यसका लागि तपाईं हामीले गूगल क्रोममा युट्युव खोलेर गीत बजाएर अन्य ट्यावमा आफ्नो छुट्टै काम गरिरहेका हुन्छौं ।

कहिले काहीँ कामको शिलशिलामा क्रोममा कतिवटा ट्याव खोलिएको हुन्छ, त्यो पनि ख्याल हुँदैन ।यस्तोमा युट्युवमा बजिरहेको गीत ‘पज’ अथवा रोक्नु पर्‍यो, रोकेको गीतलाई पुन बजाउनु पर्‍यो भने हामी युट्युव खोलिएकै ट्यावमा पुग्नु पर्छ ।

थोरै ट्यावहरु खोलिएको अवस्थामा त सहजै पुग्न सकिन्छ । तर यदि धेरै ट्याव खोलिएको छ भने कुन ट्यावमा युट्युव खोलिएको छ भनेर अलमलकै अवस्था सिर्जना हुन्छ ।

तर, अब भने त्यसरी सर्च गरिरहनुपर्ने झन्झटको अन्त्य भएको छ । गूगलले क्रोम ब्राउजरमा देखिएका त्यस्ता साना र झन्झटिला समस्याहरुको समधान गरेको छ ।

अब एक क्लिकमा तपाईंले जुनसुकै ट्यावमा बजिरहेको युट्युवलाई बन्द गर्न सक्नु हुनेछ । यो सुविधा गूगलले भर्खरै सार्वजनिक गरेको नयाँ डेक्सटप भर्सनमा उपलब्ध भएको छ । यदि यो अप्सन तपाईंको गूगल क्रोममा उपलब्ध छैन भने तपाईंले सुरुमा आफ्नो गूगल क्रोमलाई अपडेट गर्नु पर्ने हुन्छ ।

त्यसका लागि सुरुमा गूगल क्रोम खोल्नुहोस् र त्यसको दायाँपट्टी माथि रहेको तीन वटा थोप्लोले बनेको ट्यावमा क्लिक गर्नुहोस् । त्यहाँ ‘हेल्प’ अप्सनमा माउस पुर्‍याउँदा तपाईंले ‘अबाउट गूगल क्रोम’ भन्ने अप्सन देख्नुहुनेछ ।

त्यहाँ क्लिक गर्दा यदि गूगल क्रोम अपडेट भएको छैन भने तपाईंलाई अपडेटको अप्सन दिइएको हुन्छ । अपडेट छ भने ‘अप टु डेट’ उल्लेख गरिएको हुन्छ । यदि अप टु डेट लेखिएको छ भने तपाईंले गूगलको नयाँ सुविधा प्रयोग गर्न सक्नुहुनेछ ।

त्यसको लागि गूगल क्रोममा युट्युव अथवा ‘स्पोटिफाइ वेव प्लेयर’ खोल्नुहोस र आफूले सुन्न चाहेको गीत बजाउनुहोस् । क्रोमको दायाँ भागको माथि टुलबारमा तपाईंले ‘म्युजिक नोट’ देख्नुहुन्छ । म्युजिक नोटमा क्लिक गर्दा एउटा बक्स खुल्नेछ । जुन मोबाइलमा म्युजिक प्लेयरबाट गीत बजाउँदा जस्तै देखिन्छ ।

यदि तपाईंले एउटा भन्दा बढी भिडियो चलाइरहनु भएको छ भने, जतिवटा भिडियो चलेको छ त्यति ओटै बक्स खुल्नेछ ।

त्यसमध्ये चाहेको गीत छानेर बन्द गर्न सक्नुहुनेछ । त्यही ट्यावमा तपाईंलाई गीत फरवार्ड गर्ने र रिवाइन्ड गर्ने सुविधा पनि उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१