close

अब एनसेलको रिचार्जमा १२० प्रतिशत बोनस !

टेकपाना टेकपाना

चैत १३, २०७६ २२:३२

अब एनसेलको रिचार्जमा १२० प्रतिशत बोनस !

काठमाण्डौं । एनसेलका सबै ग्राहकले अब रिचार्जमा १२० प्रतिशत बोनस पाउने भएका छन् । बुधबार ५० प्रतिशत बोनस सहितको प्याकेज ल्याएको कम्पनीले बिहीबारदेखि हरेक रिचार्जमा भारी बोनस दिने गरी नयाँ योजना ल्याएको हो ।

कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै किसिमको कठिनाई हुन नदिन बोनस रकम वृद्धि गरिएको कम्पनीले जनाएको छ ।

बिहीबार साँझ जारी गरिएको विज्ञप्तिमा एनसेलले भनेको छ, ‘यस संकटको अवस्थामा एनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिवद्ध छ ।’

टेलिकमले शतप्रतिशत बोनस दिँदा एनसेलले आधा मात्रै दिएको समाचार टेकपानाले बुधबार प्रकाशित गरेको थियो । यसैगरी बोनस रकम सोही दिनभीत्र प्रयोग गरिसक्नुपर्ने गरी एनसेलले ल्याएको बोनस सुविधा ठगी भएका नियामक दूरसञ्चार प्राधिकरणको टिप्पणी सहितको अर्को समाचार समेत प्रकाशित भएको थियो ।

एनसेलले बोनस अवधि समेत बढाएर ३ दिनसम्म प्रयोग गर्न मिल्ने बनाएको छ । कम्पनीका ग्राहकले रिचार्ज वापत प्राप्त बोनस रकमबाट एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् ।

रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुने कम्पनीले जनाएको छ । एनसेलको बोनस योजना अन्तर्गत कम्पनीका ग्राहकले ५० देखि १००० रुपैयाँसम्मको रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् ।

उदाहरणका लागि यो योजना अन्तर्गत ५० रुपैयाँको रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६० रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । त्यस्तै ५०० रुपैयाँको रिचार्जमा ६०० रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

विपद्को परिस्थितिलाई मध्यनजर गदै कम्पनीले निःशूल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जीबीको स्टे होम प्याक र २०० रुपैयाँसम्म एनसेल सापटी लिन सकिने व्यवस्था बुधबारदेखि नै कार्यान्वयनमा ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६