close

जूमको विकल्प खोज्दै भारत, नयाँ एप निर्माण गर्नेलाई डेढ करोड बढी सहयोग

टेकपाना टेकपाना

बैशाख ५, २०७७ १०:२१

जूमको विकल्प खोज्दै भारत, नयाँ एप निर्माण गर्नेलाई डेढ करोड बढी सहयोग

काठमाडौं । भारतको गृह मन्त्रालयले जूम भिडियो कन्फ्रेन्सिङ एप प्रयोगको लागि सुरक्षित नरहेको सूचना जारी गरेसँगै स्थानीय प्रविधि कम्पनीलाई भिडियो कन्फ्रेन्सिङ एप बनाउन आग्रह समेत गरेको छ । सरकारले ‘इन्नोभेसन च्यालेन्ज फर डेभलपमेन्ट अफ भिडियो कन्फ्रेन्सिङ सोलुशन’ नामक फण्ड नै सञ्चालनमा ल्याएको छ ।

उक्त फण्ड एक लाख ३० हजार अमेरिकी डलर अर्थात एक करोड ६० लाख रुपैयाँ हाराहारीको रहेको छ । जूम सुरक्षित नरहेको भन्दै आफ्नो भर्चुअल मिटिङलाई सुरक्षित बनाउन आग्रह गर्दै भारत सरकारले इन्क्रिप्टेड सिस्टम सहितको भिडियो कन्फ्रेन्सिङ एप बनाउन स्थानीय प्रविधि टेक कम्पनीलाई आग्रह गरेको हो ।

उक्त फण्डमा सहभागी हुन यही अप्रिल ३० सम्मको अवधि तोकिएको छ । एप स्लो नेट, सस्तो डिभाइस, धेरै भाषामा छनोट गर्न मिल्ने हुनुपर्ने शर्त राखिएको छ ।

भारतको गृह मन्त्रालयले जारी गरेएको सूचनामा प्रयोगमा प्रतिबन्ध लगाउने विषय भने स्पष्ट उल्लेख छैन । उसले जारी सूचनामा भनेको छ, ‘प्रयोगकर्ताको डाटा लिक भएका छन् । त्यसैले जूमबाट भर्चुअल मिटिङ गर्दा बिचार पुर्‍याउन आवश्यक छ । हालको अवस्थामा अर्को विकल्प नभएकाले जूम कन्फ्रेन्समा जसलाई पायो, त्यसलाई जोड्नु हुँदैन ।’

पछिल्लो समय सुरक्षा सम्बन्धी विषयलाई लिएर जूम विवादित बनिरहेको छ । यसअघि अमेरिकाको माथिल्लो सदनले आफ्ना सदस्य र त्यहाँ कार्यरत कर्मचारीलाई जूम प्रयोग नगर्न आग्रह गरेको थियो । जर्मनको परराष्ट्र मन्त्रालयले त झन् उर्दी जारी गरेरै जूम प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ ।

हालसम्म जूम प्रयोगमा प्रतिबन्ध लगाउनेमा गूगल, ताइवानी सरकार, अस्ट्रेलियन सरकार, स्पेस एक्स, न्युयोर्क स्टेट एरिया स्कूल समेत रहेका छन् । कोरोनाभाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएसँगै पछिल्लो समय जूमको प्रयोगमा भारी वृद्धि भइरहेको छ ।

यद्यपी सुरक्षा समस्या देखा परेसँगै यसको प्रयोगमा ठूलो गिरावट आइरहेको दाबी गरिँदै आएको छ । आलोचनाबाट बच्न जूमले एकपछि अर्को सुरक्षा अपडेट समेत सार्वजनिक गरिरहेको छ ।

-एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४