close

डिजिटल भुक्तानीलाई थप सरल र सहज बनाइँदै

टेकपाना टेकपाना

बैशाख २०, २०७७ १८:४९

डिजिटल भुक्तानीलाई थप सरल र सहज बनाइँदै

काठमाडौं । सरकारले डिजिटल भुक्तानीलाई थप सरल र सहज बनाउने काम गरिरहेको प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीले बताएका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा शनिबार आयोजित अनलाइन सेमिनारमा डिजिटल भुक्तानी प्रणालीको सकारात्मक तथा नकारात्मक पक्षको विषयमा चर्चा गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

सेमिनारमा सहभागी सबै सरोकारवाला तथा विज्ञहरुले डिजिटल भुक्तानीमा विशेष जोड दिएका थिए । राष्ट्र बैंकका निर्देशक सुवास घिमिरेले नेपालमा डिजिटल पेमेण्टको विकास र प्रवर्द्धनलाई केन्द्रीय बैंकले प्राथमिकता दिएको बताए । नियामक निकायले प्रविधिको विकास र व्यवसाय सञ्चालनका लागि वातावरण निर्माण गर्ने तथा मूल्य तोक्ने कार्य बजारलाई छाडिदिनु पर्ने धारणा उनले व्यक्त गरेका थिए ।

तर डिजिटल पेमेण्टको कारोबार गर्ने अनुमतिप्राप्त संस्थाले प्रणालीमा खराबी आउन नदिन विशेष ध्यान दिनु पर्नेमा उनको जोड रहेको थियो । उनका अनुसार नगदराहीत भुक्तानी प्रणालीमा खराबी आएको खण्डमा वित्तीय स्थायित्वमै असर पर्न सक्छ ।

कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिले विश्व डिजिटलाइजेशनमा गइरहेको भन्दै नेपालमा पनि तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा अगाडी बढ्नु पर्ने उल्लेख गरे । नेपालजस्तो भौगोलिक बनावटले बनेको देशको समृद्धिको एकमात्र विकल्प सूचना प्रविधि नै रहेको उनको भनाइ थियो ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले नगदरहीत प्रणाली स्थापना गर्न एनएचसीएलले विशेष योगदान दिइरहेको उल्लेख गरेका थिए । बैंकर एसोसियसन नेपालका आईसीटी कमिटिका अध्यक्ष नारायण प्रकाश भुजुले नगदरहीत प्रविधिको विस्तारका लागि स्थानीय तहसम्म प्रवर्द्धन र क्षमता विकासका कार्य गर्नु पर्ने सुझाव दिए ।

महासंघका अध्यक्ष नवराज कुँवरले कोरोनाभाइरसका कारण सिर्जित विशेष परिस्थितिमा व्यवसायी तथा सरोकारवालाहरुले सञ्चार तथा सूचनासम्बन्धी नवीन प्रविधिको प्रयोग र प्रवर्द्धन गर्ने बारेमा विशेष पहल गर्नु पर्ने बताए ।

प्रभातफेरी, प्रदर्शनी, रक्तदान, सम्मेलन तथा गोष्ठी र चेतनामूलक कार्यक्रमलगायत गतिविधिहरुको आयोजना गरी मनाइदै आएको आईसीटी डे यस पटक भने विभिन्न डिजिटल कार्यक्रमहरुका साथ मनाउन लागिएको महासंघका महासचिव नारायण थापाले जानकारी दिए ।

करीब ८ सय जना सहभागी अनलाइन सेमिनार कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, सूचना विभागका निर्देशक प्रेमशरण श्रेष्ठ, क्यान युएसएका अध्यक्ष विद्या सुवेदी, संस्थापक अध्यक्ष विमलकुमार शर्माले दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

महासंघले ‘गो डिजिटल–गो क्यासलेस’ नाराका साथ साताब्यापी रुपमा अनलाइन सम्मेलन तथा गोष्ठीहरुको आयोजना गरेर आईसीटी डे मनाउने योजना बनाएको छ । जसमा डिजिटल लर्निङ, अनलाइन कार्य, अनलाइन सुरक्षा र ई–हेल्थ जस्ता विषयमा छलफल तथा अन्तरक्रिया आयोजना हुनेछन् ।

अनलाइन सेमिनारको सञ्चालन नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले गरेका थिए । क्यान महासंघले एक दशकदेखि आईसीटी डे मनाउँदै आएकोमा सन् २०१७ मा सरकारले यसलाई आधिकारिक दिवसको रुपमा मान्यता दिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३