नेपालमा सूचना तथा सञ्चार क्षेत्रको बजार २ खर्बको, वार्षिक नाफामात्रै ४५ अर्ब
बैशाख २५, २०७७ ११:३०
काठमाडौं । नेपालको सूचना तथा सञ्चार क्षेत्रको वार्षिक बजार करिब दुई खर्ब रुपैयाँको रहेको पाइएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को अन्तिम तथ्यांकअनुसार वर्षभर सूचना तथा सञ्चार क्षेत्रको व्यापार एक खर्ब ९४ अर्ब ४ करोड रुपैयाँको देखिएको हो ।
यस क्षेत्रबाट बार्षिक एक खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ खर्च हुने तथ्यांकले देखाएको छ । बार्षिक नाफा भने ४५ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
| मूल्य(रु.दश लाखमा) | |
| बार्षिक व्यापार | १९४०४४ |
| बार्षिक खर्च | १४८६३८ |
| नाफा/घाटा | ४५४०६ |
आर्थिक गणनाको क्रममा यस क्षेत्रका दुई हजार २ सय ८५ वटा संस्था समेटिएका थिए । हरेक संस्थाको औषत व्यापार वार्षिक ८ करोड ४९ लाख रुपैयाँ हुने गरेको पाइएको छ । त्यस्तै प्रति संस्थाले ६ करोड ५० लाख रुपैयाँ वार्षिक रुपमा खर्च गर्ने तथ्यांकले देखाउँछ । यस हिसाबले प्रति संस्थाको नाफा वार्षिक एक करोड ९८ लाख हुने पाइएको छ ।
प्रति एकाई विवरण
| कुल संस्था संख्या | २२८५ |
| प्रति एकाई व्यापार | ८४९२१ (मूल्य रु. हजारमा) |
| प्रति एकाई खर्च | ६५०४९ (मूल्य रु. हजारमा) |
| प्रति एकाई नाफा/घाटा | १९८७१ (मूल्य रु. हजारमा) |
मासिक रुपमा हेर्दा यो क्षेत्रको व्यापार १६ अर्ब १७ करोड रुपैयाँ हुने गरेको देखिन्छ । खर्च भने १२ अर्ब ३८ करोड रुपैयाँ हुने आर्थिक गणनाले देखाएको छ । मासिक नाफामात्रै तीन अर्ब ७८ करोड रुपैयाँ हुने पाइएको छ ।
मासिक बिक्री, खर्च, नाफा/घाटा
| मासिक बिक्री | १६१७० (मूल्य रु.दश लाखमा) |
| मासिक खर्च | १२३८६ (मूल्य रु.दश लाखमा) |
| मासिक नाफा/घाटा | ३७८४ (मूल्य रु.दश लाखमा) |
गणनाले समेटेका दुई हजार २ सय २५ संस्थामध्ये एक हजार ९ सय ९० संस्था दर्ता भएर सञ्चालनमा छन् । दर्ता संस्थाको बार्षिक बजार एक खर्ब ९२ अर्ब रुपैयाँको छ । त्यस्तै बार्षिक खर्च एक खर्ब ४७ अर्ब र नाफा ४५ अर्ब २२ करोड रुपैयाँ छ ।
मासिक हिसाब गर्दा दर्ता भएका यस क्षेत्रका कम्पनीको व्यापार १६ अर्ब रुपैयाँको छ । खर्च मात्रै १२ अर्ब ३० करोड रुपैयाँ छ । यस हिसाबले मासिक नाफा तीन अर्ब ७६ करोड रुपैयाँ हुने देखिएको छ ।
मासिक बिक्रि, खर्च, नाफा/घाटा
| मासिक बिक्रि | १६०७३ (मूल्य रु. दश लाखमा) |
| मासिक खर्च | १२३०५ (मूल्य रु. दश लाखमा) |
| मासिक नाफा/घाटा | ३७६८ (मूल्य रु. दश लाखमा) |
प्रति एकाई विवरण
| कुल संस्था संख्या | १९९० |
| प्रति एकाई बिक्री | ९६९२४ (मूल्य रु. हजारमा) |
| प्रति एकाई खर्च | ७४२०० (मूल्य रु. हजारमा) |
| प्रति एकाई नाफा/घाटा | २२७२५ (मूल्य रु. हजारमा) |
आर्थिक गणनाले सूचना तथा सञ्चार क्षेत्र अन्तर्गत दूरसञ्चार र सूचना प्रविधिसँग सम्बन्धित गतिविधि, सफ्टवेयर निर्माण, चलचित्र, प्रसारण र प्रकाशन संस्था र सूचना सेवासँग सम्बन्धित गतिविधिमा संलग्न संस्थालाई समेटेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
