close

विकासशील देशमा निःशूल्क डेटा दिँदै फेसबुक, नेपालमा पनि आउला ?

टेकपाना टेकपाना

बैशाख २६, २०७७ १३:५०

विकासशील देशमा निःशूल्क डेटा दिँदै फेसबुक, नेपालमा पनि आउला ?

काठमाडौं । फेसुबकले  विकासशील मुलुकहरुमा इन्टरनेट पहुँच विस्तार गर्ने नयाँ एपमाथि परीक्षण गरिरहेको छ । डिस्कभर नामक उक्त एपले विभिन्न मोबाइल साझेदारमार्फत प्रयोगकर्ताहरुलाई फ्री ब्राउजिङ डेटा उपलब्ध गराउनेछ । 

फेसबुकले यसको पहिलो परीक्षण पेरुमा गर्दैछ । कम्पनीले यो एपलाई आगामी दिनमा थाइल्याण्ड, फिलिपिन्स र इराकमा पनि सार्वजनिक गर्ने बताएको छ । तर, नेपाल लगायतका अन्य विकासशील मुलुकमा विस्तारको विषय भने अझै स्पष्ट भइसकेको छैन ।

डिस्कभर एपमार्फत प्रयोगकर्ताहरुले मोबाइल सेवाप्रदायकबाट दैनिक रुपमा निःशूल्क डेटा पाउन सक्ने छन् । यस्तो निःशूल्क डेटा प्राप्त हुँदा नोटिफिकेसन पनि पाउने बताइएको छ । 

तर डिस्कभरले लो ब्याण्डविथ ब्राउजिङ डेटा मात्र उपलब्ध गराउनेछ । उक्त डेटाबाट प्रयोगकर्ताहरुले भिडियो, अडियो र अन्य डेटा लाभका सामाग्रीहरु हेर्न पाउने छैनन् । यसबाट टेक्स्ट मात्र सम्भव हुनेछ । यदि तपाईं भिडियो स्ट्रिमिङ गर्न चाहनुहुन्छ भने तपाईंले थप डेटा खरिद गर्नुपर्ने हुन्छ ।

डिस्कभर प्रयोग गर्न तपाईंले फेसबुक प्रयोग गरिरहनुपर्ने छैन । साथै फेसबुकको यो एपले आफूसँग सम्बन्धित प्रयोगकर्ताहरुको ब्राउजिङ हिस्ट्रीहरु संकलन नगर्ने समेत बताएको छ । साथै फेसबुक विज्ञापन लक्षित गरेर प्रयोगकर्ताको गतिविधिहरुको पनि रेकर्ड यसले राख्ने छैन । 

डिस्कभरले पनि फेसबुक कम्पनीकै पुराना दुई निःशूल्क अग्रसरताको नक्कल गरेको देखिन्छ । उक्त इनिसिएटिभ्समा फेसबुकले कमजोर कनेक्टिभिटी भएको क्षेत्रमा फेसबुक पहुँचका लागि इन्टरनेट एक्सेस उपलब्ध गराउने लक्ष्य लिएको थियो । 

उक्त इनिसिएटिभ्समा सहभागी ब्राण्डका फोन प्रयोगकर्ताहरुले डेटाको लागि भुक्तानी नगरी केही निश्चित वेबसाइट जस्तै बीबीसी न्युज, विकिपेडिया, बिङ र फेसबुक तथा म्यासेन्जरहरु चलाउन सक्थे । तर फेसबुकको यस किसिमको स्किमलाई भारतमा भने २०१६ मा प्रतिबन्ध लगाइएको थियो । 

भारतको दूरसञ्चार प्राधिकरणले त्यस्ता कार्यक्रमहरुका कारण एउटा इन्टरनेट सेवाले अर्कोलाई विस्थापित गर्ने भन्दै त्यसले नेट न्युट्रलिटीको सिद्धान्तलाई उल्लं‌घन गर्ने बताएको थियो । तर डिस्कभर भने केही फरक अवधारणामा बनेको छ । यसले कुनै पनि वेबसाइटबीच भेदभाव गर्नेछैन । 

डिस्कभर एपमा पहुँच प्राप्त गर्नका लागि प्रयोगकर्तासँग साँझेदार सेवाप्रदायकको सिम हुन आवश्यक छ । उक्त एप एन्ड्रोइडबाट डाउनलोड गर्न सकिनेछ । यसका सार्वजनिकिकरण साझेदारमा बिटेल, क्लारो, इन्टेल र मुभिस्टार रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१