एजेन्सी । फेसबुकले साना व्यवसायको सहयोगका लागि नयाँ फिचर ल्याएको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारीसँग जुधिरहेका व्यवसायको अपडेट दिने र प्रयोगकर्ताबाट त्यस्ता व्यवसायप्रति सहयोग तथा समर्थन जुटाउने उद्देश्यका साथ फेसबुकले त्यस्तो फिचर ल्याएको जनाएको छ ।
फेसबुकले ल्याएको यो नयाँ फिचरको नाम ‘बिजनेस नियरबाई’ हो । उक्त नयाँ फिचरबाट तपाईले आफ्नो क्षेत्रदेखि पाँच सयमाइल भित्रका सम्पूर्ण व्यावसायिक संस्थाको पछिल्ला पोष्ट हेर्न सक्नुहुन्छ । साथै पिकअप डेलिभरी अप्सन, बुकिङका लागि म्यासेज पठाउनेजस्ता सुविधाको प्रयोग गर्न सकिन्छ ।
फेसबुकले ब्लक पोस्ट मार्फत उपलब्ध गराएको यो फिचरबाट प्रयोगकर्ताले आवश्यक बस्तु तथा सेवाहरु छिटै फेला पार्न सक्छन् । भर्चुअल ट्राफिक मार्फत ती व्यवसायको सञ्चालनमा मद्दत पुर्याउने पनि फेसबुकले जनाएको छ ।
यदि तपाई त्यस्ता साना व्यवसायका लागि सहयोगी भावना देखाउन चाहनुहुन्छ भने तपाई इन्स्टाग्राममा नयाँ ‘सपोर्ट स्मल विजनेस’ स्टिकर प्रयोग गर्न सक्नुहुन्छ । अथवा फेसबुकमा ह्यासट्याग सपोर्ट स्मल विजनेस पोस्ट गर्न सक्नुहुन्छ । फेसबुकमा कुनै पनि साना व्यवसायको समर्थनमा पोस्ट ट्याग गरेर समर्थन पनि गर्न सक्नुहुन्छ ।
फेसबुकले म्यासेन्जरमा एउटा डेडिकेटेड विजनेस इनबक्स एड गरेर त्यस्ता व्यवसायलाई ग्राहकसँग कुराकानी गर्न सहज बनाएको छ । त्यस्ता व्यवसायिक संस्थाको फेसबुक पेजमा आएका प्रश्नलाई उनीहरुले उक्त डेडिकेटेड म्यासेज बक्सबाट उत्तर दिन सक्नेछन् । साथै ती व्यावसायिक संस्थाहरुले कोभिड १९ सम्बन्धि पोस्टहरु फेसबुकको कम्पोजर पेजबाट पनि ट्याग गर्न सक्नेछन् ।
फेसबुकले साना व्यवसायको सहयोगका लागि फेसबुक तथा इन्स्टाग्राम एपमा कोभिड १९ सम्बन्धि जानकारी, टूल्स र टिप्सहरु पनि पोस्ट गर्ने बताएको छ । व्यवसायिक संस्थाले फेसबुक एप सर्टकट वा इन्स्टाग्राम बिजनेस प्रोफाइलबाट त्यस्ता जानकारीहरु हासिल गर्नसक्छन् ।
फेसबुकले गत मार्चमा साना व्यवसायका लागि १० करोड डलरको सहयोग रकम ल्याउने घोषणा गरेको थियो । साथै कम्पनीले एबिलिटी टु शेयर टेम्पोररी सर्भिस चेन्जको नयाँ फिचर पनि ल्याउने घोषणा गरेको थियो ।