close

ज्याक मालाई पछिपार्दै टेन्सेन्टका सीईओ हुवाटेङ बने चीनकै धनी

टेकपाना टेकपाना

जेठ ५, २०७७ १५:३७

ज्याक मालाई पछिपार्दै टेन्सेन्टका सीईओ हुवाटेङ बने चीनकै धनी

काठमाडौं । कोरोनाभाइरसको महामारी बीच चिनियाँ धनाढ्यहरुको अनुक्रममा एउटा अनपेक्षित परिवर्तन आएको छ । चीनका धनाढ्य अलिबाबा कम्पनीका पूर्व सीईओ ज्याक मालाई पछि पार्दै टेन्सेन्ट कम्पनीका संस्थापक तथा सीईओ मा हुवाटेङ अग्रस्थानमा आएका छन् । 

कोरोनाभाइरस र लकडाउनका कारण टेन्सेन्टले विकास गरेको इन्टरनेट गेमको माग र शेयर मूल्य १४ प्रतिशतले बढेको छ । यो वृद्धि दुई वर्षयताकै ठूलो हो । 

टेन्सेन्टका ती गेमहरु ‘पिसकिपर इलाइट’ र ‘अनर अफ किङ्स’ हुन् । गत बिहीबार मा हुवाटेङको सम्पत्ति ३८ अर्ब १० करोड डलरबाट बढेर ४८ अर्ब २० करोड पुगेको छ । फोर्ब्सले गत मार्च १८ मा विश्वका धनाढ्य व्यक्तिहरुको सूची प्रकाशित गरेको थियो  । 

यसबीच ज्याक माको सम्पत्ति भने ३८ अर्ब ८० करोड डलरबाट बढेर ४१ अर्ब २० करोड डलर पुगेको  छ । दुई महिनाअघि अर्थात गत मार्चमा उनको सम्पत्ति  ४४ अर्ब ५० करोड डलर रहेको थियो । 

वर्षको पहिलो चौमासिकमा कम्पनीले राम्रो प्रदर्शन गरेको रिपोर्ट सार्वजनिक भएपछि बिहीबार टेन्सेन्ट कम्पनीको प्रति शेयर मूल्य ३.५ प्रतिशतले बढेको थियो । विश्वका अन्य गेमिङ तथा इन्टरनेट कम्पनीजस्तै गत जनवरीदेखि मार्च महिनाको बीचमा टेन्सेन्ट कम्पनीको गेमिङ सेवाको माग पनि बढेको थियो ।

तर कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएसँगै चीनमा लकडाउन खुकुलो भएको छ । जसले टेन्सेन्ट कम्पनीको सेवा मागमा पनि अनिश्चितता छाउने आँकलन गरिएको छ । कम्पनीको यो प्रगति लामोसमयसम्म टिक्ने सम्भावना भने देखिँदैन । 

चीनको व्यापक आर्थिक मन्दी र खुम्चिएको उपभोगबीच टेन्सेन्टले भने बजारको अपेक्षालाई पनि पछाडि पार्दै उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीको गेमिङ विजनेसको आम्दानी ३१ प्रतिशतले बढेको छ ।

चालु वर्षको पहिलो चाैमासिकमा गेमिङ विजनेस कम्पनीको सबैभन्दा ठूलो आम्दानीको स्रोत बनेको छ । यो पहिलो चाैमासिकमा टेन्सेन्टको आम्दानी २६ प्रतिशतले बढेर १०८.१ अर्ब युआन अर्थात १५ अर्ब डलर पुगेको थियो । तर विश्लेषकहरुले यो वृद्धि अल्पकालीन भएको बताएका छन् ।

लकडाउन समाप्त भएसँगै विद्यालय र स्कूलहरु खुल्न थालेपछि गेममा मानिसहरुले कम समय बिताउने छन् । यो लामो आर्थिक मन्दीबीच चीनको कूल ग्रार्हस्थ उत्पादन ६.८ प्रतिशतले खुम्चिएको छ । यसले गर्दा उपभोक्ताहरुको क्रय शक्ति पनि कमजोर भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३