close

प्रभु बैंक अब नयाँ सफ्टवेयरमा, सबै ग्राहकको खाता नम्बरसमेत फेरियो

टेकपाना टेकपाना

जेठ १८, २०७७ १९:८

प्रभु बैंक अब नयाँ सफ्टवेयरमा, सबै ग्राहकको खाता नम्बरसमेत फेरियो

काठमाडौं । प्रभु बैंकले आफ्नो बैंकिङ सफ्टवेयर प्रतिस्थापन गरेको छ । बैंकले भर्खरै आफ्नो कोर बैंकिङ सफ्टवेयर सिस्टम नै स्थानान्तरण गरेको हो ।

बैंकिङ सफ्टवेयर नयाँ राखिएसँगै बैंकमा रहेका सबै खाता नम्बरहरु समेत परिवर्तन भएको जनाइएको छ । जसका कारण अब प्रभु बैंकमा रहेका सबै खाताबाहकहरुले नयाँ खाता नम्बर लिनुपर्ने भएको छ ।

त्यसका लागि नजिकैको शाखामा सम्पर्क राख्न बेंकले अनुरोध गरेको छ । बैंककी आईटी प्रमुख रत्नतारा वैद्यले शुक्रबार र शनिबार गरी दुई दिनमा बैंकको सफ्टवेयर माइग्रेसनको काम सम्पन्न भएको जानकारी दिइन् ।

‘नयाँ सफ्टवेयर आइतबारदेखि सञ्चालनमा आइसकेको छ,’ उनले भनिन्, ‘यस अघि हामीले पुमरी प्रयोग गर्दै आएकोमा अब भने फिनाकलमा सिफ्ट भएका छौं । पुरानो सफ्टवेयरमा नयाँ प्रडक्टका लागि सीमितता महशुस भएपछि नयाँमा सिफ्ट गर्नु परेको हो । नयाँ सिस्टम थप सुरक्षित समेत छ ।’

फिनाकल भारतीय कम्पनी इन्डियन कर्पोरेसन इन्फोसिसले बनाएको कोर बैंकिङ सफ्टवेयर हो । जसले युनिभर्सल डिजिटल बैंकिङ सोलुसनहरु उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय एजभर्भ सिस्टम लिमिटेडको अंगको रुपमा रहेको फिनाकलको सम्पूर्ण स्वामित्व भने इन्फोसिसमै रहेको छ ।

नयाँ सफ्टवेयरकै कारण खाता नम्बर परिवर्तन गर्नुपरेको वैद्यको भनाई छ । यस अघि २० अंकको रहेको खाता नम्बर अब भने १६ अंकको मात्रै हुनेछ । सबै ग्राहको खाता नम्बर समेत परिवर्तन भइसकेको वैद्यले जानकारी दिइन् ।

‘अब कार्ड र चेकमा पनि नयाँ खाता नम्बर प्रयोग गर्न सुरु भएको छ,’ उनले भनिन्, ‘तर पुराना चेकहरु नचल्ने भन्ने चाहिँ होइन ।’

नयाँ खाता नम्बर नलिएसम्म बैंकिङ कारोबार रोकिने अवस्था नरहेको बैंकले जनाएको छ । यद्यपी खातामा रकम जम्मा गर्नका लागि भने नयाँ खाता नम्बर अनिवार्य हुनेछ ।

आईटी प्रमुख वैद्यका अनुसार एसएमएस तथा अनलाइनबाट ग्राहकलाई परिवर्तन भएको खाता उपलब्ध गराउने योजना समेत रहेको छ । ‘अहिलेलाई कुनै पनि बैंक शाखाबाट नयाँ खाताको जानकारी लिन सकिनेछ,’ उनले भनिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१