close

सीमा अतिक्रमण र एमसीसी विरुद्धको आन्दोलनमा रोबोट र ड्रोन

टेकपाना टेकपाना

जेठ २०, २०७७ २२:१२

सीमा अतिक्रमण र एमसीसी विरुद्धको आन्दोलनमा रोबोट र ड्रोन

काठमाडौं । लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा भारतले गरेको नेपाली सीमाको अतिक्रमण र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरोधी आन्दोलनमा रोबोट र ड्रोनको प्रयोग भएको छ । स्वतस्फुर्त सामाजिक सञ्जालमा जोडिएका युवाहरुको समूहले विरोधको नयाँ शैली अपनाएको हो । 

मंगलबार चितवनको भरतपुरमा आयोजित विरोध कार्यक्रममा रोबोट नेपालको नयाँ नक्सा बोकेर जुलुसमा हिँड्यो । सँगसँगै माथि आकाशमा ड्रोनले नेपाली झण्डा फहराइरहेको थियो ।

उक्त रोबोट पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत भरतपुरका युवा पवन पौडेलले तयार पारेका थिए । विरोध प्रदर्शनमा प्रयोग भएको ड्रोन भने प्रोफेसनल नै थियो ।  

कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै क्लेम द बोर्डर नामक फेसबुकमा आवद्ध युवाहरुको समूहमा आवद्ध पौडेलले गम्भीर राष्ट्रिय मुद्दामा सबैको ध्यानआकर्षण गराउने उद्देश्यका साथ विरोधको नयाँ शैली अपनाइएको बताए ।  

सीमा अतिक्रमण र एमसीसी विरुद्ध खबरदारी स्वरुप बुधबार पोखराको चिप्ले ढुङ्गामा आयोजना हुने विरोध कार्यक्रममा समेत रोबर्ट र ड्रोनको प्रयोग गरिने पोखरा संयोजक गोविन्द आचार्यले जानकारी दिए । 

युट्युव भिडियो

सीमा विवादको बिषयमा युवाहरुलाई सुसूचित गर्ने उद्देश्यका साथ ‘क्लेम द बोर्डर बोर्डर’ नामक फेसबुक ग्रुप नै तयार गरिएको छ । छोटो समयमै उक्त फेसबुक ग्रुपमा ५० हजारभन्दा बढी आवद्ध भइसकेका छन् ।

जसमा सीमा विज्ञ लगायतकाे सहभागीतामा विभिन्न अनलाइन सेमिनार लगायतका कार्यक्रम हुँदै आएका छन् । भैरव रिसाल, पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, द्वारिकानाथ ढुङ्गेल लगायत व्यक्तिहरु समेत उक्त कार्यक्रममा सहभागी भइसकेका छन् । 

सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटिएको नयाँ  नक्सा जारी गरेसँगै यो अभियानले आफ्नो कार्यक्रमको स्वरुपमा केही परिवर्तन गरेको छ । पछिल्लो समय उक्त फेसबुक ग्रुपले सीमासँगै एमसीसीको विरोधमा समेत आवाज उठाउन थालेको छ । 

उक्त फेसबुक ग्रुपले सुरु गरेको एमसीसी सम्वादमा नेता लिलामणि पोख्रेल, झलनाथ खनाल, विश्लेषक युग पाठक, गोविन्दराज पोखरेल लगायतले भाग लिइसकेका छन् । 

स्वत: स्फुर्त रूपमा तयार भएको यो समूहले आफूलाई गैर-राजनैतिक युवाहरु सङगठन बताउँदै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१