close

ई–सेवा विरुद्ध गेमर, अकाउण्ट ब्लक गरेपछि प्लेस्टोरको रेटिङ डाउन

टेकपाना टेकपाना

जेठ २५, २०७७ १५:१४

ई–सेवा विरुद्ध गेमर, अकाउण्ट ब्लक गरेपछि प्लेस्टोरको रेटिङ डाउन

काठमाडौं । पछिल्लो समय गूगल प्ले स्टोरमा ‘वान स्टार’ रेटिङ कुनै कम्पनी अथवा एप विरुद्ध लड्ने हतियार जस्तै बनेको छ । सामुहिक रुपमा कम्पनीको एपलाई ‘वान स्टार’ रेटिङ दिएर प्ले स्टोरको रेटिङ घटाउने क्रम पछिल्लो समय प्रचलन जस्तै बनिरहेको छ ।

जसको एउटा ज्वलन्त अनि ताजा उदाहरण टिकटक हो । भारतमा चलेको ‘युट्युव भर्सेस टिकटक’ तनावका कारण केही समय अघी प्लेस्टोरमा टिकटकको रेटिङमा ठूलो क्षति पुगेको थियो ।

प्ले स्टोरमा सुरुमा ४.५ रेटिङ रहेको टिकटक विरुद्ध लाखौं भारतीयले ‘वान स्टार’ रेटिङ दिए । जसका कारण प्ले स्टोरमा टिकटकको रेटिङ १.२ मा झर्न पुग्यो ।

तर, पछि गूगलले टिकटकलाई दिइएको त्यस्ता नेगेटिभ अर्थात ‘वान स्टार’ रेटिङलाई प्ले स्टोरबाटै हटायो । टिकटकको रेटिङ अहिले आएर ४.४मा पुगेको छ ।

टिकटकमा देखिएको जस्तै ‘वान स्टार’ रेटिङको परिदृष्य अब नेपालमा समेत देखिन थालेको छ । प्लेस्टोरमा शुक्रबारसम्म ४.३ रहेको ई–सेवाको रेटिङ अहिले ३.२ मा झरेको छ ।

ईसेवा फोनपे प्रालिले शुक्रबार कानून विपरीतका अनलाइन खेल, बाजी, बेटिङ तथा अन्य कुनै पनि कार्यमा कसैलाई भुक्तानीको माध्यमको रुपमा ईसेवाको प्रयोग नगर्न सचेत गराउँदै त्यस्ता केही अकाउण्ट ब्लक गरेको थियो ।

त्यस किसिमको क्रियाकलापमा ईसेवा प्रयोग गरेको पाइए सरोकारवाला निकायमा कारबाहीका लागि सिफारिस गर्ने सम्मको चेतावनी कम्पनीले दिएको थियो ।

राष्ट्र बैंकबाट स्वीकृति नलिई नेपालबाट बाहिर पैसा पठाउने कार्य गैरकानूनी मानिँदै आएको छ । ई–सेवाले पनि त्यस्ता कार्यलाई रोक्ने गरी त्यस्तो कदम चालेको थियो ।

तर, गेमर्सहरु भने सांगठनिक रुपमै ई–सेवा विरुद्ध खनिएका छन् । उनीहरुले अहिले आफ्नो समूहमा ई–सेवाको रेटिङ डाउन गर्नेदेखि एप प्रयोग नगर्न सर्कुलर नै जारी गरेका छन् ।

कमेन्टमा कसैले गेमिङ कसरी गैरकानूनी हुनसक्छ भन्दै प्रश्न गरिरहेका छन् भने, कसैले हामीलाई अन्तर्राष्ट्रिय भुक्तानीको माध्यम चाहिन्छ भनिरहेका छन् ।

गेमरहरुले विभिन्न नामबाट गूगल प्ले स्टोरमा ‘वान स्टार’ रेटिङ र नकारात्मक कमेन्ट गर्दा अहिले ई–सेवाको रेटिङ निकै खस्किन पुगेको हो । आइतबारबाट अर्को डिजिटल वालेट कम्पनी खल्तीले समेत ईसेवाले जस्तै गेमर विरुद्धको नीति अपनाउने घोषणा गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०