काठमाडौं । नवीन काम गरेर स्थापित हुन विदेशी डिग्री र थिंक ट्यांक ब्याकफोर्सको आवश्यकता पर्दैन । निरन्तर चुनौतीको सामना, लगनशीलता र केही गर्ने अठोटले एउटा सानो सोचलाई ठूलो वृक्षको रुपमा हुर्काउन सकिन्छ ।
यसैका उदाहरण हो वीरगञ्जका दीपक शाह र र सचिन शाहको युवा जोडी । जसले दश वर्ष अघि वीरगञ्जमा डाइनामिक टेक्नोसफ्ट नामक कम्पनीलाई जन्म दिए ।
दीपक र सचिनको कम्पनीले आज हुलास ग्रुप, दुगड ग्रुप, शारदा ग्रुप, डावर नेपाल, एसियन थाई फूड्स लगायतका नेपालका प्रतिष्ठित व्यवसायीक घरानाहरुलाई समेत सफ्टवेयर सेवा प्रदान गरिरहेको छ ।
हाल डाइनामिकले तयार पारेका विभिन्न सफ्टवेयर सेवाहरु बजारमा उपलब्ध छन् । जसमा आन्तरिक राजस्व विभागबाट प्रमाणपत्र प्राप्त अकाउन्ट सफ्टवेयरदेखि अस्पतालका लागि ईआरपी, एचआरएम अर्थात् मानव संसाधन व्यवस्थापन सफ्टवेयरसम्मका प्रडक्टहरु बजारमा छन् ।
यसबाहेक डाइनामिक टेक्नोसफ्टले कोभिड १९ तथा लकडाउनको समयमा सबैका लागि अत्यावश्यक एकेडेमिक ईआरपी (इन्टरप्राइज रिसोर्स प्लानिङ) पनि उपलब्ध गराउने कार्यलाई समेत तीव्रता दिएको छ । विगत आठ वर्षदेखि कम्पनीले यस किसिमको ईआरपी सेवा सुरु गरेको हो ।
डाइनामिक टेक्नोसफ्टका सह-संस्थापक द्वय दीपक र सचिन
गत वर्षसम्म डेस्कटपमा आधारित यो ईआरपी सेवा अहिले त्यस अलावा मोबाइल एपमा समेत उपलब्ध छ । यो अहिले अनलाइन र अफलाइन दुवैमा चल्न सक्ने भएको छ । डाइनामिकको यो सेवा प्रयोग गर्ने शैक्षिक संस्थाको संख्या अहिले ४५० भन्दा धेरै छ ।
लकडाउनको समयमा डिस्टेन्स लर्निङको अभ्यास चलिरहँदा कम्पनीले यसमा लाइभ क्लासको फिचर पनि थप गरेको छ । यसका लागि कम्पनीले सर्वाधिक प्रयोगमा रहेको जूम एपको एपीआई आफ्नै एपको सफ्टवेयरमा इन्टिग्रेट अर्थात् समावेश गराएको छ ।
जूमको अलावा माईक्रोसफ्टको टिम्स र गूगलको मिटलाई समेत प्रयोग गर्न सकिने डाइनामिकका संस्थापक तथा सीईओ दीपका शाह बताउँछन् ।
डाइनामिकको यो एकेडेमिक ईआरपीले प्राथमिक विद्यालयदेखि विश्वविद्यालयस्तरका शैक्षिक संस्थाका लागि आवश्यक सोलुसन उपलब्ध गराउँदै आएको छ ।
कम्पनीको यो सफ्टवेयरमा १५ वटा मोडल छन् । जसमा एकेडेमिक म्यानेजमेन्ट, होस्टेल म्यानेजमेन्ट, फी म्यानेजमेन्ट, अकाउन्टिङ म्यानेजमेन्ट, इन्भेन्टरी म्यानेजमेन्ट, जीपीएस ट्रयाकिङ म्यानेजमेन्ट र एचआर एण्ड पे रोल म्यानेजमेन्ट रहेका छन् ।
यसैगरी एसेट म्यानेजमेन्ट, इक्जाम म्यानेजमेन्ट, लाइब्रेरी म्यानेजमेन्ट, ट्रान्सपोर्ट म्यानेजमेन्ट, एसएमएस एण्ड ईमेल म्यानेजमेन्ट, अनलाइन हाजीरी, बजेटिङ म्यानेजमेन्ट र युजर मेनेजमेन्ट समेत यसमा समावेश छन् ।
डाइनामिकको यो सफ्टवेयरमा युनिकोड सहित विभिन्न भाषा प्रयोग गर्न सकिन्छ । यसमा बार कोड र क्यूआर कोड सिस्टम पनि राखिएका छन् ।
एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध यो सफ्टवेयरका छुट्टै आकर्षक विशेषताहरु छन् । यसमा मल्टिपल एपीआई सहित पुल तथा पुस एसएमएस सिस्टम र ईमेल अलर्ट सिस्टम छ ।
साथै भुक्तानी सहजताका लागि यसमा विभिन्न भुक्तानी गेट वे पनि समावेश गरिएको छन् । डाइनामिक टेकसफ्टले आफ्ना ग्राहकहरुका लागि अकाउन्टिङ ईआरपीको टेस्टेड इञ्जिन समेत प्रदान गर्नसक्ने जनाएको छ ।
‘हामीसँग आन्तरिक राजस्व विभागबाट प्रमाणपत्र प्राप्त अकाउन्टिङ ईआरपी छ,’ शाह भन्छन्, ‘यो सफ्टवेयरलाई यसअघि नै देशका विभिन्न ठूला कर्पोरेट हाउसहरुले प्रयोग गर्दै आइरहेका छन् । यसको कोर इञ्जिनलाई हामीले शैक्षिक क्षेत्रको सफ्टवेयरमा पनि मिलाएर राखेका छौं ।’
लकडाउनको समयमा डाइनामिकको एकेडेमिक ईआरपी प्रयोग गर्नेहरुको संख्या अझ बढेको दीपक बताउँछन् ।
कम्पनीले लकडाउनको तीन महिना अवधिमा आफ्नो पूर्ण प्याकेज सहितको सफ्टवेयर नै आफ्ना ग्राहकहरुका लागि निःशूल्क रुपमा प्रयोग गर्न दिएको छ । यो अहिले पनि जारी रहेको शाहले बताए ।
डाइनामिक टेक्नोसफ्टको एकेडेमिक ईआरपी खासै महंगा पनि छैन । कम्पनीले यो ईआरपी विद्यालयको पूर्वाधार र संसाधन अनुसार विभिन्न प्याकेज र मूल्यमा उपलब्ध गराउँछ ।
आधारभूत प्याकेजका लागि वार्षिक रुपमा प्रति विद्यार्थी सय रुपैयाँमा कम्पनीले सेवा दिदैँ आईरहेको छ । यो सेवा प्रति विद्यार्थी वार्षिक एक हजार रुपैयाँसम्मको प्याकेजमा समेत उपलब्ध छ ।
दीपक र सचिनसँग राम्रो क्याम्पस तथा विश्वविद्यालयको आईटीको डिग्री त छैन । आफ्नै गाउँठाउँमा तीन वर्षे आईटी कोर्षको डिप्लोमा तहको प्रशिक्षण लिएकै भरमा देशमै केही गरौं भन्ने भावनाले कम्पनी सुरु गरेका थिए ।
सीमित ज्ञानकै भरमा मोफसलबाट सूचना प्रविधिको क्रान्ति थाल्ने विषय चानचुने चुनौती पक्कै होइन । वीरगञ्जबाट उदाएको कम्पनीले अहिले देशको राजधानी काठमाडौंदेखि जापानसम्म शाखा विस्तार गरिसकेको छ ।
आज यी दुई युवाहरुले सयजनाभन्दा धेरैलाई रोजगारी दिएका छन् । कम्पनीलाई अझै विस्तार गरेर नयाँ नयाँ अन्वेषण गर्दै समाजिक रुपान्तरण ल्याउने उनीहरुको प्रयास जारी छ ।