close

धितोपत्र कारोबारमा अनलाइन भुक्तानी अनिवार्य

टेकपाना टेकपाना

असार ३, २०७७ १९:१४

धितोपत्र कारोबारमा अनलाइन भुक्तानी अनिवार्य

काठमाडौं । अब धितोपत्र कारोबारमा अनलाइन भुक्तानी अनिवार्य हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आउँदो साउन १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको हो ।

धितोपत्रको दोस्रो बजार कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको भन्दै बोर्डले प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता समेत औंल्याएको छ । उसले बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गरी हाललाई अनलाइन प्रणालीमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन भनेको छ ।

बोर्डका अनुसार धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा कनेक्ट आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा समेत सोही माध्यम अपनाउनुपर्नेछ ।

नेप्से अनलाइन कारोबार प्रणालीले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको भन्दै बोर्डले लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा तथा खर्च हुने व्यवस्था गर्न समेत भनेको छ ।

उसले निर्देशनमा अगाडि भनेको छ, ‘स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमिसन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुनसक्ने व्यवस्था मिलाउने ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१