close

टेकू अस्पतालका बिरामीलाई रोबोटले नै दिन थाल्यो खाना र औषधी

टेकपाना टेकपाना

असार ७, २०७७ १२:४२

टेकू अस्पतालका बिरामीलाई रोबोटले नै दिन थाल्यो खाना र औषधी

काठमाडौं । बिरामीलाई खाना तथा औषधी पुर्‍याउन टेकू अस्पतालमा रोबोट राखिएको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) ले तयार पारेको सिस्टर रोबोट टेकू अस्पतालमा राखिएको हो ।

र्‍यानले वैशाख ३० मा खाना तथा औषधी बोक्ने रोबोट (सिस्टर रोबोट) को पहिलो परीक्षण शिक्षण अस्पताल महाराजगंजमा गरेको थियो । १०० देखि ५०० मिटरसम्मको दूरीमा रहने ट्रान्समिटरको सहयोगमा सिस्टर रोबोट ‍आइसोलेसन वार्ड तथा आईसियूमा प्रयोग गरिनेछ ।

यो रोबोटमा जडित क्यामेराले कोरोना बिरामीको स्वास्थ्य अवस्थाको समेत निरीक्षण गर्न सकिनेछ । कोविड–१९ का बिरामीको हातलाई अटोमेटिक स्यानिटाइज गर्न सक्ने प्रविधि समेत यसमा समावेश छ ।

यसमा राखिएको ट्याब्लेटको सहयताले नर्स तथा स्वास्थ्यकर्मीसँग कुरा गर्नेदेखि फोहोर फाल्नेसम्मको काम यसै रोबोटमा गरिएको छ । र्‍यानले हालसम्म ७ वटा रोबोटको विकास गरिसकेको छ ।

शुक्रबार टेकू अस्पताल महानिर्देशक डा. सागर राजभण्डारीलाई सिस्टर रोबोट हस्तान्तरण गरिएको थियो । यो रोबोटको निर्माणका लागि यूएनडीपी नेपाल तथा सगरमाथा इन्जिनियरिङ कलेजले आर्थिक सहयोग गरेका थिए ।

यो रोबोटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष उपस्थिति बिना नै कोरोना आशंका गरिएका तथा संक्रमित बिरामीको उचित हेरचाह तथा उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१