काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल प्रालिबीच इन्भोइस डिस्काउन्टिङ सेवाका लागि ‘क्वीक भुक्तानी’ प्लेटफर्म प्रयोग गर्ने सम्झौता भएको छ । ‘क्वीक भुक्तानी’ नेपालकै नवीनतम् अनलाइन इन्भोइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लेटफर्म हो ।
एफवान सफ्ट इन्टरनेसनलले यूके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा यसलाई तयार पारेको हो । सम्झौताअनुसार सिद्धाथ बैंकले आफ्ना ग्राहकलाई यो प्लेटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भोइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउनेछ ।
एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ । ‘क्वीक भुक्तानी’ ले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तीकर्ता, सामान तथा सेवा किन्ने क्रेता कम्पनी र ती कम्पनीसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउने जनाइएको छ ।
सप्लायरले यो प्लेटफर्म प्रयोग गरी आपूर्ती गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणीत गर्न समेत पाउनेछन् । त्यही प्रमाणीत बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन सकिनेछ ।
यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शूल्क काटेर भुक्तानी गर्नेछ । पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्न सहज हुने कम्पनीले जनाएको छ ।
अधिकांश कारोबार उधारोमा हुने नेपालको व्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभदायक हुने विश्वास सिद्धार्थ बैंक र एफवान सफ्ट दुवैले लिएका छन् । ‘क्वीक भुक्तानी’ले व्यवसायबीच नगद प्रवाह सुधार गर्न मद्दत गर्नेछ । यस्तो सुविधा कोभिड–१९ महामारीका कारण अर्थव्यवस्था सुस्ताएको वर्तमान अवस्थामा ज्यादै नै महत्त्वपूर्ण हुने अपेक्षा कम्पनीको छ ।