काठमाडौं । संघीय व्यवस्थापिका संसदको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले एप तथा सामाजिक सञ्जालमा अंकुश लगाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समिति बैठकले सरकारको अनुमतिमा मात्र एप डाउनलोड गर्न सकिने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले सरकारको नाममा जारी गरेको निर्देशनमा नेपालभित्र प्रयोग हुने एप तथा सामाजिक सञ्जालहरु सुरक्षा, गोपनीयता र उपयोगीताका हिसावले उपयुक्त रहेको विषय नियमनकर्ता निकायले पष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था मिलाउन भनिएको छ ।
त्यस्तै सरकारी वेबसाइट र सूचना प्रविधि सेवा प्रदायक कम्पनीको अनिवार्य सेक्यरिटी अडिट गर्ने व्यवस्था मिलाउन र सरकारी डोमेन नेम निजी क्षेत्रवाट दर्ता हुँदै आएकोमा यस्तो कार्य सरकारी निकायबाट गर्न आवश्यक व्यवस्थाका लागि समेत निर्देशन दिइएको छ ।
समितिले सरकारी पत्र, कागजात, सूचना एवम् जानकारीहरु अनधिकृत रुपमा दुरुपयोग हुने गरेको भन्दै सरकारी अधिकारिक ईमेल र वेबसाइटबाट मात्र प्रयोग हुने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने जनाएको छ ।
संसदको विकास तथा प्रविधि समितिले सरकारलाई दिएको निर्देशन
निर्देशनमा अगाडि भनिएको छ, ‘नेपाल सरकारका सबै निकायका जिम्मेवार पदाधिकारीहरुलाई सूचना प्रविधि सम्बन्धी विद्युतीय सञ्चारका साधनहरुको प्रयोग र यस बारेमा सचेतनाका लागि आवश्यक कार्यक्रमको तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्था गर्न समिति नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लाई निर्देश गर्दछ ।’
सबै स्थानीय तहका वडा कार्यालय, स्वास्थ्य संस्था तथा माध्यमिक तहका सामुदायिक विद्यायलयहरुमा द्रुत गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत समितिले सरकारको नाममा निर्देशन दिएको छ ।