close

आईएमएस ग्रुप ईकमर्समा, नयाँ लगानीसँगै स्मार्ट डोको आक्रामक बजार योजनामा

टेकपाना टेकपाना

असार १५, २०७७ १४:२६

आईएमएस ग्रुप ईकमर्समा, नयाँ लगानीसँगै स्मार्ट डोको आक्रामक बजार योजनामा

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण अहिले अनलाइन व्यवसायले फस्टाउने मौका पाएका छन् । सामाजिक दुरी कायम गर्नु पर्ने हालको अवस्थामा घरमै बसेर अनलाइनबाट सामान मगाउनेहरुको संख्या बढ्दो छ ।

ईकमर्सको बजार विस्तार हुँदैगर्दा यसलाई अवसरको रुपमा सदुपयोग गर्न नयाँ ई–कमर्श कम्पनीहरु थपिँदै गएका छन् । यसअघि नै सञ्चालनमा आएका प्लेटफर्महरुले आफ्नो व्यवसायलाई विस्तार गर्न लगानी समेत थपिरहेका छन् ।

यसै क्रममा नेपालको ठूलो व्यावसायिक घराना आईएमएस ग्रुप पनि यो क्षेत्रमा प्रवेश गरेको छ । आईएमएस ग्रुपले लामो समयदेखि अनलाइन सामान डेलिभरीको काम गर्दै आएको ई–कमर्श कम्पनी ‘स्मार्ट डोको’ मा लगानी गरेको हो ।

ग्रुपले उक्त कम्पीनको करिब ५० प्रतिशत शेयर खरिद गरेको कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले जानकारी दिए । मल्होत्राका अनुसार बदलिँदो परिवेशलाई मध्यनजर गर्दै अनलाइन सपिङ प्लेटफर्ममा लागानी गरिएको हो ।

अबको भविष्य भनेकै स्मार्टफोन र ईकमर्सको पनि हो । ‘विश्वमा अहिले ई–कमर्श राम्रोसँग अघि बढिरहेको छ । नेपालको परिवेशमा पनि पछिल्लो एक वर्षमा ई–कमर्शको विस्तार हुने काम भएको छ । कम्पनीहरुले राम्रै खालको मार्केटिङ गरिरहेका छन् ।

अहिले कोरानका कारण मानिसमा अनलाइन शपिङको बानी परिरहेको छ । अनलाइनमा समान हुँदाहुँदै अब स्टारेमा गएर खरिद गर्ने जोखिम उठाउन चाहनेको संख्या कम भएको छ । त्यसैले यसको भविष्य देखेरै आफूहरु लगानीका लागि अग्रसर भएको मल्होत्राको भनाई छ ।

ई–कमर्समा लगानी गर्ने योजना बनाउँदा सुरुमा आफ्नै प्लेटफर्म बनाउने हो कि भन्नेमा पनि सल्लाह भएको उनले सुनाए । उनले अगाडि भने, ‘तर, नयाँभन्दा पनि पुरानो र एउटा उचाई लिइसकेको कम्पनीमा लगानी गर्दा सहज हुने देखेर स्मार्ट डोको रोजेका हौं ।’

सोमबारदेखि आईएमएसले स्मार्ट डोकोको स्वामित्व ग्रहण गरिसकेको छ । यो हिस्सेदारी प्राप्त भएसँगै कम्पनीको जिम्मेवारी केही समयको लागि आफैंले सम्हाल्ने मल्होत्राले बताए ।

मल्होत्राका भने, ‘स्मार्ट डोकोको विस्तारका लागि धेरै काम गर्नुपर्नेछ । त्यसमा केही समस्याहरु हुन सक्छन् । त्यसमा भएको समस्या पत्ता लगाएर त्यसको समाधान खोज्नुपर्ने छ । त्यो कामका लागि भएपनी प्रत्यक्ष रुपमा म आफै कम्पनीमा संलग्न हुनुपर्नेछ । त्यसभन्दा पनि महत्वपूर्ण कुरा स्मार्ट डोकोलाई ग्राहक मैत्रीवेबसाइट र एपको निर्माण गरी नयाँ रुपमा यसलाई ल्याउने योजना हामीले बनाएका छौं । अबको एक महिनाभित्र हामीले स्मार्ट डोकोलाई नयाँ स्वरुपमा प्रस्तुत गर्नेछौं ।’

नेपालको अनलाइन बजारलाई नै राम्रो बनाउने आफूहरुको योजना रहेको मल्होत्राले सुनाए । त्यसका लागि ग्राहकलाई आकर्षक छूट, अफर, सहज र छिटो डेलिभरी सेवा र कस्टमर सर्भिसलाई सबैभन्दा प्राथामिकता दिइने उनको भनाई छ ।

उनका अनुसार, स्मार्टडोकोमा हाल रिवार्ड पोइन्ट पाउन सकिन्छ । ग्राहकले अन्य विभिन्न साइटमा हेरेर सामान खरिद गर्दा र स्मार्ट डोकोमा सामान खरिद गर्दा मूल्यमा खासै परिवर्तन नदेखिएतापनि रिवार्ड प्वाइन्टमार्फत फाइदा लिन सक्नेछन् । रिवार्ड प्वाइन्ट पैसाकै रुपमा उपयोग गर्न सकिने भएकाले ग्राहकले यस्ता प्वाइन्ट संकलन गरी अन्य सामान खरिद गर्न सक्छन् ।

मल्होत्राका अनुसार, ‘स्मार्ट डोकोले अधिकृत कम्पनीहरूबाट केवल सक्कली सामानहरू अर्डर गर्न र केही घन्टामै ग्राहकको ढोकामा पुर्‍याउने सहज सुविधा प्रदान गर्दै आएको छ र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइनेछ ।

कम्पनीले रिङरोडभित्र निःशूल्क डेलिभरी, रिवार्ड प्वाइन्ट सिस्टम, स्मार्ट डोको एक्सक्लुसिभ उत्पादनहरू, सजिलै फिर्ता गर्ने नीति, छूट कुपन, भुक्तानी विकल्प लगायतका सुविधा प्रदान गर्नेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३