close

सुनवल नगरपालिका बन्यो प्रदेश ५ को पहिलो ‘स्मार्टपालिका’

टेकपाना टेकपाना

साउन ३, २०७७ ८:२

सुनवल नगरपालिका बन्यो प्रदेश ५ को पहिलो ‘स्मार्टपालिका’

काठमाडौं । नवलपरासीको सुनवल नगरपालिकाले विद्युतीय सुशासन प्रणाली सहितको स्मार्टपालिका सिस्टम सुरु गरेको छ । नगरपालिकाले प्रविधिमैत्री सूचना र सञ्चारमा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ डिजिटल सर्भे तथा नगरको वस्तुगत स्थिति सहितको डिजिटल प्रणाली सुरु गरेको हो ।

यसका लागि नगरपालिकाले सेल एप प्रालिसँगको सहकार्य गरेको छ । यससँगै सुनवल नगरपालीका ५ नम्बर प्रदेशमा यो प्रणालीको सुरु गर्ने पहिलो नगरपालिका बनेको छ ।

स्मार्टपालिकाका प्रमुख कार्यकारी निर्देशक मनोज भट्टराईले सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा क्षत्रीलाई सिस्टम हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा नगरको सर्वेक्षण गर्ने ६५ जना स्वयम्‌सेवकलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

विद्युतीय सुशासनको सुरुवातसँगै नगरपालिकाले सूचना र प्रविधिमा फड्को मार्ने तथा स्थानीय सरकार र जनताबीचको दुरीलाई कम गर्नुका साथै स्मार्ट नगरपालिका बन्नेमा नगरका प्रमुख थापाले विश्वास व्यक्त गरे ।

उनले नगरपालिकामा गरिने सबै कामकाज अब मोबाइल एपको माध्यमबाट गर्दै आगामी वर्ष नगरभित्रका जनतालाई चिप कार्ड उपलब्ध गराउने र झन्झट रहीत सेवा सुविधा उपलब्ध गराउने बताए ।

क्याम्पेन निर्देशक विवश महतको नेतृत्वमा डिजिटल सर्वेक्षण, डेटा रुजु तथा सिस्टम डेभलपमेन्टको काम सम्पन्न भएको कम्पनीले जनाएको छ । कार्यक्रममा स्मार्टपालिकाको तर्फबाट सीईओ भट्टराईले सुशासन प्रणालिको प्रस्तुतिकरण गर्दै नगरले के कसरी यो प्रणालीलाई प्रयोग गर्नसक्छ र नगरले कसरी प्रविधिको उचित प्रयोग गर्दै जनताको जनगुनासो, सेवा सुविधालाई सहज बनाउन सक्छ भन्नेमा स्मार्टपालिका सदैव तत्परताका साथ सहयोगी बन्ने प्रतिवद्धता जनाए ।

स्मार्टपालिकाले हाल नेपालका ११० भन्दा बढी स्थानीय तहका लागि प्राविधिक र परामर्शको काम गर्दै आएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४