एजेन्सी । वेब ब्राउजर मोजिल्लाले भीपीएन सेवा शुरु गरेको छ । वेब ब्राउजरको दुनियाँको तेस्रो ठूलो खेलाडीको रुपमा रहेको मोजिल्लाले सेफ ब्राउजरेको रुपमा भीपीएन सेवा सुरु गरेको हो ।
कम्पनीले परीक्षणको छोटो अवधिमै यो सेवा अमेरिका, बेलायत, क्यानडा, न्यूजील्याण्ड, सिंगापुर र मलेसिया गरी ६ देशमा सुरू गरेको छ । अरु देशमा यो सेवा क्रमशः सुरु हुने बताइएको छ । कम्पनीका अनुसार यो सेवा एन्ड्रोइड, आईओएस र विण्डोज सबैमा उपलब्ध छ भने म्याकओएस र लिनक्सका लागि छिट्टै आउनेछ ।
कम्पनीले सुरु गरेको भीपीएन सेवामा ब्राउजिङ फास्ट हुने दाबी गरिएको छ । त्यस्तै यसले सिमित डेटा मात्रै संकलन गर्ने दाबी मोजिल्लाको छ । लग र ट्र्याक रेकर्डहरु संकलन नगर्नुका साथै डेटा बिक्री नगर्ने कुरा यसको सबैभन्दा राम्रो पक्षको रुपमा लिइएको छ ।
पहिलो फायरफक्स प्राइभेट नेटवर्कको रुपमा लिइएको मोजिल्ला भीपीएनका लागि मासिक ४.९९ अमेरिकी डलरमा तिर्नुपर्ने उल्लेख गरिएको छ ।