close

अनलाइनमा यसरी निःशूल्क हेर्नुहोस् च्याम्पियन्स लिग, आज वायर्न र बार्सिलोनाको भिडन्त

टेकपाना टेकपाना

साउन ३०, २०७७ १९:२१

अनलाइनमा यसरी निःशूल्क हेर्नुहोस् च्याम्पियन्स लिग, आज वायर्न र बार्सिलोनाको भिडन्त

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज यो सिजनकै महत्वपूर्ण गेम हुँदैछ । सेमिफाइनल प्रवेशका लागि स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख आमनेसामने हुँदैछन् ।

यो सिजन बेस्ट फर्ममा रहेका रोवर्ट लेवान्डोस्कीको टिम बायर्न र लिओनल मेस्सीको टिम बार्सिलोनाबीच हुने यो क्वाटरफाइनको खेललाई फाइनल स्तरको खेलको रुपमा हेरिएको छ ।

पोर्चुगलको लिस्बन सहरस्थित स्टाडियो ला लुइज रंगशालामा हुने यो खेल नेपाली समयअनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

नेपालमा यो गेम सोनी टेन २ एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ । कोरोनाका कारण यसपटक क्वार्टरफाइनलदेखिका सिंगल खेलमात्रै भएका छन् ।

जसले गर्दा आज राति हुने खेलको नतिजाबाटै एक टोली प्रतियोगिताबाट बाहिरिने छ भने एक टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यसैले पनि आजको खेललाई एउटा महत्वपूर्ण खेलको रुमपा हेरिएको छ ।

यो खेलको प्रतिक्षामा विश्वका साथै नेपाली फुटबल प्रेमी पनि रहेका छन् । तर, यो खेल लालिगा जस्तो फेसबुकबाटै सहज रुपमा हेर्न पाउने अवस्था छैन ।

लालिगा फेसबुकबाटै लाइभ हुने भएकाले पनि सहज भएको हो । च्याम्पियन्स लिगको हकमा टीभी एउटा विकल्प हो । तर, मध्य रातमा टीभी हेर्नका लागि सबैको परिस्थितिले साथ नदिन सक्छ ।

अर्कोतर्फ टेलिभिजनको लाइन नभएका थुप्रै इन्टरनेट प्रयोगकर्ता छन् । उनीहरुका लागि यस्ता खेल हेर्ने एउटै विकल्प अनलाइन नै हो । तर कतिपय फुटबलप्रेमीहरु खेल प्रसारणको लिङ्क फेला पार्न नसकेर भोलिपल्ट आउने स्कोरमै चित्त बुझाउन विवश भइरहेका हुन्छन् ।

यस्तो अवस्थामा अनलाइन विकल्प के हुन सक्छ त ? त्यसो त अनलाइनमा कतिपय साइटहरुले लाइभ दिइरहेका हुन्छन् । तर, त्यस्ता अनलाइनमा विज्ञापन आउने, ब्याण्डविथ नपुगेर बफरिङ हुने र ह्याकरको जालोमा परिर्ने जोखिम पनि उत्तिकै हुन्छ ।

त्यसैले आज हामी तपाईंलाई अनलाइनमा च्याम्पियन्स लिगका खेल सहजै कसरी हेर्ने भन्ने बारेमा एउटा गतिलो विकल्प दिँदै छौं । त्यो पनि नेपाली प्लेटफर्मबाटै ।

नेपालमा पछिल्लो समय नेट टीभीले वेब तथा मोबाइल एपमार्फत निःशूल्क रुपमा अनलाइनमा टीभी हेर्ने सुविधा दिन थालेको छ । त्यसमा कतिपय च्यानल वर्ल्डलिङ्कको इन्टरनेटसँगै नेट टीभी प्रयोग गर्नेहरुलाई मात्र उपलब्ध गराइएको छ । केही च्यानल भने सबैले हेर्न मिल्ने छ ।

आजको खेल लाइभ प्रशारण हुने च्यानल सोनी टेन २ एचडी पनि कम्पनीले उपलब्ध गराएको निःशूल्क च्यानलको रुपमा रहेको छ । त्यसो हुँदा यसमार्फत तपाईंले बिना कुनै रुकावट आजको गेम अनलाइनमा हेर्न सक्नुहुनेछ ।

कसरी हेर्ने ?

  • आजको खेल अनलाइनमा हेर्नका लागि सुरुमा यहाँ क्लिक गरी नेट टीभीको वेबसाइट खोल्नुहोस् ।
  • वेबसाइट खुलेसँगै माथि रहेको ‘आवर प्लेटफर्म’ अप्सनमा जानुहोस् । त्यहाँ ‘वेब टीभी’ र ‘मोबाइल एप’ गरी दुई वटा अप्सन दिइएको छ ।
  • यसमा रहेको मोबाइल एप भने नेट टीभी प्रयोगकर्ताका लागि मात्र हो । यदि तपाईं नेटटीभीको ग्राहक होइन भने वेब टीभीमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ क्लिक गरेसँगै ‘लगईन’ अप्सन आउने छ । उक्त लगईनमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ तपाईंले आवश्यक जानकारी भरी लगईन गर्नु सक्नुहुनेछ । त्यो भन्दा पनि सहज विकल्प भनेको त्यहाँ लगईन विथ फेसबुक वा ईमेल छ । फेसबुक र ईमेल मध्ये कुनै एकमा क्लिक गरी सोझै तपाईं नेट टीभीको प्लेटफर्मभित्र पस्न सक्नुहुनेछ । त्यसका लागि कुनै पासवर्डको समेत आवश्यकता पर्दैन् ।
  • यसरी लगईन गरेसँगै तपाईंले त्यहाँ माथि बायाँतर्फको कुनामा ‘होम’, ‘लाइभ टीभी’, ‘टीभी शो’ र ‘सब्स्क्राइबर डिटेल्स’ भन्ने विकल्पहरु संकेतको रुपमा देख्नुहुनेछ । त्यसमध्ये ‘लाइभ टीभी’ मा क्लिक गर्नुहोस् ।
  • त्यहाँबाट तपाईंले खेलकुदका च्यानल छनोट गरेर त्यसमा पनि सोनी टेन २ एचडीमा जानुहोस् ।
  • यसरी तपाईंको ब्राउजरमै च्याम्पियन्स लिगको लाइभ गेम हेर्न सक्नुहुनेछ । लगईन भएसँगै माथि रहेको सर्च बटनमा क्लिक गरी ‘सोनी टेन २ एच डी’ सर्च गरी समेत सोझै च्यानलमा पुग्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०