close

अवरुद्ध भएको ४ महिनापछि सञ्चालनमा आयो रुकुम पूर्वको इन्टरनेट सेवा

टेकपाना टेकपाना

साउन ३१, २०७७ १२:५७

अवरुद्ध भएको ४ महिनापछि सञ्चालनमा आयो रुकुम पूर्वको इन्टरनेट सेवा

काठमाडौं । प्रदेश नम्बर ५ अन्तर्गत रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका लगायतका क्षेत्रमा करिब ४ महिनादेखि अवरुद्ध इन्टरनेट सेवा सञ्चालनमा आएको छ । लामो समयदेखि अवरुद्ध त्यस क्षेत्रको इन्टरनेट सेवा प्राविधिकहरुको पाँच दिनको प्रयासपछि पुनः सञ्चालनमा आएको हो ।

टेलिफोन सेवाबाट समेत सम्पर्क बिहीन हुन पुगेको उक्त क्षेत्रमा इन्टरनेट सञ्चार सम्पर्कको एकमात्र साधनको रुपमा रहेको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी वर्ल्डलिंक कम्प्युनिकेसन लिमिटेडले रुकुम पूर्व लगायत कर्णाली क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरेको छ ।

तस्वीरः प्रेम केसी

विद्युत सेवा नपुगेको दुर्गम पहाडी क्षेत्रमा सोलार सिस्टममार्फत इन्टरनेट सेवा सञ्चालन हुँदै आएको छ । तर वर्षा मौसमका कारण लामो समयदेखि घाम नलाग्दा ब्याट्री चार्ज नहुने तथा चट्याङ पेरर सेवा नै अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।

यातायातको सुविधा नभएको तथा वर्षात्‌का कारण बाढी पहिरो जाँदा त्यस क्षेत्रमा जडान गरिएका इन्टरनेट रिपिटर स्टेसनको मर्मत सम्भारको कार्य कठीन हुने गरेको छ । रुकुम पश्चिम तथा सुर्खेतबाट खटिएका वर्ल्डलिङ्कका प्राविधिकहरुले लकडाउन र वर्षात्‌ मौसमको कठीन परिस्थितिलाई छिचोल्दै रुकुम पूर्वको दुर्गम क्षेत्रमा अवरुद्ध सेवा पुनः सञ्चालमा ल्याएका हुन् ।

पूर्वी रुकुम मैकोटमा रहेको हुकाम स्वास्थ्य चौकीमा कार्यरत प्रेम केसीले लामो समयपछि वर्ल्डलिंकको इन्टरनेट मार्फत सञ्चार सम्पर्कमा आउन पाएकोमा खुशी व्यक्त गरे । ‘यहाँ मोबाइलको नेटवर्क समेत राम्रोसँग टिप्दैन,’ उनले भने, ‘फोन सम्पर्क बिहीन यस क्षेत्रमा वर्ल्डलिंकको सेवा पुनः सुचारु भएपछि सञ्चार सम्पर्कमा केही सजिलो भएको छ ।’

वर्ल्डलिङ्कका कर्णाली परियोजना प्रमुख राजेन्द्र विष्टले लकडाउनका कारण समयमै प्राविधिकहरुलाई मर्मत सम्भारमा खटाउन नसकिएको बताए । ‘लामो समयदेखि त्यस क्षेत्रका जनता सञ्चार सम्पर्क विहीन भएकोमा हामी दुःखित छौं,’ उनले भने, ‘अबका दिनमा नियमित रुपमा सेवा सुचारु राख्न हाम्रो प्रयास जारी रहनेछ । अहले त्यस क्षेत्रका लागि छुट्टै प्राविधिक कर्मचारीको समेत व्यवस्था गरिसकेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०