close

एप्पल सीईओको रुपमा टिम कूकले पुरा गरे ९ वर्ष

टेकपाना टेकपाना

भदौ ११, २०७७ ९:१३

एप्पल सीईओको रुपमा टिम कूकले पुरा गरे ९ वर्ष

काठमाडौं । एप्पल कम्पनीको सीईओको रुपमा टिम कूकले नौं वर्ष पुरा गरेका छन् । कूक २४ अगस्ट २०११ मा एप्पल कम्पनीको सीईओको रुपमा चयन भएका थिए । 

स्वस्थ्य समस्याका कारण एप्पलको सीईओबाट राजीनामा दिएका स्टिभ जब्सको अभावलाई पुर्ती गर्न कूकसँग पनि ठूलै योग्यता थियो । कूकले यो पद हासिल गरे यता आफ्नो भूमिकालाई निपुणताका साथ निभाइरहेका छन् । 

उनकै नेतृत्वमा एप्पल कम्पनीले अर्को उचाई छोएको  छ । यस महिनाको सुरुवातमा अमेरिकाको इतिहासमै एप्पल २० खर्ब डलर बजार मूल्य बनाउने पहिलो सार्वजनिक कम्पनी बन्न पुग्यो । 

आईफोन अहिलेको एप्पलको सबैभन्दा ठूलो प्रोडक्ट हो । यसबाहेक कूकको नेतृत्वमा एप्पलले सार्वजनिक गरेका दुई महत्वपूर्ण प्रडक्ट भनेको एप्पल वाच र एयरपोड हो । यी दुई प्रडक्ट पनि आईफोन जस्तै ग्लोबल मार्केट लिडर हुन् । 

अझ कतिपाय विश्लेषक त कूकलाई आफ्नो उत्तराधिकारीको रुपमा पाउनु पनि स्टिभ जब्सको एउटा ठूलो उपलब्धी भएको मान्छन् । यसका लागि जब्स आफैंले आफ्नो दूर्दर्शिताले एप्पलको सीईओको रुपमा टिम कूकलाई आफैले सिफारिस गरेका थिए । 

कम्पनी बोर्डलाई पत्र लेख्दै स्टिभ जब्सले लेखेका थिए, ‘मेरो उत्तराधिकारीको कुरा गर्दा, म हाम्रो सफलतापूर्ण योजनालाई कार्यन्वयन गरेर टिम कूकलाई एप्पलको सीईओको रुपमा चयन गर्न कडारुपमा सिफारिस गर्छु ।’ 

उनले लेखेको पुरा पत्र यस्तो छ

एप्पलको बोर्ड अफ डिरेक्टर तथा एप्पल कम्युनिटी;

मैले सधैंजसो भन्दै आइरहेको थिएँ कि यदि कुनै दिन मैले एप्पलको सीईओको रुपमा आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने दिन आएछ भने म आफै पहिले तपाईंहरुलाई जानकारी दिनेछु । दूर्भाग्यवश त्यो दिन आयो । 

यसप्रकारले आज म एप्पलको सीईओको आफ्नो पदबाट राजीनामा दिदैँछु । यदि बोर्डले मलाई निर्देशक तथा एप्पल कर्मचारी बोर्डको प्रमुखका रुपमा उपयुक्त देख्छ भने म सेवा गर्न चाहन्छु । 

मेरो उत्तराधिकारीको कुरा गर्दा, म हाम्रो सक्सेसनल योजनालाई कार्यान्वयन गर्न टिम कूकलाई एप्पलको सीईओको रुपमा चयन गर्न कडारुपमा सिफारिस गर्छु । 

एप्पलको थप उज्यालो र अन्वेषणात्मक दिनहरु अझै अगाडि छन् भन्ने कुरामा म विश्वस्त छु र एप्पलको नयाँ भूमिकामा उसको सफलताका लागि योगदान दिन म तयार छु । 

मैले एप्पलमा जीवनकालकै उत्कृष्ट साथीहरु पाएको छु । तपाईंहरुको साथमा रहेर यति लामो समयसम्म काम गर्न पाएकोमा म कृतज्ञ छु । 

भवदीय,

स्टिभ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३