close

टेक कम्युनिटी ‘गर्ल्स स्क्रिप्ट’को च्याप्टर नेपालमा पनि

टेकपाना टेकपाना

भदौ ११, २०७७ २०:१४

टेक कम्युनिटी ‘गर्ल्स स्क्रिप्ट’को च्याप्टर नेपालमा पनि

काठमाडौं । अन्तराष्ट्रिय टेक कम्युनिटी गर्ल्स स्क्रिप्टको नेपाल च्याप्टर सुरु भएको छ । नेपाल च्याप्टरकाे कन्ट्री हेडको रुपमा निरज भुसाल मनोनित भएका छन् ।

गर्ल्स स्क्रिप्ट भारतको पहिलो र सबैभन्दा ठूलो टेक कम्युनिटी हो । नेपाल र भारतबाहेक यो कम्युनिटीका अन्य चार अन्तराष्ट्रिय च्याप्टरहरु छन् । गर्ल्स स्क्रिप्ट नेपालको गर्ल्स इन टेकजस्तै कम्युनिटी हो ।

तीन वर्षअघि सुरु भएको यो कम्युनिटीले विद्यार्थीहरुलाई अनलाइन र अफलाइन प्रणालीबाट विभिन्न शैक्षिक ज्ञान र सीप सिकाउँदै आएको छ । विशेषगरी डेभलपमेन्ट, प्रोग्रामिङ तथा कोडिङमा रुची राख्ने नयाँ विद्यार्थीहरुलाई यस क्षेत्रसँग सम्बन्धित वर्कसप तथा सीप प्रदान गर्न यो कम्युनिटी लक्षित रहेको छ ।

गर्ल्स स्क्रिप्टले भारतमा समर अफ कोड, ह्याकाथोन जस्ता वर्कसपहरु सञ्चालन गर्दै आइरहेको छ ।कन्ट्री हेडको रुपमा गर्ल्स स्क्रिप्टको केन्द्रिय कमिटी बनाएर संघीय संरचनाअनुसार प्रदेश च्याप्टर समेत बनाएर विस्तारित रुपमा देशभर पुर्‍याउने निरजको योजना छ ।

कन्ट्री असिस्टेन्ट हेडको रुपमा महिला आउने पनि उनले जानकारी दिए । यसबाहेक कम्युनिटीले राम्रो गर्न सकेको अवस्थामा कलेजस्तरमा पुर्‍याएर क्याम्पस च्याप्टर तथा क्लबहरु स्थापना गर्ने योजना रहेकाे उनले सुनाए । 

कम्युनिटीले आयोजना गर्ने वर्कसपको पनि वर्ग हुन्छ । जसमा एड्भान्स र आधारभूत दुवै हुन्छन् ।  

‘कसैलाई प्रोग्रामिङमा आफ्नो करियर सुरु गर्न मन हुन्छ, कसैलाई पाइथन सिक्न, कसैलाई वेबमा करियर बनाउन मन हुन्छ । त्यस्ता व्यक्तिहरुका लागि गर्ल्स स्क्रिप्टले वर्कसपहरु आयोजना गरिन्छ, ’ निरजले सुनाए ।

त्यस्ता सेसन र वर्कसपहरुले युवाहरुलाई डेपलपमेन्ट, कोडिङ तथा प्रोग्रामिङको क्षेत्रमा सिपालु बनाउन सहयोग गर्ने उनले बताए । 

गर्ल्स स्क्रिप्ट विशेषगरी महिलाहरुप्रति नै लक्षित छ । यसको मुख्य उद्देश्य पुरुषहरुको संख्या कम र महिलाहरुको संख्या धेरै राख्ने भएको निरज बताउँछन् । गर्ल्स स्क्रिप्टका हरेक कार्यक्रममा महिलाहरुलाई केन्द्रमा राखिने उनले बताए ।

‘कलेजबाट पासआउट भइसकेका महिला तथा यस क्षेत्रप्रति रुची राख्नेहरुलाई सीपमा कुशल बनाई याे क्षेत्रकाे विज्ञ बनाउनु गर्ल्स स्क्रिप्ट कम्युनिटीकाे प्रमुख उद्देश्य हाे,’ निरजले सुनाए ।

याे पनि पढ्नुहाेस् : गूगलका नेपालीः जसले कोर्दैछन् नेपालको नयाँ नक्सा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०