close

सरकारले खोल्यो ‘श्रम सूचना बैंक’, रोजगारीका लागि अनलाइनबाटै आवेदन दिन सकिने

टेकपाना टेकपाना

भदौ १४, २०७७ १९:१५

सरकारले खोल्यो ‘श्रम सूचना बैंक’, रोजगारीका लागि अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । कोभिड १९ सँगै सुरु भएको लकडाउन र निषेधाज्ञाले नेपालमा पनि रोजगारीको चरम् समस्या सिर्जना भइरहेको छ । युवामा तनाव र छटपटी बढिरहेको छ । नयाँलाई त रोजगारी पाउन मुश्किल छ नै, काम गरिरहेका अधिकांशले पनि जागिर छोड्नुपर्ने स्थिति आएको छ ।

यसैसन्दर्भमा बेरोजगार युवालाई रोजगारी खोज्न सहयोग गर्ने ध्येयले सरकारले ‘श्रम सूचना बैंक’ खोलेको छ । यो बैंकको औपचारिक उद्घाटन आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गरेका छन् ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले प्रत्येक स्थानीय तहमा रहेका श्रम सूचना केन्द्रलाई श्रम बैंकको रुपमा रुपान्तरण गर्ने घोषणा गरेअनूरूप श्रम सूचना बैंक सञ्चालनमा ल्याइएकाे हाे ।

नेपाल सरकारको स्वामित्वमा सुरु भएको यो बैंकमा रोजगारदाताले आफ्नो आवश्यकता अनुसार श्रमिकको माग गर्न सक्छन् भने रोजगारीका लागि इच्छुक व्यक्तिले आफ्नो रुचि र क्षमताअनुसार विभिन्न क्षेत्रमा श्रमको लागि आवेदन दिन सक्छन् ।

यसका लागि श्रम बैंकको आधिकारिक वेबसाइटमा गएर रोजगारदाता र श्रमिक दुवै पक्षले आफ्ले चाहेको श्रमिक वा रोजगारीको विवरण पेस गर्नुपर्नेछ । श्रमिकले रोजगारदाताले राखेको विज्ञापनमा आवेदन दिनसक्ने व्यवस्था समेत गरिएको छ ।

यो प्लेटफर्मबाट कुन कुन क्षेत्रमा रोजगारीको माग र आपूर्ति भइरहेको छ भन्ने विषयमा तथ्याकंसमेत संकलन गरिनेछ । श्रम बैंकमा सीप नभएका श्रमिकले समेत सहभागित जनाउन पाउनेछन् ।

कुनै रोजगारदाताले सीप नभएका श्रमिकलाई सीप सिकाएर काममा लगाउन चाहेमा सो श्रमिकको तालिम अवधिको आधा पारिश्रमिक सरकारले व्यहोर्ने व्यवस्था समेत गरेको छ । सरकारले यो कार्यक्रमबाट करिब ५० हजार नयाँ जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०