close

३३ मिनेटमै फुल चार्ज हुने रियलमी एक्स सेभेन र एक्स सेभेन प्रो सार्वजनिक, साथमा ४ क्यामेरा

टेकपाना टेकपाना

भदौ १६, २०७७ २२:१६

३३ मिनेटमै फुल चार्ज हुने रियलमी एक्स सेभेन र एक्स सेभेन प्रो सार्वजनिक, साथमा ४ क्यामेरा

काठमाडौं । रियलमीले आफ्ना नयाँ दुई स्मार्टफोन रियलमी एक्स सेभेन र रियलमी एक्स सेभेन प्रो सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल इभेन्ट मार्फत पहिलोपटक चीनमा यी दुई फाइभजी स्मार्टफोन सार्वजनिक गरेको हो ।

यी स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण विशेषता भनेकै ६५ वाटको सुपर फास्ट चार्जिङ सपोर्ट हो । यस बाहेक यी फोनमा फोटोग्राफीका लागि पछाडितर्फ क्वाड क्यामेरा सेटअप (चार वटा क्यामेरा भएको) दिइएको छ ।

चीनमा यी नयाँ फोनको बिक्री आउँदो ११ सेप्टम्बर देखि सुरु हुनेछ । यद्यपी अन्तर्राष्ट्रिय बजारमा यी स्मार्टफोन सार्वजनिक कहिले हुन्छन् भन्ने विषयमा कम्पनीले अहिलेसम्म कुनै स्पष्ट जानकारी दिएको छैन ।

कति छ मूल्य ? 

रियलमी एक्स सेभेनको ६ जीबी/ १२८ जीबी भेरियन्टको मुल्य १,७९९ युआन (३०,८७० रुपैयाँ) राखिएको छ । त्यस्तै यसको ८/१२८ जीबी भेरियन्टको मूल्य २,३९९ युआन (४१,१६७ रुपैयाँ) रहेको छ ।

कम्पनीले यो फोनलाई ब्लू, ह्वाइट र ब्लू पिंक ग्रेडियन्ट कलरमा बजारमा ल्याएको छ । त्यस्तै रियलमी एक्स सेभेन प्रोको ६ जीबी/१२८ जीबी भेरियन्टको मूल्य चिनियाँ युआन २,१९९ (३७,७३५ रुपैयाँ) र ८ जीबी/१२८ जीबी भेरियन्टको मुल्य २,४९९ युआन (४२,८८३ रुपैयाँ) राखिएको छ ।

यसैगरी कम्पनीले यो फोनको ८ जीबी / २५६ जीबी भेरियन्टको मूल्य ३,१९९ युआन (५४,८९५ रुपैयाँ) राखेको छ । कम्पनीले यो फोनलाई ब्ल्याक, ह्वाइट र ब्लू पिंक कलर भेरियन्टमा बजारमा ल्याएको छ ।

स्पेसिफिकेसन कस्तो छ ?

रियलमी एक्स सेभेनमा ६.७ इञ्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले दिइएको छ । जुन २४०० बाई १०८० पिक्सेल रेजोलुसनका साथ आएको छ ।

यसमा ९०.८ प्रतिशतको स्क्रीन टु बडी रेशियो रहेको छ । सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास प्रोटेक्सन दिइएको छ । पावरका लागि अक्टा कोर डाइमेन्सिटी ८०० यू एसओसी प्रोसेसर राखिएको छ ।

एण्ड्रोइड टेन अपरेटिङ सिस्टममा रन हुने यो फोनमा रियलमी यूआईको इन्टरफेज रहेको छ । रियलमी एक्स सेभेन प्रोमा ६.५५ इञ्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले दिइएको छ ।

जुन १२० हर्ज रिफ्रेश रेट तथा २४० हर्ज टच स्याम्पलिङ रेटका साथ आएको छ । साथै ९१.६ प्रतिशत स्क्रीन टु बडी रेशियो रहेको यो फोनमा सुरक्षाका लागि पाचौं पुस्ताको कर्निङ गोरिल्ला ग्लास प्रोटेक्सन दिइएको छ ।

पावरका लागि यसमा अक्टाकोर डाइमेन्सिटी १००० प्लस एसओसी प्रोसेसर राखिएको छ । एण्ड्रोइड टेन अपरेटिङ सिस्टममा काम गर्ने यो फोनमा रियलमी यूआईको इन्टरफेज दिइएको छ ।

क्यामेरा

रियलमी एक्स सेभेनको पछाडि भागमा चार वटा क्यामेरा रहेका छन् । जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स, दुई मेगापिक्सेलको म्याक्रो लेन्स र दुई मेगापिक्सेलकै ब्ल्याक एण्ड ह्वाइट पोट्रेट सेन्सर रहेको छ ।

सँगसँगै सेल्फी तथा भिडियो कलिङका लागि यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा सेन्सर राखिएको छ । यसैगरी रियलमी एक्स सेभेन प्रोको पछाडि भागमा समेत चार वटा क्यामेराकै सेटअप रकेको छ ।

जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, आठ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स, दुई मेगापिक्सेलको म्याक्रो लेन्स र सोही समानको ब्ल्याक एण्ड ह्वाइट पोट्रेट सेन्सर राखिएको छ । सेल्फी र भिडियो कलिङका लागि यसमा पनि  ३२ मेगापिक्सेलकै फ्रन्ट क्यामेरा रहेको छ ।

ब्याट्री

रियलमी एक्स सेभेनमा ४३०० एमएएच क्षमताको र रियलमी एक्स सेभेन प्रोमा ४५०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।

दुवैमा ६५ वाटको स्मार्ट फ्ल्याश चार्जिङ सपोर्ट रहेको छ । कम्पनीले यो फोन ३३ मिनेटमै फुल चार्ज हुने दाबी गरेको छ । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०